कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

निर्देशिकाविपरीत ५ अस्पतालको सेवा बन्द

देवनारायण साह

मोरङ — कोरोना भाइरसको आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका विपरीत यहाँका अस्पतालहरुको सेवा बन्द गरिएको छ । निर्देशिकाले तोके बमोजिमका आइसोलेसनसमेत यहाँका अस्पतालहरुले निर्माण गरेका छैनन् ।

निर्देशिकाविपरीत ५ अस्पतालको सेवा बन्द

अस्पतालमा संक्रमित देखिने बित्तिकै सेवा बन्द गरेर अस्पताल सिल गरिँदा बिरामीहरु उपचारका लागि भौतारिन बाध्य छन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, न्यूरो अस्पताल, गोल्डेन अस्पताल, मोरङ सहकारीलगायतका अस्पतालहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

कोसी अस्पतालले पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि साउन १६ गतेदेखि १९ गतेसम्म चार दिन ओपीडी सेवा बन्द गरेको थियो । विराटनगर महानगरले नै विराट नर्सिङ होममा संक्रमित देखिएपछि ११ दिन सिल गरेको थियो । अस्पतालहरुले ओपीडी सेवा बन्द गरेपछि बिरामीहरु निजी क्लिनिकमा उपचार गराउन बाध्य छन् ।

बीपी प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले प्रतिष्ठान परिसरमा संक्रमित देखिएकाले अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन ओपीडी सेवा बन्द गरिएको बताए ।

नोबेल अस्पतालका नारायण दाहालले अस्पतालमा कार्यरत ९ जना चिकित्सकमा संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरेको बताए । अस्पतालका चिकित्सकमै संक्रमण देखिएपछि विराटनगर महानगर र प्रदेश १ का सामाजिक विकास मन्त्रालयसँग सल्लाह गरेरै सेवा बन्द गरेको दाहालको भनाइ छ ।

न्यूरो अस्पतालका निर्देशक राजेश भट्टराईले महानगरमा समुदायस्तरमै संक्रमण फैलिएको र अस्पताल सञ्चालन गर्दा अनावश्यक भिडभाड हुने गरेकाले संक्रमण फैलिन नदिनका लागि ओपीडी सेवा बन्द गरेको दाबी गरे । अहिले संक्रमण देखिएपछि मुलुकभरिकै अस्पतालहरुले सिल गरेर सेवा बन्द गर्दै आएकाले आफ्नो अस्पतालमा पनि संक्रमित देखिएकाले केही दिन सिल गरेको भट्टराईको भनाइ छ ।

नोबेल, न्यूरोलगायतका केही अस्पतालले आइसोलेसन वार्ड सञ्चालन गरेको भए पनि अन्य अस्पतालहरुले आइसोलेसन वार्ड निर्माण गरि सञ्चालनमा ल्याएका छैनन् । विराट नर्सिङ होमका पदम विनाडीले ६ वटा आईसीयूसहितको ४० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । विराट शिक्षण अस्पतालमा आइसोलेसनको व्यवस्थापन हुन सकेको छैन ।

प्रदेश २ को महोत्तरीदेखि पूर्वका सबै जिल्लाबाट उपचारका लागि आउने बिरामी अहिले उपचार नपाएर समस्या परेको महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक सञ्जय ठाकुरले बताए । ‘निर्देशिकामा भएको व्यवस्था अनुसार अस्पतालहरुले सेवा सञ्चालन गर्नु आवश्यक छ,’ उनले भने, ‘अस्पतालहरुले सेवा सञ्चालन नगरे उपचार अभावमै बिरामीको मृत्यु हुने अवस्था सृजना भएको छ ।’

निर्देशिकाको २ (४) को (क) मा स्वास्थ्य संस्थाहरुमा नियमित सेवाहरु कुनैपनि कारणले अवरुद्ध वा संस्था सिल गर्न पाइने छैन । प्रि–आइसोलेसन वार्ड वा नियमित सेवा दिने युनिटमा कुनै व्यक्ति कोभिड पोजिटिभ देखिएमा २ घण्टा भित्रमा उक्त स्थानलाई उचित सामग्रीको प्रयोग गरि डिस्‍इन्फेक्टेन्ड गर्ने र अविलम्ब पुन: सेवा सुचारु गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

निर्देशिकाको २ (१) को (क) मा हरेक अस्पतालको मुख्य प्रवेशद्वारमा स्क्रिनिङ प्वाइन्ट राखि तापक्रम र अन्य स्वास्थ्य जानकारी लिइ बिरामीलाई हरियो र पहेंलो समूहमा वर्गीकरण गरि कार्ड दिने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ । यस्तै, हरियो कार्ड भएका सेवाग्राहीलाई नियमित सेवा युनिटमा सेवा लिन र पहेंलो कार्ड भएका सेवाग्राहीलाई प्रि आइसोलेसन वार्डमा कोभिड स्क्रिनिङका लागि पठाउने व्यवस्था उल्लेख छ । तर त्यो अनुसार यहाँका अस्पतालहरुले हरियो र पहेंलो कार्डको व्यवस्था गरी समहूमा वर्गीकरण गर्ने व्यवस्था गरेका छैनन् ।

यस्तै, निर्देशिकाको २ (१) को (ख) मा हरेक अस्पतालले कोभिड १९ का संक्रमित व्यवस्थापन गर्न छुट्टै आइसोलेसन वार्ड बनाउनु पर्ने र त्यसमा सुरक्षाकर्मी राख्नु पर्ने उल्लेख छ । तर यहाँका अधिकांश निजी अस्पतालले आइसोलेसनको व्यवस्था गरेका छैनन् ।

विराटनगर महानगर प्रमुख भीम पराजुलीले निर्देशिकामा भएको व्यवस्था कार्यान्वयनका लागि यहाँका अस्पतालहरुलाई निर्देशन दिएको दाबी गरे । उनले अस्पतालहरुको सेवा सुचारु रहे नरहेको बारे अनुगमन गर्ने व्यवस्था मिलाउन नसकेको बताए ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले उक्त निर्देशिकामा सेवा बन्द गर्न नपाउने व्यवस्था उल्लेख रहे पनि निर्देशिका कार्यान्वयन नभएको स्वीकारे । उनले स्वास्थ्य कार्यालयहरुको नियमन स्थानीय तह र सामाजिक विकास मन्त्रालय मातहत रहेकाले आफूले यस बारेमा थप केही भन्न नसक्ने बताए ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले कोभिड बाहेक अन्य रोगबाट सर्वसाधारणमा स्वास्थ्य जोखिम रहेकाले अस्पतालहरुले दिइरहेका सेवा बन्द गर्न नपाइने बताए । सुरुमा उक्त निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्न केही अलमल भएको तर अब त्यसको कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।

प्रकाशित : श्रावण ३१, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?