विराटनगरमा थपिए १६ संक्रमित

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकामा थप १६ जनालाई कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितमध्ये विराट नर्सिङ होमकी एक महिला चिकित्सक र दुई जना कर्मचारी छन् ।

विराटनगरमा थपिए १६ संक्रमित

महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार ५ महिला र ११ पुरुषमा कोरोना देखिएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ ।

यसैबीच कोसी अस्पतालको पोष्ट न्याटल वार्डमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएपछि उक्त वार्ड सिल गरिएको छ । विराट नर्सिङ होम र प्रदेश प्रहरी कार्यालय बिहीबारदेखि सिल गरिएको छ । प्रदेश प्रहरी कार्यालयमा कार्यरत २४ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, विराटनगरसँगै जोडिएको कटहरी गाउँपालिकाकी एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले महानगरमा समुदायमै कोरोना फैलिएको र त्यहाँबाट यस गाउँपालिकामा पनि सर्न थालेकाले गाउँपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा अर्को सूचना नहुञ्जेलसम्मका लागि बन्द गरेको बताए ।

बुढीगंगा गाउँपालिकाले पनि विराटनगरसँग जोडिएको साप्ताहिक हाट नलगाउने निर्णय गरेको छ ।

मोरङमा मंगलबार विराटनगरमा १६ र कटहरीमा १ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लामा संक्रमितको संख्या २ सय ८७ पुगेको छ । ती मध्ये १ सय ९३ जना निको भएर घर फर्किसकेका छन् ।

प्रदेश १ मा मंगलबारसम्ममा ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको र त्यसमध्ये ७ सय ४७ जना निको भएर घर फर्किसकेका छन् भने २ सय १९ जना कोभिड-१९ उपचार केन्द्रमा चिकित्सकको निगरानीमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा मंगलबारसम्ममा ४० हजार ८ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित : श्रावण १३, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?