धरानमा थप ९ जनामा देखियो कोरोना- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा थप ९ जनामा देखियो कोरोना

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा आइतबार एकैपटक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि भएकाहरुमा धरान–१३ बस्ने कोरोना संक्रमित युवा काम गरेको धरान ८ तीनकुनेस्थित धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत ५ जना र एन्फा क्वारेनटाइन बसेका ४ जना रहेका छन् ।


धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान औद्योगिक क्षेत्रको प्रिति भल्व उद्योगमा काम गर्ने २ जना कर्मचारीका परिवारमा संक्रमण देखिएको हो । एक जनाको स्थायी घर विराटनगर र अर्को स्थायी घर जनकपुर हो ।

विराटनगर घर हुने कर्मचारी धरान–१ मा बस्छन् भने जनकपुर घर हुने परिवारसति धरान ८ मा बस्छन् । जनकपुर घर भएका कर्मचारीका श्रीमती, छोरी र वर्षीय छोरालार्ई संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुखले भने, ‘अन्य चारजना पुरुष भारतीय गोर्खा सेनामा कार्यरत सैनिकहरु हुन् । उनीहरु साउन १४ गते आएर धरान १७ एन्फा क्वारेनटाइनमा बसेका थिए । उनीहरू भारतको मणिपुरबाट आएको बताइएको छ । उनीहरु सबैको घर धरान नै हो ।’

साउन १५ गते ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा थप नौ जनामा कोरोना पोजिटिभ देखिएको हो । थपिएका संक्रमितसहित धरानमा कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ । संक्रमित सबैलाई आइतबारै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसन सेन्टरमा पठाइएको छ ।

सरकारले लकडाउन खोल्नासाथ स्थानीयस्तरमै कोरोना संक्रमितको संख्या बढ्नुमा सर्वसाधारणको लापरबाही मुख्य कारण रहेको चिकित्सकहरुले बताएका छन् । बीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख समेत रहेका कोभिड–१९ र्‍यापिड रेस्पोन्स टिमका सदस्य प्रा.डा संजिव शर्माले स्थानीयस्तरमा फैलिएको कोरोना संक्रमणबाट बच्न आफै सचेत र सर्तक हुनुको विकल्प नरहेको बताए ।

यसैबीच धरानमा कोरोना सक्रमण बढेपछि उपमहानगरपालिकाले ‘र्‍यान्डम स्याम्लिङ’ विधि अनुसार पीसीआर परीक्षण गर्ने भएको छ । धरानका २० वटा रहेकामा प्रति वार्ड १० जनाको दरले पीसीआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बतााए ।

प्रकाशित : श्रावण १८, २०७७ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्

भिक्षु ज्ञानपूर्णिक महास्थविर : जसले सात समुद्रपारि बुद्धशिक्षा फैलाए

भिक्षु निग्रोध

झन्डै ७० वर्षअगाडिको समय । चन्द्रमाया शाक्य कान्छो छोरालाई डोर्‍याउँदै भिक्षु बुद्धघोष महास्थविरसमक्ष पुगिन् । अनि ११ वर्षे छोराको हात बुद्धघोषको हातमा थमाउँदै अनुनय गरिन्– यसलाई भिक्षु बनाइदिनु पर्‍यो ।

त्यति बेला उनले सायदै सोचेकी हुँदी हुन्– आफ्नो छोरा सामान्य भिक्षुभन्दा धेरै अघि बढेर अन्तर्राष्ट्रिय परिचय बनाउला । सयौं शिष्यहरूको अगुवाइ गर्न सक्ला ।

अनि बुद्धघोष (नेपालका पाँचौं संघनायक) ले पनि त्यही सानो बालकले कुनै दिन भिक्षु ज्ञानपूर्णिक बनेर संसारका कुनाकुनामा बौद्धशिक्षा फैलाउँदै आफ्नो नाम धन्य पार्ला भन्ने सायद सोचेका थिएनन् ।

