कोरोना संक्रमितको उपचार झापामै - प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमितको उपचार झापामै 

अर्जुन राजवंशी

बिर्तामोड — कोरोना भाइरस संक्रमितहरुलाई सोमबारदेखि झापामै राखेर उपचार सुरु गरिएको छ । प्रदेश सरकारको समन्वयमा भद्रपुरस्थित मेची अस्पतालको आइसोलेसनमा राखेर संक्रमितहरुको उपचार सुरु गरिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । 

चम्लागाईका अनुसार सोमबार संक्रमण पुष्टि भएका अर्जुनधारा नगरपालिकाका ४ र बिर्तामोड नगरपालिकाका एक गरी पाँच जनालाई मेची अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

मेचीमा २५ बेडको आइसोलेन वार्ड छ । प्रदेश सरकारको निर्देशनअनुसार अस्पताल विकास समितिको आइतबार बसेको बैठकमा कोरोना संक्रमितहरुलाई मेची अस्पतालमा राख्ने निर्णय भएको डा.गोविन्द कँडेलले जानकारी दिए । संक्रमितको उपचारका लागि प्रदेश सरकारले मेची अस्पताललाई दुई वटा भेन्टिलेटर उपलब्ध गराएको छ ।

चम्लागाईका अनुसार जिल्लामा संक्रमतिको संख्या ३ सय ७५ पुगेको छ । उनीहरुमध्ये ३ सय १२ जना उपचारपछि घर फर्किएका छन् । संक्रमित हुनेमा ३ जना स्थानीय, एक जना जनपथ प्रहरी, ३५ जना सशस्त्र प्रहरी तथा अन्य भारत र तेस्रो मुलुकबाट फर्किएकाहरु छन् । यसअघि जिल्लामा संक्रमण पुष्टि भएकाहरुलाई उपचारका लागि मोरङको गोठगाउँ, विराटनगर र धरान पठाउने गरिएको थियो ।

प्रकाशित : श्रावण २०, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्

तान्त्रिकको खोजीमा घनश्याम भुसालहरू

निर्जीव माटोको अचाक्ली भक्तिको आवरणमा सजीव मान्छेको अवमूल्यन हुँदा नेकपाका भुसालहरू किन मौन छन् ? किनभने तिनीहरू अघिल्ला पुस्ताका नेताहरूका अवगुणहरू ‘रेप्लिकेट’ गर्ने डरलाग्दो सम्भावनामा पुगेका छन् ।
रामचन्द्र श्रेष्ठ

आजसम्मको गतिविधि हेर्दा लाग्छ, दुई जना तान्त्रिक (ओली र प्रचण्ड) एउटा टेन्ट टाँगेर भित्र बसेका छन् । अनि, सारा मुक्तिकामी मान्छेचाहिँ टेन्टबाहिर बसेर भित्रका ईश्वरबाट केही आउनेछ भनी हेरिरहेका छन् । हाम्रो चेतना, शिक्षादीक्षा, आन्तरिक जनवादको कमी आदिले यस्तै बनाइदियो, मानौं तान्त्रिकहरूले केही खेल, तन्त्रमन्त्र गर्छन्, केही बुटी निकाल्छन्, झारफुक गरेर, इन्द्रजाल पढेर भन्ने किसिमको रह्यो ।’

२०७५ वैशाख ९ को ‘नेपाल’ साप्ताहिकसँगको अन्तर्वार्तामा नेकपाका उपमहासचिव घनश्याम भुसालले भनेका थिए । दुई वर्षपछि उनको यो भनाइ सम्झिनुको केही खास कारण छ । ओली र प्रचण्डलाई ‘तान्त्रिकजस्ता’ रूपकको प्रयोग गर्नुको पृष्ठभूमिमा बौद्धिक नेता घनश्याम भुसालका केही लुप्त चासो पनि थिए । ती चासो पार्टीको आन्तरिक जनवाद, निर्णय प्रक्रियाको लोकतन्त्रीकरणका साथै विधिसम्मत पार्टी सञ्चालन रहेको सहजै अनुमान गर्न सकिन्छ । शब्दका आशय शब्दार्थले मात्र नभएर सन्दर्भहरूले पनि निर्क्योल गर्ने हुनाले भुसालका यी शब्दहरू पार्टीका तथाकथित ईश्वर वा पार्टी सत्तामाथिको प्रश्न थिए । नेकपाको दोस्रो पुस्ताका युवा नेताहरूका तर्फबाट पार्टी सत्तामाथि हाँक पनि थियो । नेकपाको स्पष्ट बहुमतको सरकार गठनको दुई महिनाभित्र उपमहासचिव तहका बौद्धिक युवा नेताको यो हाँकले सुदूर क्षितिजमा आशाको किरण संकेत गर्थ्यो ।

