इलामका दुई पालिकामा लकडाउन

विप्लव भट्टराई

इलाम — कोरोना संक्रमण फैलन सक्ने भन्दै इलामका दुईवटा स्थानीय तहमा लकडाउन गरिएको छ । सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले बिहीबार राति १२ बजेबाट लकडाउन गरेका हुन् ।

भारतसँग सीमा जोडिएको पशुपतिनगर र आइतबारेका ३ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएपछि सूर्योदयले नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन घोषणा गरेको हो । त्यस्तै पञ्चकन्या हाइड्रो पावरको क्यानल पहिरोको जोखिममा परेपछि त्यसको अध्ययनका लागि काठमाडौंबाट आएको टोलीका सहभागीमा समेत कोभिड–१९ पुष्टि भएपछि सन्दकपुर गाउँपालिकाले एक साताका लागि लकडाउन गरेको छ ।

यसअघि कोरोना संक्रमण फैलन सक्ने भन्दै रोङ गाउँपालिकाले मेची राजमार्ग आसपासका जोरकलश र कुटिडाँडाका पसल बन्द गराएको छ । बिहीबार मात्र इलामको सशस्त्र प्रहरी बल हेड क्वार्टर नम्बर १ का १६ जनालाई कोरोना पुष्टि भएको थियो । गणका ४३ जनामा कोरोना संक्रमण भइसकेको छ । हालसम्म इलामका ७६ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : श्रावण २३, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?