नेपालका सातौँ पूजनीय संघनायक हुनुहुन्थ्यो डा. भिक्षु ज्ञानपूर्णिक महास्थविर । वि.सं. १९९६ मंसिर ६ गते पाल्पा सदरमुकाम तानसेनमा जन्मनुभएका उहाँको गृहस्थ नाम हिरालाल शाक्य हो । तानसेनको टक्सारस्थित शील पाठशालामा प्रारम्भिक शिक्षा अध्ययन गरेका उहाँले बुद्धघोषको छत्रछाया र सामीप्यमा रही केही वर्ष बुद्धशिक्षा र पालि भाषाको प्रारम्भिक ज्ञान लिनुभयो । यस क्रममा उहाँलाई पहिलो थेरवादी भिक्षु महाप्रज्ञा, प्रथम संघमहानायक प्रज्ञानन्द, आचार्य भिक्षु अमृतानन्दजस्ता वरिष्ठ भिक्षुहरूको प्रेरणा र आशीर्वाद प्राप्त भयो । १६ वर्षकै उमेरमा बुद्धधर्मको उच्चशिक्षा त्रिपिटक अध्ययनका लागि भारत हुँदै बर्मा पुग्नुभयो ।

सन् १९५६ अगस्ट १५ का दिन बर्माका अग्गमहापण्डित भिक्षु विशुद्धाभिवंस महास्थविरबाट श्रामणेर दीक्षा लिएपछि हिरालाल शाक्य श्रामणेर ज्ञानपूर्णिकका नामबाट बुद्धशासनमा प्रवेश गर्नुभयो । बर्मामै सन् १९५९ अप्रिल १२ का दिन बीस वर्षको उमेरमा अभिधज राष्ट्रगुरु सयादो सुरियाभिवंश महास्थविरबाट भिक्षु उपसम्पदा (पूर्ण भिक्षुत्व)को दीक्षा लिनुभयो । अनि यांगुनस्थित छैटौँ संगायना सम्पन्न भएको महाखन्ध सीमा उपोसथागारमा उहाँको पूर्ण भिक्षुत्व जीवन प्रारम्भ भयो । बर्मामा ११ वर्षसम्म रहेर ज्ञानपूर्णिकले सन् १९६३ मा शासनधज धम्माचरीय उपाधि पाउनुभयो । बर्माको इतिहासमा पालि शिक्षामा धम्माचरीय प्राप्त गर्ने पहिलो विदेशी नेपालकै धम्मवती गुरुमा हुनुहुन्थ्यो । भिक्षुमा भने ज्ञानपूर्णिक नै हुनुभयो ।

उहाँले रंगुनस्थित विशुद्धाराम पालि तक्षशिला एवं माण्डलेस्थित विज्जालंकार विद्यालयमा विविध विषयमा थप उच्च अध्ययन गर्नुभयो । यसै क्रममा उहाँको बौद्ध साहित्यिक यात्रा पनि सुरु भयो । सन् १९६४ देखि १९६६ सम्म बर्माकै बुद्धशासन काउन्सिलको प्रकाशन संस्थामा पालि–बर्मिज विश्व शब्दकोषको सम्पादनमा महत्त्वपूर्ण योगदान दिनुभयो । उहाँले बौद्ध साहित्यका ६० भन्दा बढी ग्रन्थ लेखन, अनुवाद तथा सम्पादन गर्नुभएको छ । यिनमा त्रिपिटक मूल ग्रन्थअन्तर्गत सूत्रपिटकका पायासि–सूत्र, नवपरित्राण निश्रय, विनयपिटकको उभयपातिमोक्ख तथा अभिधर्मपिटकको अभिधर्मार्थ संग्रह उल्लेख्य छन् ।

बुद्धधर्मको उच्च अध्ययनपछि ज्ञानपूर्णिकले विपश्यनाचार्य भिक्षु शोभन महास्थविर (महाशी सयादो)को छत्रछायामा रही विपश्यना ध्यान सिक्नुभयो । बर्मामा अध्ययनपछि भारतको वाराणसी संस्कृत विश्वविद्यालयबाट संस्कृतमा स्नातक गर्नुभयो । त्यसपछि नेपाल फर्किएर पाटनस्थित सुमंगल विहारमा बस्दाबस्दै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्म अध्ययन गर्नुभयो ।