कोभिड–१९, महँगी, प्राकृतिक विपत्ति, आसन्न संकटका त्रासदी, नेकपाको आन्तरिक अस्वस्थ राजनीति र स्थायी कमिटी बैठकको रस्साकस्सीको माहोलमा भुसालको तत्कालीन भनाइ स्मरण गर्नु जरुरी भइरहेको छ । बेला यही हो । पार्टीका देवपुरुषहरूको व्यक्तित्वको क्षयीकरण भइरहेको र अक्षमताको हद देखिइसकेको यो सन्दर्भमा स्थायी कमिटीको बैठक निकै तात्नुपर्ने हो । तर, अहिले स्थायी कमिटी बैठक मरणासन्न छ । कारण धेरै होलान् । तथापि, यो गतिरोधमा भुसालको पनि भूमिका छ । उनको नेतृत्वमा बसेको दोस्रो तहका युवा नेताहरूको बैठकले एकमतले भन्यो— बरु स्थायी कमिटी बैठक स्थगित गर, दुई अध्यक्ष मिलेर आऊ ।

के भुसाल अब आफैं तान्त्रिकको खोजीमा छन् ?

आफैंले पहलकदमी लिन नसक्ने समाज विरक्तिको सीमामा तान्त्रिकको खोजी गर्न थाल्छ । त्यो एकातर्फ मानसिक सहारा होला । तर, आत्मविश्वासको अभावको स्वयंपुष्टि भने पक्कै हो । के नेकपाका युवा नेताहरू अब पार्टी, देश र समाजलाई हाँक्ने अठोट गर्नुको साटो तान्त्रिकहरूको खोजीमा छन् ?

यति बेला सत्तासमक्ष सयौं चुनौती छन् । विश्वव्यापी महामारीले निम्त्याउने संकटको पान्डोरा बाकस त खुल्नै बाँकी छ । तर सत्तासीन पार्टी एकाएक बजेट अधिवेशन अन्त्य गरेर आन्तरिक झैझगडामा मस्त छ । बिहानदेखि साँझसम्म सामाजिक सञ्जालका भित्ताहरूमा नेकपाका घरेलु झगडाहरू पोखिएका हुन्छन् । नेकपाका दोस्रो, तेस्रो, चौथो, पाँचौं वरीयतादेखि वर्गीय संगठनका कान्छा सदस्यहरूसम्म पनि यो गृहकलहमा निकै व्यस्त छन् । ती एकाबिहानै आँखा मिच्दै आफ्नो पक्षको हतियार उध्याउँछन् र अर्को पक्षलाई प्रहार गर्छन् । राति निद्राको झोंकमा पनि एक डोज दिन्छन् । उस्तै परे सपनामा पनि आरोप–प्रत्यारोप गरिरहन्छन् ।

ओहो, देशको सत्तासीन पार्टी, स्पष्ट बहुमतको ‘कम्युनिस्ट’ पार्टीका कार्यकर्ताहरूको यो व्यस्तता कति डरलाग्दो ! यिनको यो मिहिनेत आँखैअगाडिको संकट सामनाको सिर्जनात्मक समाधानमा खर्च भइदिएको भए कस्तो हुन्थ्यो होला ? गुटगत राजनीतिको विषादीमा चुर्लुम्म डुबेका यी कार्यकर्तालाई विचारको ज्वालाले प्रज्वलित गर्न सक्ने दोस्रो पुस्ताका युवा नेताहरू भने आ–आफ्नो मोर्चा सम्हाल्न व्यस्त छन् । बढीमा तिनले भन्छन्— तान्त्रिक बाजेहरू मिलेर आऊ । मिलेर आऊ ।

