२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चिकित्सकमै संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल सिल

प्रदेश १ प्रहरी कार्यालय पनि सिल
देवनारायण साह

मोरङ — अस्पताल सञ्चालक तथा चिकित्सक नै संक्रमित भएपछि विराटनगर अस्पताललाई बिहीबार सिल गरिएको छ । उक्त अस्पतालमाथि संक्रमितको पहिचान लुकाएको आरोप समेत लागेको छ ।  

चिकित्सकमै संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल सिल

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘सिल गरेसँगै बिरामी र कुरुवालाई अस्पताल बाहिर आवतजावत गर्नमा रोक लगाइएको छ ।,’ उनका अनुसार अस्पतालमा रहेका चिकित्सक, बिरामीलगायत संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी अस्पताललाई सेनिटाइज गर्नुपर्ने निर्णय गरिएको छ ।

अस्पताल सञ्चालकमध्येका ६५ वर्षीय एक चिकित्सकको स्वाब परीक्षण रिपोर्टमा मंगलबार पोजिटिभ आएको थियो । रिपोर्ट पोजिटिभ देखिए पनि चिकित्सकले नाम, ठेगाना र मोबाइल नम्बर गलत दिएर स्वाब परीक्षण गराएको हुँदा विराटनगर महानगरलाई संक्रमित खोज्न हम्मेहम्मे परेको थियो ।

रिपोर्ट पोजिटिभ आएपछि चिकित्सक मंगलबार रातिबाटै सम्पर्कविहीन भएका थिए । उनको स्वाब विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल) बाटै संकलन गरेर परीक्षणका लागि कोसी अस्पताल लगिएको कार्कीले बताए । ‘स्वाब संकलन गर्ने क्रममा नै उहाँले आफ्ना नाम र मोबाइल नम्बर गलत लेखाउनु भएको थियो,’ उनले भने, ‘ठेगानामा विराटनगरमात्रै उल्लेख भएकाले उनलाई खोज्न महानगर र प्रहरीलाई ४० घन्टा लाग्यो ।’

चिकित्सकको उमेर ६५ भए पनि स्वाब संकलन गर्ने क्रममा ५० वर्षमात्रै लेखाएका थिए । उनले लेखाएको मोबाइल नम्बर धनकुटामा कार्यरत एक प्रहरीको रहेकोले महानगर र मोरङ प्रहरीले पहिचान लुकाएर स्वाब परीक्षण गराएको हुन सक्ने निष्कर्षमा पुगेका थिए ।

चिकित्सकको पहिचान लुकाउनेमा समग्र अस्पतालकै भूमिका रहेकोले सेनिटाइज गर्ने सम्पूर्ण खर्च अस्पतालले नै व्यहोर्नुपर्ने महानगरले निर्णय गरेको कार्कीको भनाइ छ ।

संक्रमण पुष्टि भएका उनै चिकित्सकले बुढीगंगा गाउँपालिकामा सञ्चालन गरेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल हालसम्म कुनै सावधानीबिना चलाइरहेका छन् । ती चिकित्सक संक्रमण पुष्टि भएको दिनसम्म मेडिकल कलेज र शिक्षण अस्पतालमा विद्यार्थी, कर्मचारी, चिकित्सक, बिरामी तथा कुरुवासँगको सम्पर्कमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले मेडिकल कलेज र शिक्षण अस्पताल सिल गरेर संक्रमण फैलिन नदिने सुरक्षात्मक तथा निदानात्मक उपाय अपनाउन माग गरे ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले कोभिड १९ का सम्बन्धमा सम्पूर्ण व्यवस्थापनको जिम्मा जिल्ला स्वास्थ्य कार्यालय मोरङ प्रमुख ज्ञानबहादुर बस्नेतलाई दिइएकोले व्यवस्थापनमा लागेको हुन सक्ने बताए । तर बस्नेतले मेडिकल कलेज र शिक्षण अस्पतालको विषयमा केही बताउन चाहेनन् ।

प्रदेश प्रहरी कार्यालय पनि सिल

प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ । बुधबार एक प्रहरी अधिकृतमा संक्रमण पुष्टि भएको र उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार ११ जनाको स्वाब परीक्षण गरिएकामध्ये थप ४ जनामा संक्रमण देखिएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले बताए ।

‘बिहीबार कार्यरत थप १ सय ५० जना प्रहरीको स्वाब नमुना संकलन गरिएको छ,’ उनले भने, ‘कार्यालय सिल गरेर सेनिटाइज गरिएको र सबै जना सेल्फ क्वारेन्टाइनमा बसिरहेका छौं ।’ प्रदेश प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा अनलाइनबाट दिने व्यवस्था गरेको पोखरेलले बताए ।

प्रकाशित : श्रावण ८, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?