१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोसी अस्पतालको ओपीडी पुन: सञ्‍चालन

जितेन्द्र साह

विराटनगर — चार दिनदेखि बन्द विराटनगरस्थित कोसी अस्पतालको बहिरंग सेवा (ओपीडी) मंगलबारदेखि पुन: सञ्चालन भएको छ । स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अस्पताल व्यवस्थापनले बिहीबारदेखि अनिश्चितकालकालागि ओपीडी बन्द गरेको थियो ।

कोसी अस्पतालको ओपीडी पुन: सञ्‍चालन

स्वाब परीक्षणपछि आएको रिपोर्टमा ओपीडीका थप स्वास्थ्यकर्मीमा संक्रमण नदेखिएकोले बन्द सेवा पुन: सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले बताए ।

‘लकडाउनले यातायात बन्द रहेकाले सेवाग्राही त पक्कै पनि कमै आउलान्, त्यही पनि सरकारी अस्पतालको ओपीडी हो, लामो समयसम्म बन्द राख्दा आम नागरिक समुदायलाई मर्का पर्छ,’ उनले भने । कर्मचारी र स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि विराटनगरका अन्य प्राइभेट अस्पताल पनि बन्द भएकाले बिरामीले उपचार पाउन कठिन भइरहेको उनले बताए ।

गत शुक्रबारदेखि मंगलबारसम्म कोसी अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीसम्मको संख्या ११ पुगेको सूचना अधिकारी विष्णु बुढाथोकीले बताए । संक्रमित हुनेमा एक चिकित्सक, ६ नर्स र ४ सहयोगी कर्मचारी छन् ।

कोसी अस्पतालमा चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मी कार्यरत छन् भने सामान्य दिनमा औसत दिनहुँ १ हजार २ सय सेवाग्राही आउने गरेको अस्पतालले जनाएको छ । लकडाउन नभएको बेला ओपीडी खुल्ला हुँदा अहिलेको यो विषम परिस्थिति र खेतीपातीको समयमा समेत दिनहुँ ६ सय सेवाग्राहीसम्म आएको अस्पतालले जनाएको छ । ‘लकडाउन भएकाले कमै सेवाग्राही आउँछन् तर आउने जतिलाई सेवा दिन्छौं,’ उनले भने ।

शुक्रबारसम्म संक्रमण पुष्टि भएकाको प्रत्यक्ष सम्पर्कमा आएका १ सय ८४ जनाको स्वाब संकलन गरिएको र सबैको रिपोर्ट आइसकेको अस्पतालका डा. दासले बताए । उनले अस्पतालका अन्य विभागका संक्रमित र उनीहरुको सम्पर्कमा आएकाको स्वाब परीक्षण र क्वारेन्टाइनमा राख्ने क्रम अझै जारी रहेको बताए ।

संक्रमित सबैको कोभिड–१९ अस्पतालमा उपचार भइरहेको र अहिलेसम्म ३७ स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा रहेको उनले बताए ।

काठमाडौंको औषधि व्यवस्था विभागबाट यो अस्पतालमा सरुवा भएर आएका एक चिकित्सकमा गत शुक्रबार र उनको सम्पर्कमा आएका प्रसूतिका अर्का एक नर्समा गत सोमबार कोभिड–१९ को संक्रमणको पुष्टि भएको थियो । यसपछि विभिन्न चरणमा संकलन गरिएको स्वाब परीक्षणको रिपोर्टमा अस्पतालका संक्रमित हुने कर्मचारीको संख्या थपिएको थियो ।

‘अहिले सम्मको विश्लेषणमा हाम्रै एक चिकित्सक र यो अस्पताल बाहेक आंशिक रुपमा विराट नर्सिङ होममा कार्यरत एक स्टाफ नर्सबाट फैलिएको देखिन्छ,’ डा.दासले भने, ‘सेवाग्राहीबाट चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी संक्रमित भएको देखिएको छैन ।’

कोरोना भाइरसबाट उक्त नर्सिङ होमका सञ्चालक डा.ज्ञानेन्द्रमान सिंह कार्की संक्रमित भएको पुष्टि भएपछि उनको सम्पर्कमा आएकाको पनि स्वाब परीक्षण भएको थियो । थप परीक्षणपछि आएको रिपोर्टमा कोसीकै एक नर्समा समेत संक्रमणको पुष्टि भएको थियो ।

प्रकाशित : श्रावण २०, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?