भ्रष्टाचार विरुद्धको प्रदर्शनमा प्रहरीको हस्तक्षेप- प्रदेश १ - कान्तिपुर समाचार

भ्रष्टाचार विरुद्धको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

डिल्लीराम खतिवडा

उदयपुर — बेलका नगरपालिकामा भ्रष्टाचार भएको भन्दै विपक्षी नेपाली कांग्रेससहितका दलले आइतबार दिउँसो गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपछि भएको दोहोरो झडपमा एक प्रहरी जवानसहित दर्जन बढी घाइते भएका छन् । 

नगर प्रमुख दुर्गाकुमार थापासहितका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थीक अनियमितता भएको भन्दै कांग्रेससहितको विपक्षी दलको गठबन्धनले केहि दिनयता नगरपालिका घेराउ गर्दै आएको थियो । यसैक्रममा आइतबार नगरपालिका घेराउ गर्न जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

झडपमा परि एक प्रहरी जवान सहित केहि प्रर्दशनकारी घाइते भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।घाइते अधिकांशको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । उनीहरुको टाउको र खुट्टामा चोट लागेको छ ।बेलका नगरपालिकको रामपुर बजार कोरोना जोखिम भएकाले प्रर्दशन, भेला र सभा गर्न निषेध गरिएपनि ठूलो संख्याको उपस्थितीमा प्रर्दशन भएपछि नियन्त्रण गर्न खोज्दा झडप भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए । ‘प्रर्दशनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण प्रयास भयो,’ प्रहरी उपरीक्षक दाहालले भने, ‘त्यसै क्रममा झडप हुँदा एक प्रहरी जवान र केहि प्रर्दशनकारी घाइते भएका छन् ।’

साउनको पहिलो साता नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै राजीनाको घोषणा गरेकी थिइन् । त्यसयता विपक्षी कांग्रेससहित राप्रपा, समाजवादी लगायतका दलको गठबन्धन आन्दोलित छन् । तर साउन ११ गते उपप्रमुख चौधरीले विज्ञप्ती निकालेर आत्मआलोचना गर्दै राजीनामा नगर्ने बताइसकेकी छन् ।

स्थानीय सरकार र नेकपाले उपमेयरलाई थमथमाएर भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन गरेको भन्दै कांग्रेससहितका विपक्षी दल आन्दोलित बनेका हुन् ।नगर प्रमुख थापासहितका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको उपप्रमुखबाटै बाहिरिएपछि कांग्रेससहितका दलले छानबिनको माग गर्दै नगरपालिकामा धर्ना दिइरहेको कांग्रेसका स्थानीय नेता प्रेम अधिकारीले बताए ।

प्रकाशित : श्रावण १८, २०७७ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्

जेष्ठ नागरिक र बालबालिकालाई घरबाट ननिस्कन मन्त्रालयको‍ अनुरोध

आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
वीरगन्ज र जनकपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले पठायो विज्ञ टोली
कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुन: निर्देशन दिएको छ । कोरोनाभाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिएका छन् ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले साउन १४ गतेको निर्णय अनुसार आरडीटी परीक्षण नगर्न पुन: जानकारी गराइएको बताए ।

यसैबीच प्रदेश २ को वीरगन्ज र जनकपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले विज्ञ टोली त्यसतर्फ पठाएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशन डा.दीपेन्द्र रमण सिहंको नेतृत्वमा उच्चस्तरीय टोली वीरगन्‍ज पठाइएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । यस्तै आवश्यक परेको स्थाानमा पनि विज्ञ टोली परिचालन गर्ने मन्त्रालयको तयारी भइरहेको उनले बताए ।

सरकारले वृद्ध तथा बालबालिकाहरुलाई घरमै बस्‍न आग्रह गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १२ वर्षमुनीका बालबालिकाहरुलाई काठमाडौंजस्ता घना बस्ती भएका ठाउँहरु बाहिर ननिस्कन अनुरोध गरेको हो ।

प्रवक्ता गौतमले कोरोना संक्रमितको संख्या बढिरिहेपनि निको हुने दर पनि राम्रो भएको बताए । उनले निको हुने दर ७२ प्रतिशत रहेको जानकारी दिएका छन् । कोरोना संक्रमण हुँदैमा नडराउन तर सावधानी अपनाउन उनले आग्रह गरे । ८० प्रतिशत संक्रमितहरु कुनै समस्या बिना नै निको भएको प्रवक्ता गौतमको भनाइ छ ।

प्रकाशित : श्रावण १८, २०७७ १६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×