कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

म्याद गुज्रिएको स्मार्ट लाइसेन्स वितरण

यातायात व्यवस्था कार्यालयको लापरबाही
विनोद भण्डारी

इटहरी, सुनसरी — स्मार्ट लाइसेन्स लिन चार वर्ष पहिला आवश्यक राजस्व तिरेर यातायात व्यस्था कार्यालय इटहरीमा लाइसेन्स नविकरण गर्न दिएका विराटनगर–४ का रेवतबहादुर खड्काको लाइसेन्स हातमा पर्नु पहिले नै म्याद सकिएको पाइएको छ । 

म्याद गुज्रिएको स्मार्ट लाइसेन्स वितरण

लाइसेन्स नविकरण गर्न दिएपछि उनले चार वर्षमा २७ पटकसम्म कार्यालयमा पुगेर आफनो लाइसेन्स आए नआएको तकेता गरे । हरेक पटकको ताकेतामा कार्यालयका कर्मचारीले आइनपुगेको बताए । कार्यालयमा लाइसेन्स आएको जानकारी पाएपछि उनले बिहीबार ०१–०२–००४६८८५१ नम्बरको आफ्नो लाइसेन्स यातायात कार्यालयबाट लिए तर उक्त लाइसेन्सको म्याद २०१९ मे १८ मा सकिएको उल्लेख गरिएको छ ।

खड्काले भने, ‘मेरो लाइसेन्स त हात पर्नु पहिला नै रिन्यु फेल भइसकेछ । मोटर साइकलसहित साना सवारी साधान जीप, कार, ट्याक्सी कुदाउन पाउने उनको लाइसेन्स चार वर्ष पहिला रिन्यु फेल भएर दुई हजार रुपैयाँ राजस्व तिरेर रिन्यु गर्न दिएका थिए ।

बिहीबार लाइसेन्स हात पर्ने बित्तिकै खड्काले फेरि रिन्यु गर्न दिए । त्यसबेला कार्यालयले उनलाई दुई सय प्रतिशत जरिवाना दुई हजार राजस्व तिर्दा पुग्नेमा ६ हजार रुपैयाँ तिरायो । खड्काले भने, ‘यो त डकैती नै भो नि । रिन्यु गर्न दिएको लाइसेन्स कार्यलयले साढे चार वर्षसम्म नदिएर म्याद गुज्रिएपछि दिने अनि उल्टै दुई सय प्रतिशत जरिवाना लिने यो कुन कानुन हो । यो त आफै धामी आफै झाँक्री जस्तो भयो ।’

उर्लावारीका विष्णु घिमिरेले पनि यातायात कार्यालयबाट बिहीवार नै एक वर्ष पहिला नै म्याद सकिएको स्मार्ट लाइसेन्स हात पारे । ०१–०२–००६०४२०० नम्बरको उक्त लाइसेन्सको म्याद एक वर्ष पहिला नै सकिएको उल्लेख छ । ‘मैले पनि पाँच वर्ष पहिला लाइसेन्स रिन्यु गर्न कार्यालयमा छाडेको थिए । बीचमा बारम्बार ताकेता गर्दा कर्मचारीले तपाईंको लटको लाइसेन्स प्रिन्ट नै भएको छैन भन्ने जवाफ दिए ।,’ उनले भने । उनले पनि फेरि रिन्यु गर्न दिँदा ६ हजार तिर्नुपर्‍यो ।

यातायात कार्यालय परिसरमा भेटिएका ट्याक्सी चालक सुरेन्द्र चौधरीले भने, ‘लाइसेन्स रिन्यु गर्न दिएको चार वर्ष बित्यो । अहिलेसम्म आएको छैन ।’ यातायात कार्यालयले दिएको रसिद देखाउँदा ट्राफिक प्रहरीले दुःख दिन गरेको उनले बताए ।

लकडाउनको समयमा लाइसेन्सको म्याद गुज्रिएका सेवाग्राहीलाई पनि यातायात कार्यालय इटहरीले जरिवाना गरेको पाइएको छ । २०७६ चैतसम्म लाइसेन्सको म्याद भएका विराटनगर–४ का महोमद उजीरलाई गत बिहीबार लाइसेन्स रिन्यु गर्न दुईसय प्रतिशत जरिवाना लिएको छ । ०२६३२९६ नम्बरको उनको लाइसेन्सको म्याद २०७६ चैत १ गतेसम्म उल्लेख छ । जुनसुकै लाइसेन्सको म्याद सकिएको ९० दिनसम्म मान्नेता दिने प्रचलन छ । तर त्यही समयमा लकडाउन सुरु भयो । उजीरले भने लकडाउन खुलेपछि बिहीबार लाइसेन्स रिन्यु गर्न जाँदा एक हजार राजस्व लाग्ने ठाउँमा तीन हजार तिर्नुपर्‍यो । लकडाउनको समयमा सरकारले कसैलाई पनि जरिवाना नलिने भनेको थियो ।

पहाडी जिल्ला तेह्रथुम, संखुवासभा, खोटाङ, ओखढुङगा, भोजपुरबाट आएका सेवाग्राही यो कार्यालयबाट बढी प्रभावित भएको पाइएको छ । भोजपुर कुलुङका नविन राई लाइसेन्स नविकरण गर्न दिएको दुई वर्ष बित्दापनि अझै हात नपरेको गुनासो गर्छन् । ‘१५ पटक लाइसन्सको लागि धाएँ । हरेक पटक आउँदा र जाँदा दुई हजार भन्दा बढी रकम खर्च हुन्छ,’ उनले भने, ‘लाइसेन्स नविकरण गर्न दिएदेखि अहिलेसम्म धाउँदा ३० हजार खर्च भइसक्यो तर लाइसेन्स आएको छैन ।’

‘हामी लाइसेन्स वितरण मात्र गर्छौं । विभागले प्रिन्ट गर्ने हो ।,’ कार्यालयका निमित्त प्रमुख निर्मल मानन्धरले भने, ‘विभागले प्रिन्ट गरेर निकै ढिलो पठाउँदा अधिकांश सेवाग्राहीको लाइसेन्सको म्याद नै सकिएको पनि पाइएको छ । त्यसमा पनि प्रतिलिपी निकाल्ने बढी पीडित छन् ।’ विभागले ढिलो प्रिन्ट गरेर एकैचोटी ठूलो परिमाणमा लाइसेन्स पठाइदिँदा वितरण गर्नसमेत समस्या भएको उनले बताए । ‘यो कार्यालय प्रदेश मातहतको हो । तर संघको निगाहमा चल्नु परेको हो,’ मानन्धरले भने, ‘अहिले पनि संघको सफट्वेयरले चल्नु पर्दा जवाफदेहिता नहुँदा समस्या छ ।’ छिट्टै प्रदेश नियन्त्रित सफ्टवेयरको प्रयोग गर्ने तयारी भइरहेको पनि उनले बताए । उनले भने, ‘त्यसपछि केही सुधार होला ।’

प्रकाशित : श्रावण १३, २०७७ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?