यही क्रममा बर्माका महाशी शासन येइता, ध्यानकेन्द्रका प्रमुख ध्यानगुरु ओवादाचरिया महाशी सयादोले भारत र नेपालको भ्रमण गर्नुभयो । त्यस क्रममा उहाँले दिनुभएको उपदेशलाई ज्ञानपूर्णिकले भाषानुवाद गरिदिनुभयो । यससँगै ज्ञानपूर्णिकको व्यक्तित्व अझ उजागर हुँदै गयो । बुद्धधर्मको प्रचारकका रूपमा उहाँ राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमै परिचित हुनुभयो ।

कुशल धर्म प्रचारक तथा प्रवचक, ग्रन्थकारका रूपमा समेत ज्ञानपूर्णिकको परिचय फैलियो । उहाँ नेपालभाषा, नेपाली, हिन्दी, अंग्रेजी, पालि, संस्कृत र बर्मी गरी ७ भाषाका ज्ञाता हुनुहुन्थ्यो । सन् १९७९ मा मंगोलियाको राजधानी उलानबटोरमा पाँचौं शान्तिका लागि एसियाली बौद्ध सम्मेलनमा नेपालका तर्फबाट आचार्य भिक्षु अमृतानन्द महास्थविरको नेतृत्वमा टोली गएको थियो । त्यसमा ज्ञानपूर्णिक पनि सहभागी हुनुहुन्थ्यो । उहाँ धर्मदूत सेवा अभियानअन्तर्गत सन् १९८२ मा इंग्ल्यान्डमा २ वर्ष रहनुभयो । यसै दौरान सन् १९८२ मा तत्कालीन सोभियत संघको राजधानी मस्कोमा आयोजित विश्व शान्ति सम्मेलन तथा छैटौँ एसियाली बौद्ध सम्मेलनमा सक्रिय हुनुभयो ।

यही बहुआयामिक क्षमता र योगदानको कदरस्वरूप उहाँलाई अमेरिकाबाट निम्तो आएपछि एक वर्षसम्म त्यहाँको नेस्भिल टेनिसस्थित बुद्धिस्ट टेम्पलको विहार प्रमुखका रूपमा खटिनुभयो । त्यसपछि ध्यानका कर्मस्थानाचार्य पण्डिताभिवंश महास्थविरको प्रमुख भाषा अनुवादकका रूपमा विभिन्न देश पुग्नुभयो । युरोपका फ्रान्स, जर्मनीलगायत थुप्रै देशमा सञ्चालित ध्यान–शिविरहरूमा खटिनुभयो । सन् १९८४ देखि १९८८ को अवधिमा उहाँले मलेसिया, जापान, साइबेरिया, इन्डोनेसिया, सिंगापुर, श्रीलंका, थाइल्यान्ड तथा अस्ट्रेलियासम्म पुगी बुद्धका जीवनोपयोगी शिक्षा र ध्यानबारे प्रचार–प्रसार गर्नुभयो ।

थेचोस्थित बेलुवनाराम विहार, मंगलबजार पटकोस्थित मणिमण्डप विहार र बानेश्वरमा रहेको विश्व शान्ति विहार ज्ञानपूर्णिकले नै स्थापना गर्नुभएको हो । शंखमूलमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको स्थापनामा पनि उहाँको भूमिका छ । नेपालमा बुद्धशिक्षा परियत्ति विकासका लागि उहाँले परीक्षा नियन्त्रक, शिक्षाध्यक्षलगायत विभिन्न पदमा रही ५० वर्षसम्म निरन्तर योगदान पुर्‍याउनुभयो ।

ज्ञानपूर्णिकले नेपाली भिक्षुसंघको छाता संगठन अखिल नेपाल भिक्षु महासंघसँगै नेपालको ज्येष्ठ बौद्ध संस्था धर्मोदय सभाको पनि नेतृत्व गर्नुभयो । त्यसै गरी नेपालमा विपश्यना प्रचारका निमित्त अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र स्थापनासँगै ध्यान र अभिधर्मसम्बन्धी पुस्तक पनि प्रकाशन गर्नुभयो ।

