प्रयोगशालाका प्राविधिक भन्छन्– घर जान डर भयो, छुट्टै गासबासको व्यवस्था गरिदिनु पर्‍यो- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रयोगशालाका प्राविधिक भन्छन्– घर जान डर भयो, छुट्टै गासबासको व्यवस्था गरिदिनु पर्‍यो

जितेन्द्र साह

विराटनगर — कोरोना परीक्षणका लागि स्वाब संकलन गरेपछि घर जाँदा परिवारका सदस्य असुरक्षित हुने भन्दै मोरङको रंगेली अस्पतालको प्रयोगशालाका प्राविधिकहरुले छुट्टै गासबासको व्यवस्था गरिनुपर्ने माग राखेका छन् । प्रयोगशालाका चारैजना प्राविधिक काम सकिएपछि सोझै घरतिर लाग्छन् र परिवारसँगै बस्छन् । कार्यस्थलमा खानपिनको प्रबन्ध नहुँदा समेत स्वास्थ्यकर्मी तनावमा छन् ।

रंगेली नगरपालिकामा अहिलेसम्म तीन स्वास्थ्यकर्मीसहित ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । रंगेली बजारका एकै परिवारका १४ जना, विद्युत प्राधिकरण वितरण शाखाका ५ र ३ स्वास्थ्यकर्मीसहित २२ जनामा सोमबार संक्रमण पुष्टि भएको थियो ।

‘घरमा भौतिक दूरीको पालन गर्दै बस्नु अव्यवहारिक हुने भएकाले हामीलाई छुट्टै स्थानीय धर्मशाला वा होटेलमा राख्न माग गरिरहेका छौं,’ अस्पतालका प्रयोगशाला इन्चार्ज ललित यादवले भने । पीपीई सेट लगाएर स्वाब संकलन गरे पनि जोखिमको सम्भावना रहिरहने उनले बताए ।

‘घरमै बस्दा परिवारजनलाई खतरा छ, उनीहरु पनि डराउँछन् समाजले अनेक खाले टिकाटिप्पणी गर्छन्,’ यादवले भने । नगरपालिकाले सहयोगी स्वास्थ्यकर्मीको समेत खानपीनको उचित प्रबन्ध नगरेको उनले दुखेसो पोखे ।

‘दुई महिनादेखि नगरपालिकाका जनप्रतिनिधिहरुसँग पटकपटक समस्या राख्दै आएका छौं, समस्या बढ्दै छ, अब पनि प्रयोगशालाकर्मीका लागि आइसोलेसन र दुई छाक भोजनको प्रबन्ध गरिएन भने काम गर्न अमसमर्थ हुन्छौं,’ यादवले भने, ‘यो तरिकाले कहिलेसम्म काम गर्ने ?’

अस्पतालको यो प्राविधिक टोलीले अहिले सम्म क्वारेन्टाइनभित्रका २ सय २२ जनाको आरडीटी एवं १ हजार ३ सय ४८ जनाको स्वाब संकलन गरेको छ । संकलित स्वाबमा क्वारेन्टाइनभित्र ७ सय ८३, समुदायको १ सय ४२ र कन्ट्याक्ट ट्ेरसिङका ४ सय २३ जना रहेको इन्चार्ज यादवले बताए ।

रंगेली–८ दर्वेशामा बुधबार कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएकोले उनीसँग सम्बन्धितहरुको कन्ट्रयाक्ट ट्ेरसिङको सूची तयार भइरहेको नगरपालिकाको जनस्वास्थ्य प्रमुख भूपेन मण्डलले बताए । उनले ती व्यक्तिहरुको शुक्रबार स्वाब संकलन गरिने जनाए । नगरपालिकाको जनस्वास्थ्य प्रमुख हुँदै संकलित स्वाब परीक्षणका लागि विराटनगरस्थित कोसी अस्पताल एवं प्रादेशिक प्रयोगशालामा पुग्छ ।

स्वाब संकलनमा संलग्न स्वास्थ्यकर्मीहरुकालागि अस्पतालभित्रै बस्ने प्रबन्ध गर्ने सोचमा रहेको रंगेली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोहेन्द्र पाण्डेले बताए । ‘बाहिर अन्यत्र बस्दा वरिपरिका समाजले समस्या खडा गर्लान्, आफ्नै ठाउँ भयो भने राम्रो हुन्छ भनेर सोच बनाउँदैछु,’उनले भने । अस्पतालको स्वास्थ्यकर्मीको ज्यानको सुरक्षाको हकमा कुनै सम्झौता नगर्ने डा.पाण्डेले बताए ।

स्वाब संकलन जस्तो संवेदनशील कार्यमा संलग्न स्वास्थ्यकर्मी छुट्टै बस्नु पर्ने र सामाजिक दूरी बनाएर राख्नु पर्ने प्रदेश १ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा.सुरेशप्रसाद मेहताले बताए । ‘यी स्वास्थ्यकर्मी घरै गए पनि एक्लै बस्नु पर्छ र परिवारजनसँग दूरी राख्नु पर्छ,’ उनले भने, ‘सबैको घर वा डेरामा पर्याप्त ठाउँ नहुने हुनाले उनीहरुका लागि छुट्टै गासबासको प्रबन्ध उत्तम उपाय हो ।’

सुरक्षाकाका सबै विधि अपनाएर स्वाब संकलन गरिएपनि जोखिम लिन नसकिने हुनाले छुट्टै कोठामा खानु–बस्नु नै उचित हुने डा.मेहताले बताए ।

आफू र सम्पूर्ण स्वास्थ्यकर्मी उच्च जोखिममा रहेर काम गरिरहको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मण्डलले बताए । उनले प्रयोगशालाकर्मीसँगै सबै स्वास्थ्यकर्मीको माग जायज रहेको र यस बारेमा सोचिरहेको बताए ।

‘हामीसँग स्वाब संकलनका लागि सिमित जनशक्ति रहेकोले १४ दिनसम्म क्वारेन्टाइनमा पठाउन सकिन्न तर उनीहरु तथा उनीहरुका परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नु पर्छ,’ उनले भने, ‘नगरका जनप्रतिनिधिहरुसँग सल्लाह गरेर प्रयोगशालाका कर्मचारी एवं स्वास्थ्यकर्मीहरुका लागि चाडै छुट्टै बास र भोजनको प्रबन्ध गर्छौं ।’

प्रकाशित : श्रावण २२, २०७७ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्

संसद् सचिवालयका एक उच्चपदस्थ कर्मचारीलाई कोरोना

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् सचिवालयमा कार्यरत एक उच्चपदस्थ कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब परीक्षण गर्दा ती अधिकारीलाई संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंमा गरिएको पीसीआर परीक्षणका क्रममा उनलाई कोभिड-१९ पोजिटिभ देखिएको संसद सचिवालय स्रोतले बतायो । ती कर्मचारीलाई केही दिनयता ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि स्वाब परीक्षण गराएका थिए ।

प्रकाशित : श्रावण २२, २०७७ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×