१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

संक्रमण बढेपछि प्रयोगशालामा फेरि चापाचाप

‘पालिकाहरूले आफैं भीटीएम किनेर आवश्यकै नभएका व्यक्तिको पनि स्वाब पठाउँदा समस्या पर्‍यो’
देवनारायण साह

मोरङ — कोरोना संक्रमण ह्वात्तै बढेपछि प्रदेश १ का प्रयोगशालाहरूमा स्वाब परीक्षणको चाप बढेको छ । स्थानीय तहले आफैं भीटीएम किनेर स्वाब संकलन गरी प्रयोगशालामा पठाउन थालेका छन् ।

संक्रमण बढेपछि प्रयोगशालामा फेरि चापाचाप

प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरी तीनवटा पीसीआर ल्याब छन् । यिनमा दैनिक ५/५ सयका दरले नमुना परीक्षण हुँदै आएको छ ।

मेची अस्पतालमा पनि सोमबारदेखि ल्याबको परीक्षणको काम भइरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । ‘प्रदेशस्थित तीनवटै ल्याबको दैनिक स्वाब परीक्षण क्षमता १ हजार ५ सय छ। तर स्थानीय तहबाट दैनिक परीक्षणका लागि २२ सयदेखि २७ सयसम्म स्वाब संकलन भएर आइरहेको छ,’ उनले भने, ‘दैनिक ७ सयदेखि १२ सयसम्म स्वाब नमुना बाँकी रहने गरेकाले परीक्षणमा ढिलाइ भइरहेको छ ।’

यादवका अनुसार मंगलबार तीनवटै पीसीआर ल्याबमा गरी २ हजार ७ सय ५० वटा नमुना परीक्षण गर्न बाँकी थियो ।

विशिष्ट व्यक्ति, पहुँचवाला र शक्तिकेन्द्रका व्यक्तिहरूको एक दिनमै रिपोर्ट दिने गरेको तर सर्वसाधारणको ५ दिनसम्म ढिलाइ गरिएको भन्दै विरोध हुने गरेको छ ।

‘स्वाब संकलन गर्ने क्रममा नै तत्कालै परीक्षण गर्नुपर्ने नमुना छुट्टै सानो आइस बक्समा राख्छौं,’ यादवले भने, ‘थोरै स्वाब नमुना भएको आइस बक्सको चाँडै परीक्षण हुन्छ तर १/२ सय स्वाब नमुना भएको बक्सको रिपोर्ट आउन ढिलाइ हुन्छ ।’

पालिकाहरूले आवश्यकै नभएका व्यक्तिको पनि पहुँचका भरमा स्वाब संकलन गरेर पठाउने गरेकाले वास्तविक संक्रमितको परीक्षणमा समस्या परेको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले बताए । ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिलाई प्राथमिकतामा राखेर स्वाब संकलन गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘तर अहिले स्थानीय तहका वडा कार्यालयले पहुँच र पैरवीका भरमा अनावश्यक व्यक्तिको स्वाब संकलन गरेर पठाउने गरेका छन् ।’

संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा व्यक्ति पहिचानमा पनि समस्या रहेको मेहताको भनाइ छ । ‘शारीरिक दुरी कायम राखेर कुराकानी गरेका, नजिकैबाट देखादेख मात्रै गरेका व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङमा पर्दैनन्,’ उनले भने, ‘तर त्यस्ता व्यक्तिको समेत स्वाब संकलन भएर आइरहेको छ ।’

प्रदेश १ मा मंगलबारसम्म ६० हजार ६ सय ८० जनाको पीसिआर परीक्षण गरेको छ । जसमा प्रदेशबाहिरका ४ हजार १ सय ७४ र प्रदेशका ५६ हजार ४ सय १६ जना छन् । तीमध्ये १ हजार ५ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : श्रावण २८, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?