एकै परिवारका १४ जनामा कोरोना देखिएपछि रंगेली बजार बन्द

जितेन्द्र साह

मोरङ — एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय तहले मोरङको रंगेली बजार मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरेको छ । रंगेली नगरपालिकाले अर्को सूचना नहुन्जेलसम्मका लागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको छ ।

एकै परिवारका १४ जनामा कोरोना देखिएपछि रंगेली बजार बन्द

सोमबार आएको पीसीआर रिपोर्टमा उक्त परिवार बाहेक विद्युत प्राधिकरण रंगेली शाखाका पाँच र अस्पतालका तीन कर्मचारी समेत २२ जनामा कोरोना पुष्टि भएको हो ।

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमबार मध्यराति देखि अर्को सूचना प्रकाशित नहुन्जेल सिल गरिएको उल्लेख छ ।

रंगेली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रोहेन्द्र पाण्डेले संक्रमितहरुको उपचारको प्रबन्ध, उनीहरुको सम्पर्कमा आएका झन्डै २ सय जनाको स्वाब परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने भएकोले बजार, अस्पताल एवं कार्यालयहरु बन्द गरिएको बताए ।

‘यो अस्पतालमा कोरोनाबाट प्रभावित सुनवर्षी र रतुवामाइ नगरपालिकालगायत मोरंगको सीमावर्ती दक्षिणपूर्वी भेककै सेवाग्राही आउने हुनाले समुदायमा फैलिन नदिनलाई सावधानीका कदमहरु चालिएको हो,’ उनले भने । स्थिति सहज हुनबित्तिकै अस्पताल सञ्चालन हुने डा.पाण्डेले बताए ।

आवागमन प्रयोजनका लागि उनीहरुको पीसीआर परीक्षण गराउँदा रंगेली बजारका एकै परिवारको १४ जनामा संक्रमण देखिएको डा.पाण्डेले बताए । सामान्य स्वास्थ्य अवस्था भएका उनीहरु कसरी र कहाँबाट संक्रमित भए भन्ने पुष्टि हुन नसकेको उनले जानकारी दिए । अन्यमा भने रंगेलीसँग जोडिएको सीमावर्ती सुनवर्षी नगरपालिकाका संक्रमितसँग सम्पर्कमा आएको कारण नगरपालिकाले नै पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको उनले प्रस्ट पारे ।

रंगेली बजारमा मंगलबार बिहानदेखि नै घरबाट ननिस्कनलाई माइकिङ गरिँदैछ । ‘घरबाट निस्केर नजिकैको बजारसम्म जाने अवस्था छैन,’ स्थानीयबासी अमित साहले भने, ‘स्थानीय प्रहरी प्रशासनले पनि बिहानदेखि घरभित्रै बसिदिन अनुरोधका साथ माइकिङ गर्दैछ ।’

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा अस्पतालको इमरजेन्सी सेवाहरु समेत २० साउनदेखि अर्का सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ । स्वास्थ्यसँग सम्बन्धित सेवाहरु बाहेक नगरपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवाहरु समेत मंगलबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द रहेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : श्रावण २०, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?