धरानमा संस्थानकै नेतृत्वमा बोर्डले बनाएको पाइपलाइन तोडफोड

प्रदीप मेन्याङ्बो

सुनसरी — नेपाल खानेपानी संस्थानका शाखा प्रमुखकै अगुवाइमा धरानस्थित सर्दुखोला मुहानको पाइपलाइन तोडफोड गरिएको छ । संस्थानको धरान शाखाका प्रमुख रामकुमार श्रेष्ठ र स्थानीय हर्क साम्पाङ राईको टोलीले धरान खानेपानी व्यवस्थापन बोर्डले निर्माण गरेको पाइपलाइन फुटाइदिएको हो ।

धरानमा संस्थानकै नेतृत्वमा बोर्डले बनाएको पाइपलाइन तोडफोड

मन्त्रिपरिषद्को डेढ वर्षअघिको निर्णयबमोजिम संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डमा हस्तान्तरण गर्ने विषयमा संस्थान र बोर्डबीच विवाद हुँदै आएको छ । बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोखरेलका अनुसार धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बिछ्याइएको पाइपलाइन संस्थानकै प्रमुखको नेतृत्वमा गएको टोलीले भत्काएको हो । उनका अनुसार मुहानका विभिन्न ठाउँमा मुख्य पाइलाइन र पानी शुद्धीकरण गर्ने ट्यांकीमा जाने अन्य पाइपललाइन पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

‘क्षतिको विवरण प्रहरीले संकलन गर्दै छ । खानेपानीजस्तो संवेदनशील विषयसँग जोडिएको सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई के भनेर हामी छलफल गर्दै छौं,’ पोखरेलले भने । मुहानमा उक्त पाइपलाइन दुई दिनअघि मात्र विस्तार गरिएको उनले जानकारी दिए ।

यसैबीच धरान उपमहानगरप्रमुख तिलक राईले खानेपानी मुहानमा भएको तोडफोडबारे बुझ्ने क्रम जारी रहेको बताए । ‘धरान खानेपानी आयोजना प्रमुख पोखरेललाई अध्ययन गर्न जिम्मा दिएकाले त्यहाँबाट रिपोर्ट आएपछि कारबाही प्रक्रिया अगाडि बढाउनेछौं,’ उनले भने ।

धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले पाइपलाइन तोडफोड गर्नेबाटै खर्च भरपाई गरेर जस्ताको तस्तै बनाउन लगाउनुपर्ने बताए । संस्थान र बोर्डबीच विवाद भए पनि मुहानमा पाइपलाइन र पानी शुद्धीकरण गर्ने ट्यांकी बनाउन एक वर्षअघि संस्थानले नै अनुमति दिएको थियो ।

प्रकाशित : श्रावण १९, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?