मिल्नु यहाँनेर सबैभन्दा घातक हो । जब मिल्नुका पछाडिका कारणहरू स्पष्ट हुँदैनन् तब मिलन पनि घातक भइदिन्छ । किनभने नमिल्नुका पनि केही ठोस कारणहरू हुन्छन् । किन पटक–पटक प्रचण्ड र ओली एकअर्कालाई घुर्क्यार्र्एर गलाउने प्रयत्न गर्छन् ? दुनियाँलाई थाहा छ— यिनीहरू फुट्दैनन् । भविष्यमा भन्न सकिँदैन तर तत्काल यिनीहरू फुट्दैनन् । किन फुट्दैनन् ? किनभने यिनीहरू जुटेकै छैनन् । यिनीहरू त संक्रमणको जटिल मोडमा छन् । रसायनशास्त्रमा ‘अर्गानिक कम्पाउन्ड’ बन्ने प्रक्रियामा एउटा चरण आउँछ । कार्बनका आफ्ना चारवटा बन्ड हुन्छन् । तर, रासायनिक प्रतिक्रियाको एउटा संक्रमणकालीन क्षण यस्तो आउँछ, एउटासँग सम्बन्ध टुक्र्याउँदै अर्कोसँग बनाउँदै गर्दा पाँचवटा बन्ड बन्छन् ।

ओली र प्रचण्डको मिलन पनि यस्तै संक्रमणकालीन हो । यहाँ न सम्बन्धविच्छेद भएको छ, न त नयाँ सम्बन्धको निर्माण । किन पुगे ओली–प्रचण्ड यो अवस्थामा ? कसले पुर्‍यायो ? यसका पछाडि खास अर्थराजनीतिक कारण छ । वामपन्थी भाष्यमा नेपाली कांग्रेसलाई उदारवादी अर्थनीतिको पक्षपाती र नवसामन्त एवं दलाल–पुँजीपति वर्गको प्रतिनिधिका रूपमा चित्रित गरिन्थ्यो । त्यही भाष्य सापटी लिएर भन्ने हो भने, तत्कालीन नेकपा (एमाले) ले कांग्रेसमा अटाउन नसकेका नवधनाढ्यहरूको प्रतिनिधित्व गर्थ्यो । तत्कालीन नेकपा (माओवादी) संसदीय राजनीतिमा आएपछि त्योभन्दा फरक यात्रा गर्न सकेन । बरु एमाले र कांग्रेसमा अटाउन नसकेका नवधनाढ्यकै प्रतिनिधि बन्न पुग्यो । यसको मुख्य कारण थियो— देशमा नवधनाढ्य वर्ग उदाउन भएको नयाँ आर्थिक सम्बन्धहरूको सिर्जना । रियलस्टेट कारोबार र वैदेशिक रोजगारीको दलाली मात्र होइन, सत्ताशक्तिले उपलब्ध गराउने निर्माण र खरिद प्रक्रिया लगायतका आर्थिक गतिविधिमा एकहट्टी चाहन्थ्यो यो वर्ग ।

चालीसको दशकको अन्त्यबाट उदाउन सुरु गरेका यी नवधनाढ्यहरूलाई बलियो पार्टीको आवश्यकता थियो । त्यसैले दुई दलमा बाँडिएका यी नवधनाढ्यहरूले एमाले र माओवादीलाई मिलाउने कसरत गरे । त्यो कसरतले अझै मूर्तरूप लिएको छैन । सत्ताको बागडोर ओलीको हातमा पुगेपछि नवधनाढ्य वर्गको एउटा हिस्सा असाध्यै मोटाउँदै गएको छ । बेलाबेला अखबारी पानामा समाचार बन्न आइपुग्ने ओम्नी, यतिलगायत त्यसकै दृष्टान्त हुन् ।

