कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विराटनगरमा 'ट्राभल हिस्ट्री' नभएका १४ जनामा कोरोना, संक्रमण समुदायस्तरमा पुगेको महानगरको निष्कर्ष

देवनारायण साह

मोरङ — विराटनगरमा 'ट्राभल हिस्ट्री' नभएका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले समुदायमा संक्रमण फैलिएको निष्कर्ष निकालेको छ । कतै नगएका व्यक्तिहरुमा संक्रमण देखिएकाले समुदायमै कोरोना फैलिएको निष्कर्ष निकालिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । 

विराटनगरमा 'ट्राभल हिस्ट्री' नभएका १४ जनामा कोरोना, संक्रमण समुदायस्तरमा पुगेको महानगरको निष्कर्ष

समुदायमा कोरोना फैलिएको भन्दै महानगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा सोमबारबाट बन्द गर्ने निर्णयसमेत भएको छ । यसका साथै महानगरमा लाग्दै आएको साप्ताहिक हाटबजार अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ । यस्तै, मास्क नलगाउनलेहरुलाई पहिलो पटक १० रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको महानगरकी उपप्रमुख इन्दिरा कार्कीले बताइन् ।

‘मास्क नलगाई पसल सञ्चालन गर्नेको १५ दिनसम्म पसल बन्द गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘सार्वजनिक स्थलमा भीडभाड नियन्त्रणका लागि महानगरस्थित सरकारी कार्यालयहरुको सेवा बन्द गर्नका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ ।’


कोरोना संक्रमण नियन्त्रणका लागि मास्क लगाउने, साबुनपानीले पटक पटक हात धुने, सेनिटाइज गर्ने, भीडभाडमा नजाने लगायतका जनचेतना अभिवृद्धि, समुदायस्तरमा स्वाब परीक्षणको काम भइरहेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

‘महानगरमा स्वाब परीक्षणको दायरा बढाउनका लागि प्रदेश सरकारसँग माग गरेका छौं,’ उनले भने, ‘यसअघि दैनिक ५० जनाको स्वाब संकलन भइरहेको थियो भने अहिले १ सय ५० देखि २ सय जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने गरेका छौं ।’

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले समुदायमा कोरोना फैलिएको खण्डमा संक्रमितहरुको संख्या पनि ह्वात्तै बढ्ने बताए । ‘समुदायमा फैलिए पहिलो दिन ५ जनामा संक्रमण पुष्टि भए अर्को दिन २५ जनामा संक्रमण देखिन्छ,’ उनले भने, ‘महानगरमा समुदाय स्तरमा स्वाब संकलन भइरहेको र त्यसको नतिजा नआउञ्जेल समुदायमै फैलिसकेको भन्न सकिँदैन ।’ तर महानगरभित्र समुदायमा फैलिएको भन्न मिल्ने विभिन्न कारण मध्ये एउटा ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा संक्रमण देखिनु रहेको मेहताको तर्क छ ।

प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरी, विराट नर्सिङ्ग होमका चिकित्सकलगायत हालसम्म विराटनगर महानगरभित्र ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रदेश १ मा शनिबारसम्ममा ८ सय ९१ जनामा संक्रमण पुष्टि भएको र त्यसमध्ये ७ सय ३५ जना निको भएर घर फर्किसकेका छन् भने १ सय ५६ जना कोभिड १९ उपचार केन्द्रमा चिकित्सकको निगरानीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

मोरङमा भने शनिबारसम्ममा २ सय २५ जनामा संक्रमण पुष्टि भएकोमा १ सय ८७ जना निको भएर घर फर्केका छन् भने ३८ जना चिकित्सकको निगरानीमा रहेका हुन् । यस प्रदेशमा शनिबारसम्ममा ३९ हजार १ सय १२ जनामा पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित : श्रावण ११, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?