१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

डोरी लगाएर चौंरीलाई तमोर तारियो

आनन्द गौतम

ताप्लेजुङ — तमोर नदी माथिका पुल बाढीले बगाएपछि ताप्लेजुङको ओलाङचुङगोलाका बासिन्दाले खोलापारि अलपत्र परेका चारवटा चौंरीलाई डोरी लगाएर तारेका छन् । बस्तीको पारिपट्टी दोङजेन खर्कमा चरनका लागि गएका चौंरी पुलका कारण फर्कन नसकेपछि डोरी लगाएर तारिएको हो । 

डोरी लगाएर चौंरीलाई तमोर तारियो

मंगलबार बिहान चौंरी बस्तीबाट खर्कमा पठाइएको थियो । त्यही दिन दिउँसो तमोर नदीमा बाढी आयो र पुल बगायो । खर्कमा गएका चौंरीको फर्कने उपाय भएन । दुई महिनाका सुत्केरी चौंरी नदीको बगरमा आएर घुम्न थालेका थिए । बस्तीमा आफ्ना बाच्छाबाच्छी कराएको आवाजले नदीमा हाम फाल्ने अवस्था भएपछि डोरी लगाएर यसरी तार्नुपरेको स्थानीय तेञ्जिङ वालुङले बताए ।

वालुङका अनुसार चौंरी भएको ठाउँमा पुग्न पशुधनीहरु चुङदाक, शेर्पा, छेतेन पाञ्जो, विष्णु शेर्पा र लाप्साङ शेर्पा पाँच घन्टाको पैदल बाटो घुमेर नदीपारि चौंरी भएको ठाउँमा पुगेका थिए । जोङगीनदेखि घुमेर पुगेका उनीहरुले चौंरीलाई डोरीले गलामा बाँधे र बस्ती नजिकका मानिसले तानेर चारैवटा सुत्केरी चौंरी यसरी नै ताने ।

डोरीले नतान्दा चौंरीहरुको दूध गानिन्ने, खोलामा पस्ने र बाढीले बगाउने जोखिम भएकाले यसरी तान्नुपरेको तेञ्जीङ बताए । पुल नहुँदाको अवस्थामा बर्सेनि यस्तो विधि अपनाउनु पर्ने उनीहरु बताउँछन् । एउटा चौंरीको मूल्य ८० हजारसम्म पर्ने र बचाउनु पर्ने भएकाले यस्तो विधि अपनाइएको स्थानीय छेतेन शेर्पा भोटेले बताए ।

प्रकाशित : श्रावण ८, २०७७ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?