तर, हिजोको एमाओवादीसँग गाँसिएका नवधनाढ्यले सत्तासुखको भोगमा समान साझेदारी पाएका छैनन् । ओली र प्रचण्डको घर्षण खासमा नवधनाढ्यहरूको दुई खेमाको घर्षण हो, जसको एउटा मञ्च रिक्त हुँदै गरेका आयोगका पदाधिकारीहरूको नियुक्ति पनि हो । नेकपाका कार्यकर्ताहरू सतहका केही शब्द र वाक्यहरूमा रस्साकस्सी गरिरहेछन् । ती भ्रममा छन् । जसरी जानेर–नजानेर भुसाल पनि भ्रममा पर्छन् । र, कथित ‘एकता’ लाई सैद्धान्तिक एकताका रूपमा बुझ्ने र व्याख्या गर्ने गर्छन् ।

आलोचना गर्दागर्दै जगत् चकित गराएर कृषिमन्त्रीको शपथ खानु ठीक एक वर्षपहिले भुसालले ‘कान्तिपुर’ मा लेख लेखेका थिए । ग्रीक माइथोलोजीको ‘नार्सिसस’ र ‘फिनिक्स’ को रूपक प्रयोग गरिएको उक्त लेखको भव्य चर्चा भएको थियो । उक्त लेखमा उनले श्रमजीवी वर्गलाई महावीर दैत्यका रूपमा चित्रित गरेका थिए । उनको आशय थियो, उक्त दैत्यको आक्रोश र परिश्रमकै कारण नेपालमा राजनीतिक उतारचढाव आएको हो । बहुदलको पुनःस्थापना, २०६४ मा माओवादीको विजय, २०७४ मा नेकपाको भारी बहुमतका पछाडि यही ‘दैत्य’ कारक थियो । बौद्धिक नेता भुसालले यहाँनेर नवधनाढ्यको भूमिकालाई बुझ पचाइरहेका थिए । श्रमजीवी वर्गप्रति उनको आस्था प्रशंसनीय होला तर यथार्थमा नवधनाढ्य वर्गको परीश्रम पो थियो, जसले सत्ताको लाभ मागिरहेछ ।

यही कारणले हो, भुसालले विम्ब, कला, केही अमूर्तता, लालित्यको प्रयोग गर्दै संसद्मा कृषिमन्त्रीका तर्फबाट बजेटमाथि उठेका प्रश्नको उत्तर दिँदै गर्दा संसदीय राजनीतिको मर्यादामाथि प्रश्न उठाएको । यही कारणले हो, प्रदीप गिरीको ‘अभिमन्यु’ को आशंकालाई जयद्रथको उपमाले जवाफ दिनुपरेको । अनि, पटक–पटक ‘म जागिर खान आएको होइन’ भन्ने स्पष्टीकरण दिनुपरेको । कसले बाँध्छ दुईतिहाइ बहुमत सरकारको ‘प्रगतिशील’ मन्त्रीलाई ? जवाफ सरल छ— पार्टीभित्रै बलियो स्थानमा रहेको नवधनाढ्य वर्गले ।

‘आजको मार्क्सवाद र नेपाली क्रान्ति’ पुस्तक लेख्ने भुसाल एमाले र माओवादीको एकताका सुरुआती सैद्धान्तिक आग्रही नेतामध्येका हुन् । उक्त पुस्तक खासमा एकताका सैद्धान्तिक कारणहरूको निरूपण हो । सैद्धान्तिक प्रश्नहरूलाई तिलाञ्जली दिइसकेको नेपाली राजनीतिमा उक्त पुस्तकले पर्याप्त बहस पाएन । कि त तिरस्कृत भयो कि पूजनीय । छलफल र बहस भने कमै भयो । भुसालको सरल आग्रह थियो— माओवादीको क्रान्तिकारी चेत अनि एमालेको संगठनात्मक शक्ति र लोकतन्त्रीकरण गरिएको मार्क्सवादबीच एकता भएर नयाँ पार्टी बन्नुपर्छ । त्यो कस्तो हुन्छ ? त्यो क्रान्तिकारी जोसजाँगरसहित लोकतान्त्रिक चरित्र बोकेको मार्क्सवादी हुन्छ । भुसालको ठम्याइ यस्तै थियो ।

