बाढीले ओलाङचुङगोलामा दुईवटा पुल बगे

आनन्द गौतम

ताप्लेजुङ — तमोर नदीमा आएको बाढीले फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा दुईवटा पुल बगाएको छ । वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार बस्तीबाट दाङजेन जाने पक्की पुल र अर्को काठे पुल बगाएको हो ।

बाढीले ओलाङचुङगोलामा दुईवटा पुल बगे

उक्त पक्की पुल गत वर्ष मात्रै १२ लाख रुपैयाँमा बनाइएको थियो । मिक्वाखोला–५ पापुङ जाने काठको पुल भने दुई वर्षअघि २ लाख रुपैयाँमा बनाइएको वडा कार्यालयका कर्मचारी तेन्जिङ वालुङले बताए । उनका अनुसार बाढीले चिनियाँ ठेकेदारले ओलाङचुङगोलामा छाडेको एउटा गाडी पनि बगाएको छ । ‘बस्तीको उत्तरपट्टि राखिएको थियो, नदी भित्तासम्मै आएर बगायो,’ वालुङले मेसेन्जरमा भने, ‘गाडी कामै नदिने अवस्थामा पुगेको छ ।’

टिप्ताला भन्ज्याङदेखि सदरमुकाम फुङलिङसम्म सडक निर्माणका क्रममा चिनियाँ ठेकेदारले उक्त गाडीमा एक्स्काभेटरलगायत सामग्री ल्याएका थिए । तर सडक अवरुद्ध भएपछि गाडी त्यहीँ छाडेर गएका थिए ।

तमोरको उद्गमस्थलमा पोखरी फुटेर बाढी आएको अनुमान गरिएको वडाध्यक्ष शेर्पाले बताए । उनका अनुसार पानी पर्ने क्रम नरोकिएको र बाढी पनि नघटेकाले स्थानीय बाहिर निस्किएका छैनन् ।

प्रकाशित : श्रावण ६, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?