उहाँको व्यक्तित्व र कृतित्वको कदर गर्दै बर्माको विपश्यना केन्द्रबाट कर्मस्थानाचार्य उपाधिबाट विभूषित गरिएको छ । त्यस्तै सन् २००१ मा म्यानमार सरकारका तर्फबाट उहाँ अग्गमहासद्धम्मजोतिकधज तथा सन् २०१३ मा अग्गमहापण्डितको उच्च धार्मिक पदबाट पूजित हुनुभयो । सन् २०१३ मै थाइल्यान्डको महामुकुट बुद्धिस्ट विश्वविद्यालयबाट ‘बुद्धिस्ट स्टडिज’ विषयमा ‘डक्टर अफ फिलोसोफी’ उपाधि प्रदान गरियो । सन् २०१६ मा महाचूलालोङ्गर्कन राजविद्यालयबाट पनि ‘डक्टरेट डिग्री अफ पीएडी इन पालि’ उपाधिले विभूषित हुनुभयो । यो हामी सबै नेपालीका लागि गर्वको विषय हो । उहाँले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै बुद्ध जन्मभूमिलाई विश्वसामु चिनाउन योगदान पुर्‍याउनुभयो ।

हालै भारत सरकारले गठन गरेको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनमा उहाँ नेपालको प्रमुख प्रतिनिधि हुनुहुन्थ्यो भने चीनमा स्थापित विश्व बुद्धिस्ट मञ्चमा पनि स्थापनाकालदेखि नै सदस्यका रूपमा योगदान पुर्‍याउँदै आउनुभएको थियो । उपसम्पदाको ५० वर्षको स्वर्णदिवसका उपलक्ष्यमा नेपाली बौद्ध जगत्का थुप्रै संघसंस्थाको संयुक्त आयोजनामा प्रथम राष्ट्रपति डा. रामवरण यादवको तर्फबाट उहाँलाई नागरिक अभिनन्दनसमेत गरिएको थियो । उहाँको संयोजकत्वमा स्थापित थेरवाद बुद्धिस्ट एकेडेमीका तर्फबाट सन् २०१४ मा लुम्बिनीमा भव्यतापूर्वक अन्तराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरियो ।

नेपालको बुद्धधर्म, बौद्ध शिक्षा एवं संस्कृतिको उत्थानको निमित्त जीवन समर्पण गरेका ज्ञानपूर्णिक नेपालमा प्रव्रज्यितहरूको दक्ष जनशक्ति उत्पादन र संघविस्तारमा निरन्तर लाग्नुभयो । यसै क्रममा प्रव्रज्यितहरूको संख्यात्मक र गुणात्मक रूपमा नयाँ पुस्ता तयार गर्न विश्व शान्ति बौद्ध शिक्षालय तथा थेरवाद बुद्धिस्ट एकेडेमी स्थापना गर्नुभयो । अहिले पनि गोदावरी, बडीखेलमा विपश्यना धम्माराम ध्यानकेन्द्र बन्दै छ । उहाँको नेतृत्वमा सयभन्दा बढी शिष्य दीक्षित भइसकेका छन् ।

छैटौँ संघनायक भिक्षु अश्वघोष महास्थविरको देहावसानपछि २०७६ वैशाख १ गते ज्ञानपूर्णिक नेपालको सातौँ संघनायकका रूपमा पदासीन हुनुभयो । पछिल्लो चरणमा सन् २०१९ मा नेपाल सरकारको तर्फबाट उहाँलाई परमपूज्य पदबाट सम्मानित पनि गरिएको थियो । त्यस्तै २०१९ जुन १६ का दिन बर्माको इन्टरनेसनल एसोसिएसन अफ थेरवाद युनिभर्सिटीको बोर्ड बैठकले उहाँलाई उपाध्यक्ष पदमा मनोनीत गरेको थियो ।

तर आज भिक्षु ज्ञानपूर्णिक हाम्रा सामु हुनुहुन्न । लामो समयदेखि मधुमेह रोगबाट पीडित उहाँले संसारको अनित्य र अनात्म स्वभावलाई हृदयंगम गर्दै गत असार १९ गते नश्वर देह त्याग गर्नुभयो । उहाँको सुगतिसहित निर्वाण कामना गर्दछौं ।

अनिच्चावत संखारा ।


(भिक्षु निग्रोध विश्व शान्ति विहारका उपप्रमुख तथा लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष हुन्)

bhantez@gmail.com

प्रकाशित : श्रावण १८, २०७७ १४:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×