उपचार सेवा यथावत् राखी बीपी प्रतिष्ठानमा 'लकडाउन'

प्रदीप मेन्याङ्बो

सुनसरी — उपचार सेवा यथावत् राखी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारदेखि 'लकडाउन' गरिएको छ । प्रतिष्ठान हाताभित्रको आवासीय क्षेत्रभित्र बसेका व्यक्तिमा र प्रतिष्ठानमा उपचार गर्न आएका केही बिरामीमा पनि कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि 'लकडाउन' गरिएको हो ।

उपचार सेवा यथावत् राखी बीपी प्रतिष्ठानमा 'लकडाउन'

प्रतिष्ठानहाता लकडाउन गरे पनि नियमित उपचार सेवा, ओपिडी सेवा, आकस्मिक कक्ष र अन्य विभाग भने यथावत रहने भएका छन् ।

प्रतिष्ठानहाताभित्रको आवासीय क्षेत्रमा ५ सय चिकित्सक, ६ सय नर्स, १ हजार कर्मचारी गरी २ हजारभन्दा बढी परिवार ६ सय वटा घरहरुमा बस्ने गरेका छन् । प्रतिष्ठान हाताभित्र बस्नेहरुको जनसंख्या १५ हजार बढी छ । त्यसबाहेक १५ सय विद्यार्थी र नर्स पनि आवासीय क्षेत्रको होस्टलमै बस्ने गरेका छन् । प्रतिष्ठानका रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मीले भने, ‘प्रतिष्ठानको आवसीय क्षेत्रमा बसेका एक चिकित्सकका श्रीमान्‌मा कोरोना संक्रमण पुष्टिपछि लकडाउन गरिएको हो । यो लकडाउन कम्तीमा १० दिनसम्म लम्बिन सक्छ ।’ उनकाअनुसार आवास र छात्रबास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तिनका परिवारलगायत विद्यार्थीहरुलाई अत्यावश्यक कामबाहेक आवासबाहिर जान नपाउने सूचना सर्कुलर जारी गरिएको छ ।

प्रतिष्ठान हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँड्डुल गरेको पाइएमा सुरक्षाकर्मीबाट कारबाही हुने पनि सूचनामा उल्लेख गरिएको रजिष्टार रेग्मीले बताए । उनले प्रतिष्ठानको आवासीय क्षेत्रबाट बाहिर वा अन्यत्र स्थान जानु परेमा पूर्वस्वीकृति लिनु पर्ने बताए ।

उनले प्रतिष्ठानमा उपचार सेवाका लागि आउने बिरामी तथा तिनका कुरुवाहरुलाई पनि कडाई गरिने बताए । प्रतिष्ठान बाहिरका कुनै पनि व्यक्तिलाई अस्पतालको ओपीडी, वार्डमा पास लिएर मात्र जान पाउने तर आवास क्षेत्रमा प्रवेश गर्न पूर्वस्वीकृति लिनु पर्ने रेग्मीले बताए ।

प्रकाशित : श्रावण १४, २०७७ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?