बिर्तामोडमा आइतबार राति १२ बजेदेखि लकडाउन - प्रदेश १ - कान्तिपुर समाचार

बिर्तामोडमा आइतबार राति १२ बजेदेखि लकडाउन 

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोड नगरपालिकाले आइतबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको छ । बिर्तामोड नगरपालिकामा भएको सर्वपक्षीय छलफलले आइतबार राति १२ बजेदेखि लागूहुने गरी नगर क्षेत्र लकडाउन गर्ने निर्णय भएको मेयर ध्रुवकुमार शिवाकोटीले बताए ।

छिमेकी पालिकामा संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनीहरुको सम्पर्क बिर्तामोडसम्म पाएपछि नगर क्षेत्रमा थप संक्रमण फैलिन नदिन लकडाउन गर्ने निर्णय गरिएको शिवाकोटीले बताए ।

लकडाउन अवधिभर बजार, पसल, सवारी साधन, कार्यालय, वित्तीय संस्थालगायत सबै क्षेत्र बन्द गर्ने निर्णय भएको छ । खाद्यान्न पसल भने बिहान ८ देखि ११ बजेसम्म खोल्न दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपतिराज खतिवडाले जानकारी दिए ।

एक साताअघि छिमेकी बाह्रदशी गाउँपालिकामा औषधि व्यवसायी र स्थानीय नेकपाका नेतामा संक्रमण पुष्टि भएको थियो । नेकपाका नेता जिल्ला पार्टी कार्यालय बिर्तामोडसम्म आएको तथा संक्रमित औषधि व्यवसायीको पसलमा बिर्तामोडस्थित औषधि विक्रेताहरु पुगेर फर्किएको कन्ट्याक्ट ट्रेसिङका क्रममा फेला परेको थियो । संक्रमित दुई जनाको प्रत्यक्ष सम्पर्कमा बिर्तामोडका करिब ९० जना पुगेको कन्ट्याक्ट ट्रेसिङमा फेला परेको नगर स्वास्थ्य शाखा प्रमुख ओम खड्काले जानकारी दिए । त्यस्तै केही दिनअघि इलामका एक जना सशस्त्र प्रहरीका प्रहरी निरीक्षकमा संक्रमण पुष्टि भएको थियो । उनी पनि बिर्तामोडमा आएर बसेको कन्ट्याक्ट ट्रेसिङका क्रममा खुलेको थियो । बिर्तामोडका ६८ जना संक्रमित प्रहरी निरीक्षकको सम्पर्कमा पुगेको पाइएको खड्काले बताए ।

शनिबार बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन सुरक्षार्थ खटिएकी एक महिला प्रहरीमा संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रम जारी छ । ‘उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा आज (आइतबार) सम्म ५० जनाको नाम लिष्ट तयार भएको छ । भोलि (सोमबार) पनि गर्छौं । करिब एक सय जना पुग्छ होला,’ स्वास्थ्य शाखा प्रमुख खड्काले भने । महिला प्रहरीको सम्पर्कमा आएको भन्दै बिर्तामोडको एउटा औषधि पसल समेत बन्द गरिएको छ । बिर्तामोड नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ७ जना उपचार पछि घर फर्किसकेको खड्काले बताए ।

प्रकाशित : श्रावण १८, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

बाटो हिँड्दा पक्राउ गर्न थालिएपछि चौकीअघि प्रदर्शन

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — शुक्रबार र शनिबार प्रधानमन्त्री निवास क्षेत्र वरपर प्रदर्शनका लागि जम्मा हुँदा बाटो हिँड्ने बटुवालाई समेत प्रहरीले समाएपछि 'इनफ इज इनफ'का युवाहरुले आइतबार भने प्रहरी चौकीकै अघिल्तिर प्रदर्शन गरे । 'यसै समाउने उसै समाउने' भन्दै उनीहरुले बेकारमा प्रहरीलाई दुख र इन्धन खर्च नगराउँ भन्दै सोझै समाएर जहाँ लैजाने हो त्यहीं मालीगाउँको प्रहरी चौकी अघि भेला हुन प्रदर्शनकारीहरुलाई आव्हान गरेका थिए  ।

यसैअनुरुप युवाहरु 'मेरो अधिकारका लागि खडा हुँदा मलाई गिरफ्तार गर' भन्ने प्लेकार्डसहित प्रहरी चौकी अघि प्रदर्शनमा उत्रिए । तर, आफ्नै ढोकामा आएका यी युवाहरुलाई आज भने प्रहरीले गिरफ्तार गरेन । उनीहरुको पम्पलेट र प्लेकार्ड खोसेर तितरवितर भने पार्‍यो । कोरोना रोकथाममा लापरबाही र भ्रष्टाचार भएको भन्दै युवाहरुको समूह सरकार विरोधी आन्दोलनमा सक्रिय छ । यही अभियानका ई: लगायत १६ दिनदेखि बसन्तपुरमा अनसनमा छन् ।

प्रकाशित : श्रावण १८, २०७७ १८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×