कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बीपी प्रतिष्ठानबाट डिस्चार्ज भएका बिरामीमा कोरोना

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएका एक बिरामीमा कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानको सर्जरी विभागबाट घर पठाइएका उनको पीसीआर रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएको हो ।

बीपी प्रतिष्ठानबाट डिस्चार्ज भएका बिरामीमा कोरोना

करिब १० दिनअघि धुलिखेलमा गरिएको परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । छातीमा क्यान्सर भएपछि गत आइतबार प्रतिष्ठानमा भर्ना भएका विराटनगरका ती व्यक्तिको शल्यक्रिया गर्नुपर्ने देखिएपछि फेरि पीसीआर जाँच गरिएको थियो । तर, थाइराइड पनि देखिएकाले शल्यक्रिया रद्द गरेर चिकित्सकले केही दिनका लागि डिस्चार्ज गरेका थिए । घर पठाएको भोलिपल्टै कोरोना पोजिटिभ देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले बताए । ती व्यक्तिलाई अहिले विराटनगरस्थित आइसोलेसन सेन्टरमा राखिसकिएको छ ।

प्रवक्ता सापकोटाका अनुसार ती बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका ६ चिकित्सक, ६ नर्स, ६ हेल्पर र उक्त वार्डमा ड्युटी बसेका थप ८ नर्स सेल्फ क्वारेन्टाइनमा बसेका छन् । एक सातापछि उनीहरूको पीसीआर जाँच गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कोभिड–१९ र्‍यापिड रेस्पोन्स टिमका एक चिकित्सकले भने, ‘संक्रमितको सम्पर्कमा आएलगत्तै पीसीआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आउन सक्ने भएकाले एक साता पछि गर्ने तयारी गरिएको हो । उक्त वार्डमा बसेका र डिस्चार्ज भएका आठ–नौ जना बिरामीको पनि कन्ट्याक्ट ट्रेसिङ गर्ने काम हुँदै छ ।’

यसैबीच प्रतिष्ठानमै कार्यरत एक चिकित्सकका श्रीमान्को पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ । उनी गत साता वीरगन्ज पुगेर आएका थिए । संक्रमितलाई बुधबार प्रतिष्ठानको आइसोलेसन सेन्टरमा राखिएको छ भने चिकित्सकलाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रकाशित : श्रावण १४, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?