कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

प्रदेश १ मा अब ड्यासबोर्डबाट मन्त्रालयहरूको अनुगमन

देवनारायण साह

मोरङ — प्रदेश १ मा मन्त्रालयहरूको कामको मूल्यांकन प्रक्रिया सुरु गरिएको छ । यसका लागि मुख्यमन्त्री ड्यासबोर्ड सफ्टवेयर सञ्चालनमा ल्याइएको छ ।

प्रदेश १ मा अब ड्यासबोर्डबाट मन्त्रालयहरूको अनुगमन

स्विस सरकारको सहयोगमा स्थापित ड्यासबोर्ड शुक्रबार मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । प्रदेशवासीलाई पारदर्शिता, जवाफदेहिता र सुशासनको प्रत्याभूति गराउन ड्यासबोर्डको शुभारम्भ गरिएको उनले बताए । ‘प्रदेशमा भइरहेको कामको प्रत्येक क्षण मन्त्रालयमै बसेर अनुगमन गर्न र आवश्यक निर्देशन दिन सक्षम भएका छौं,’ उनले भने, ‘ड्यासबोर्डले देखाएको परिणाम सामाजिक सञ्जालका साथै सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने व्यवस्था गरेका छौं ।’ अब चाँडै प्रदेशका १ सय ३७ वटै स्थानीय तहलाई समेत जोडेर विकास योजना र सेवा प्रवाह प्रभावकारी बनाइने मुख्यमन्त्री राईले बताए ।

‘ड्यासबोर्ड सफ्टवेयरमार्फत सबै मन्त्रालयको भौतिक–आर्थिक प्रगतिका साथै समयसीमाभित्र काम भए नभएको मुख्यमन्त्री र मन्त्रीहरूले दैनिक मूल्यांकन गर्नेछन्,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मुख्य सचिव दिनेश भट्टराईले भने ।

मन्त्रालय मातहतका विभाग, महाशाखा, शाखा, निर्देशनालयहरूले गर्ने योजना तथा आयोजनाका क्रियाकलाप र प्रदेश लेखा नियन्त्रण कार्यालयले दिने निकासा तथा भुक्तानीको प्रगति ड्यासबोर्डमा देखिने उनले जानकारी दिए ।

मन्त्रालयहरूको कार्यप्रगतिको अवस्था हरियो, नीलो, पहेँलो र रातो रंगले संकेत गरिन्छ । भट्टराईका अनुसार हरियोले कामको प्रगति राम्रो, नीलोले मध्यम, पहेँलोले सामान्य र रातोले जोखिमयुक्त रहेको दखाउँछ । ड्यासबोर्डमा सर्वसाधारणले प्रदेश सरकारको कामकाजबारे गुनासोसमेत गर्न मिल्ने व्यवस्था गरिएकाले आर्थिक अनियमितता न्यूनीकरणका साथै सुशासन कायम गर्न सहज हुने उनको भनाइ छ ।

प्रकाशित : श्रावण ९, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?