१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जग्गा फुकुवा माग गर्दै सिराह मालपोत कार्यालय घेराउ

भरत जर्घामगर

सिरहा — जग्गाधनी प्रमाण पुर्जा भए पनि मालपोत कार्यालयले अद्यावधिकको नाममा रोक्का जग्गा फुकुवाको माग गर्दै बुधबार पीडित जग्गाधनीहरुले लहानस्थित मालपोत कार्यालय घेराउ गरेका छन् ।

जग्गा फुकुवा माग गर्दै सिराह मालपोत कार्यालय घेराउ

लहान नगरपालिकाभित्र रहेका बहाल विटौरी र गाउँब्लकका जग्गाहरुको श्रेस्ता मालपोत कार्यालयले अद्यावधिकमा आलटाल गरेपछि मालपोत कार्यालय घेराउ गर्न पीडित पुगेका थिए । मालपोत कार्यालयभित्र प्रवेश गर्न खोजेपछि केहीबेर पीडित र प्रहरीबीच झडप भएको थियो ।

जग्गा फुकुवा नहुँदा लहान बजार क्षेत्रका १ हजार २ सय ८ परिवारको जग्गा किनबेच, धितो, अंशवण्डालगायतका काम हुन सकेको छैन । मालपोत कार्यालयले फुकुवा गर्ने कार्य अगाडि नबढाएपछि विरोधमा उत्रिन बाध्य भएको बहालविटौरी तथा गाउँब्लक जग्गा संघर्ष समितिका संयोजक विजय गुप्ताले जानकारी दिए ।

‘हामीले पटक-पटक जग्गा अद्यावधिक गर्न मालपोत कार्यालयलाई मौखिक रुपमा आग्रह गर्दै आएका छौं, लिखित रुपमा पनि माग गरेका छौं,’ उनले भने, ‘तर मालपोतका कार्यालय प्रमुखले अद्यावधिकको नाममा सम्पूर्ण कार्य रोकी सर्वसाधारणलाई बिनाकारण दुःख दिइरहेका छन् ।’ उनले आफूहरुसँग लालपुर्जा भए पनि कारोबार गर्नबाट बञ्चित भएको गुनासो गरे ।

लहान नगरपालिकाअन्तर्गत रहेको गाउँब्लक जग्गाहरु २००४ सालमा नापी गरी श्रेस्ता कायम गरिएको थियो । त्यस जग्गामध्ये बजार क्षेत्रको सिंगराही मटिअर्वा, बैरिया गोपालखोन्ही र रघुनाथपुर मौजामा पर्ने जग्गा तत्कालीन सरकारले भन्सार विभागबाट २०१० सालमा बहाल बिटौरी लगाउने गरी नापी भएको थियो । जग्गाको नापी श्रेस्ता कायम गरी लगतका आधारमा वार्षिक बालबिटौरी असुल तहसिल गर्न स्थानीय निकाय तत्कालीन लहान बजार आदर्श गाउँ पन्चायतलाई श्रेस्ता हस्तातरण भएअनुरुप स्थानीय निकायले बालबिटौरी असुल तहसिल गर्दै आएको छ ।

सरकारको नीतिअनुरुप २०२६ सालमा खाली जग्गा नाप नक्सा गरी जग्गाधनीलाई दर्ता श्रेस्ता कायम गरी जग्गाधनी दर्ता प्रमाण पुर्जासमेत वितरण गरिएको थियो । मालपोत कार्यालय लहानका प्रमुख चिरन्जीवी कोइरालाले पीडित जग्गा धनीको मागको बारेमा कार्यान्वयनका लागि मन्त्रालयमा पहल गर्ने जानकारी दिए ।

प्रकाशित : श्रावण १४, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?