कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धरानको खानेपानी मुहान तोडफोड गरेको आरोपमा साम्पाङ पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानको खानेपानी मुहान सर्दु–खर्दु जलाधारमा पाइपलाइन तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीय हर्क साम्पाङलाई पक्राउ गरेको छ । उनलाई मंगलबार बेलुकी धरान–१८ बुद्धचोकबाट पक्राउ गरिएको हो । 

साम्पाङको नेतृत्वमा २५ जनाको टोलीले तीन दिनअघि सर्दु–खर्दुको इन्टेकमा जडान गरिएको खानेपानी आयोजनाको पाइपलाइन तोडफोड गरेको थियो । साम्पाङलाई बुधबार इनरुवास्थित जिल्ला अदालत लैजाने क्रममा १५ जनाको समूहले नारा–जुलुस गर्दै रोक्न खोजेपछि इलाका प्रहरी कार्यालयअगाडि केही बेर तनाब भएको थियो ।

पाइपलाइन तोडफोडपछि धरान खानेपानी आयोजनाले धरान–१३ फुस्रेमा बनाएको र्‍यापिड स्यान्ड फिल्टर ट्यांकीमा पानी आउन बन्द भएको छ ।

धरानमा खानेपानी संस्थान र आयोजनाबीच लामो समयदेखि विवाद छ । संस्थानको खानेपानी वितरण प्रणालीमा पानी शुद्धीकरण गर्ने स्यान्ड फिल्टर नहुँदा उपभोक्ताका धारामा वर्षायाममा धमिलो र लेदो पानी आउने गरेको थियो । उपभोक्ताले प्रदूषित पानी प्रयोग गर्न नपरोस् भनेर आयोजनाले स्यान्ड फिल्टरमार्फत दुई महिनादेखि शुद्धीकरण गरेर वितरण गर्दै आएको थियो ।

गएको स्थानीय तह उपनिर्वाचनमा धरान उपमहानगरको मेयर पदमा उम्मेदवारीसमेत दिएका साम्पाङ दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजकसमेत हुन् । तोडफोडपछि धरान खानेपानी व्यवस्थापन बोर्डले साम्पाङविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

साम्पाङ धरान खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठकै सहयोगमा पाइपलाइन तोडफोड गर्न गएका थिए ।

‘साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड र क्षति पुर्‍याएको विषयमा मुद्दा दायर गरी कारबाही अगाडि बढाउने छौं,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले भने । उनलाई सहयोग गर्ने संस्थानका प्रमुख श्रेष्ठलाई पनि पक्राउ गर्ने तयारी भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७७ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?