समयक्रमले एमाले र माओवादीको एउटा खेमा जोडिएका छन् । प्रतिफल भने जर्ज बर्नार्ड शसँग जोडिएको बहुचर्चित प्रसंगजस्तो छ । एउटी सुन्दरीले शलाई आग्रह गरिछन्, ‘आऊ, हामी बिहे गरौं । हाम्रो सन्तान तिमी जस्तो बुद्धिमान् र मजस्तो सुन्दर हुनेछ ।’ शको जवाफ थियो, ‘धत् ! त्यो बच्चा त तिमीजस्तो स्वाँठ र मजस्तो कुरूप हुन्छ ।’ भुसालको आकांक्षाविपरीत एमाले र माओवादीको ‘एकता’ शले औंल्याएको सम्भावनाको नकारात्मक पाटो बन्दै छ । यो एकता एमालेको दक्षिणपन्थ र माओवादीको अवसरवादको लगनगाँठो बनेको छ ।

भुसाललगायत दोस्रो पुस्ताका नेताहरू एमाले र एमाओवादी एकताको अर्थराजनीति बुझ्न चाहँदैनन् वा बुझ पचाइदिन्छन् । एक अनौपचारिक भेटमा भुसालले भनेका थिए, ‘प्रतिक्रियावाद सोचेजस्तो बलियो छैन ।’ तर, समयक्रमले प्रतिक्रियावाद आकलन गरेको भन्दा बलियो साबित हुँदै छ । प्रतिक्रियावाद किन पनि बलियो हुँदै छ भने, यसले आर्थिक गतिविधिमा भौतिक आक्रमण र मूर्त हस्तक्षेप मात्र गरिरहेको छैन । यसले चिन्तन प्रणालीमा समेत प्रभुत्व जमाउँदै छ । एकातर्फ जिउँदा रामहरू महँगी, बेरोजगारी र निराशाले मारिँदै छन् अर्कातर्फ मिथक रामको खोजी हुँदै छ । अनि एक खालका बुद्धिजीवीहरू यसैमा बुद्धिविलास गरिरहेका छन् । तिनको आत्मामा कहिल्यै नजागेको राष्ट्रवाद जागेको छ । फेरि माधव घिमिरेको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ गुन्जिँदै छ । तर, फेरिनुपर्ने भाष्य नै यही हो । गुन्जिनुपर्ने थियो, ‘नेपाल देश रहला कहाँ नेपाली नरहे ।’ माटो र मान्छेमा मान्छेको अवमूल्यन गरी माटोको प्रशस्ति मात्र गाइँदै छ । राज्य माटो र मान्छेको मेल हो । यदि मान्छे जीवित छ भने माटोबिना पनि राष्ट्र हुन्छ ।

प्यालेस्टाइनको माटोले राज्यको स्वीकृति नपाए पनि संसारले प्यालेस्टाइन स्विकारेको छ किनभने प्यालेस्टाइनी मान्छे जीवित छन् । तिनको आत्मामा प्यालेस्टाइन जीवित छ । निर्जीव माटोको अचाक्ली भक्तिको आवरणमा सजीव मान्छेको अवमूल्यन हुँदा नेकपाका भुसालहरू किन मौन छन् ? किनभने तिनीहरू अघिल्ला पुस्ताका नेताहरूका अवगुणहरू ‘रेप्लिकेट’ गर्ने डरलाग्दो सम्भावनामा पुगेका छन् । भुसाल आफैंले दुई वर्षअघि अस्वीकार गरेका ‘तान्त्रिक’ हरूको खोजी गर्नु मार्क्सवाद–लेनिनवादलाई छोडेर इन्द्रजालको पक्षपोषण गर्नु हो । तान्त्रिकको खोजी भुसालले आर्जन गरेको विश्वासको क्षयीकरण मात्र होइन, बरु इतिहासले सुम्पिन आँटेको पार्टी, समाज र देश परिवर्तनको गह्रुँगो भारी बोक्ने साहस नगर्नु हो । युवाहरू बेसमयमै बूढो हुनु हो ।

प्रकाशित : श्रावण २०, २०७७ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×