बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

प्रदीप मेन्याङ्बो

सुनसरी — कोभिड १९ अस्पताल संचालन गर्न चासो नदिएको भन्दै मंगलबार तरुण दल र नेवि संघले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । 

बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

उपकुलपति प्राडा ज्ञानेन्द्र गिरिसहित अन्य पदाधिकारी, कार्यकारिणी सदस्यहरु सोमबार नै संचालक समिति (सिनेट)को बैठकका लागि काठमाडौं पुगेका छन् । प्रतिष्ठानको सिनेट बैठक साउन २९ गते हुँदैछ ।

तरुण दल र नेवि संघले कोरोना संक्रमितको संख्या दिनदिनै बढेको बेला तीन महिनाअघि नै उद्घाटन गरिएको कोभिड १९ अस्पताल संचालन गर्न माग गर्दै उपकुपतिको कार्यकक्षमा तालाबन्दी गरेको हो । उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुले कोभिड अस्पताल संचालन गर्न चासो नदिएको र कोरोनाले धरान आक्रान्त भइरहँदा पनि सबै पदाधिकारीहरुलाई लिएर सिनेट बैठकका लागि काठमाडौं गएको भन्दै तालाबन्दीपछि नाराबाजी गरेका थिए ।

तरुण दल धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले भने, ‘कोरोना महामारीको बेला उपचार, रोकथामका लागि कोभिड अस्पताल सुरुवात गर्नु पर्नेमा आफ्नो स्वार्थ पूरा गर्न सबै पदाधिकारी लिएर उपकुलति काठमाडौं गएकोले तालाबन्दी गरेका हौं ।’ उनले प्रतिष्ठानको आइसोलेसन वार्डमा बेड अभावले धरानका १० जना अझै घरैमा बस्नु परेको बताए ।

प्रदेश र संघीय सरकारले दिएको १२ करोड ५० लाख रुपैयाँ बजेटमा १३ आईसीयु, सीटी स्क्यान, अल्ट्रासाउण्ड, अप्रेसन थिएटर, एक्सरे मेसिन, गाइनो, पेडियाट्रिक र प्रयोगशालासहितको सय शय्याको कोभिड अस्पताल तयार पारिएको थियो । तर कोरोना संक्रमण समुदायस्तरमा फैलिए अस्पताल संचालनमा आएको छैन ।

प्रकाशित : श्रावण २७, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?