पानी–बिजुली नभएकै आवासमा बस्न थाले सन्थाल

पर्वत पोर्तेल

झापाबजार (झापा) — झापा गाउँपालिका–१ का धुनीराम मुर्मु भूमिहीन हुन् । उनी बस्दै आएको सुकुम्बासी बस्तीमा साताअघि बाढी पसेपछि परिवारै नजिकैको स्कुलमा आश्रय लिन बाध्य भयो । 

पानी–बिजुली नभएकै आवासमा बस्न थाले सन्थाल

गत वर्ष वडा नम्बर २ मा गाउँपालिकाले भूमिहीन र अति विपन्न सन्थालका लागि भनेर २० वटा पक्की घर बनाएको थियो । तर पालिकाले हस्तान्तरण नगर्दा ती घर वर्षदिनदेखि रित्ता थिए ।

पालिकाले पटकपटक सूचना निकालेर घर दाबी गर्न आह्वान गर्दै आए पनि सन्थालहरू भने आफूहरूले थाहै नपाएको बताउँछन् । गत असार २६ मा तेस्रोपटक सूचना प्रकाशित गरी वडा कार्यालयको सिफारिससहित निवेदन मागिएको थियो । त्यही बेला सन्थाल गाउँमा बाढी पसेर करिब सय घर विस्थापित भएका थिए । तीमध्ये २० परिवार तिनै नयाँ घरमा गएर बसिदिए । ‘गाउँपालिकाले हाम्रा लागि घर बनाएर पनि दिन ढिलाइ गरिरहेको थियो, हामी भने स्कुलमा बस्न बाध्य थियौं’, धुनीरामले भने, ‘हाम्रा लागि बनेको घरमा बस्न थाल्यौं ।’ गाउँपालिका अध्यक्ष जयनारायण साहले २० परिवार आवासमा गएर बसेको जनाए । ‘पछि पुरानै घर फर्किए भने पनि ठिकै छ नत्र उनीहरूलाई यही घरमा बस्न दिने योजनामा छौं,’ उनले भने ।

संघीय सांसद एलपी साँवा लिम्बूले तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत करिब ९२ लाख बजेट उपलब्ध गराएका थिए । त्यही रकमबाट गाउँपालिकाले वडा नम्बर २ मा एकीकृत सन्थाल बस्ती बनाएको थियो । झापा, बिर्तामोडको समता कन्स्ट्रक्सन एन्ड सप्लायर्स कम्पनीले २० वटा घर तयार पारिदिएको हो । करिब १२ धुरमा बनेका प्रत्येक घरमा तीनवटा कोठा र शौचालय छ । ‘२० घरले जम्मा १ बिघा ९ कट्ठा ३ धुर जमिन ओगटेका छन्,’ गाउँपालिकाका सूचना अधिकारी हिमाल मिश्रले भने ।


गाउँपालिका अध्यक्ष साहका अनुसार घर हस्तान्तरणका लागि पालिकाले तेस्रो पटक सूचना प्रकाशित गरिसकेको छ । पहिलो र दोस्रो पटकको सूचनामा तीन जनाको मात्रै निवेदन परेको थियो । उनले भने, ‘पहिला २ नम्बर वडाका सन्थाललाई मात्र घर दिने योजना थियो, निवेदनै नपरेपछि पालिकाभित्रका सबै भूमिहीन र विपन्न सन्थाललाई आह्वान गरिएको छ ।’ गाउँपालिकाले साउन १५ भित्र निवेदन दर्ता गराउने अन्तिम म्याद तोकेको छ ।

स्थानीय इस्माइल सोरेन पालिकाले घर निर्माण गरिदिए पनि सन्थालहरू उक्त घरमा जान नमानिरहेको बताउँछन् । उनी भन्छन्, ‘घर पाएर मात्रै हुँदैन, गरिखाने जमिन छैन ।’ पालिकाका अधिकांश सन्थालले खेती–किसानी र मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । ‘घरसँग केही जमिन र पशुपालन गर्न पनि पाउनुपर्छ भन्ने हाम्रो माग हो’, सोरेन भन्छन्, ‘घर मात्रै पाएर हुँदैन, के खाने भने चिन्ता सबैमा छ ।’ सन्थाल आवासमा बिजुली र पानीको व्यवस्था अझै भएको छैन । पालिकाले केही दिनमा त्यसको व्यवस्था मिलाइने जनाएको छ ।


प्रकाशित : श्रावण १३, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?