१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लकडाउन खुलेपछि प्रदेश १ मा भारतबाट ६८५ आए, ४९९ बाहिरिए

देवनारायण साह

मोरङ — लकडाउन खुलेपछि प्रदेश १ का विभिन्न नाका हुँदै भारतबाट ६ सय ८५ जना नेपाल भित्रिएका छन् । भारतमा कोरोना महामारीले भयावह रुप लिइरहेका बेला नेपाल भित्रिने क्रम बढेको भन्दै स्थानीयहरु भने संक्रमणको जोखिम बढेको बताउँछन् । 

लकडाउन खुलेपछि प्रदेश १ मा भारतबाट ६८५ आए, ४९९ बाहिरिए

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दिपक पोखरेलका अनुसार यसबीचमा ४ सय ९९ जना भारततर्फ गएका छन् । भारतबाट नेपाल प्रवेशका लागि प्रदेश १ मा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, मोरङको रानी र रंगेली तथा सुनसरीको भण्टाबारी नाका खुला गरिएको छ । यसरी भित्रिनेहरुलाई इलाम, झापा, मोरङ र सुनसरीस्थित होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहलाई क्वारेन्टाइनमा राख्नका लागि जिम्मा लगाउने व्यवस्था गरेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

होल्डिङ एरियाबाट जिम्मा लिएर गएपछि स्थानीय तहले उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरेपछि मात्रै घर जान दिने व्यवस्था मिलाइएको उनको भनाइ छ । सीमामा प्रहरीले कडाइ गरेको भनिए पनि सुरक्षाकर्मीको आँखा छलेर आउने जाने क्रम चलिरहेको जहदा–७ का वडाध्यक्ष भगवान बेसराले बताए । यसकारण पनि सीमा क्षेत्रका बासिन्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको उनले दाबी गरे । ‘आफ्नो वडामा भारतबाट कोही लुकिछिपी आएको सूचना पाउनासाथ क्वारेन्टाइनमा लगेर राख्ने गरेका छौं,’ उनले भने ।

लकडाउन अवधिमा प्रदेश १ का नाकाहरुबाट १९ हजार ४ सय ५८ जना भारतबाट नेपाल भित्रिएका थिए भने २८ हजार २ सय २२ जना भारततर्फ गएको प्रहरीको तथ्यांक छ ।

प्रकाशित : श्रावण १०, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?