मोरङमा संक्रमित घटेसँगै रित्तिँदै क्वारेन्टाइन

मोरङका ९६ वटा क्वारेन्टाइनमध्ये ४६ वटा खाली भइसके । बाँकी ५० वटामा पनि ७ सय ७ जना मात्रै छन् । यहाँका कोभिड–१९ उपचार केन्द्रमा अहिले ९५ जना छन् । तीमध्ये मोरङका १९ जना मात्र हुन्  ।
देवनारायण साह

मोरङ — जिल्लामा भारतबाट आउनेहरू घटेसँगै संक्रमितको संख्यासमेत कम हुँदै गएको छ । खचाखच रहेका क्वारेन्टाइन क्रमशः खाली हुन थालेका छन् ।

मोरङमा संक्रमित घटेसँगै रित्तिँदै क्वारेन्टाइन

कतिपय स्थानीय तहमा क्वारेन्टाइनमा बस्नेको संख्या शून्यमा झरेको छ भने केहीमा पछिल्लोपटक तेस्रो मुलुकबाट ल्याइएकाहरूलाई राखिएको छ ।

जिल्ला प्रहरी मोरङको तथ्यांकअनुसार क्वारेन्टाइन स्थलमा मानिसको संख्या घट्दो क्रममा छ । विराटनगर महानगरले सञ्चालन गरेका सातवटा क्वारेन्टाइनमध्ये स्वागतम होटेल र शिवजी आधारभूत विद्यालयमा एकै जना छैनन् । अन्य ५ वटामा बस्नेको संख्या ८३ मा झारेको छ । उपमेयर इन्दिरा कार्कीले अहिले भारतबाट फर्कनेहरूको संख्या पातलिँदै गएको बताइन् । अहिले तेस्रो मुलुकबाट ल्याइएकाहरूलाई कडाइपूर्वक क्वारेन्टाइनमा राख्ने गरिएको उनको भनाइ छ ।

सुन्दरहरैंचा नगरपालिकामा सञ्चालित ४ वटा क्वारेन्टाइनमध्ये दुईवटा खाली छन् । अन्य दुईवटामा पनि ८ जना मात्रै रहेको प्रहरीको तथ्यांक छ । यस्तै, उर्लाबारी नगरपालिकामा ६८, रंगेलीमा ३८, बेलबारीमा ७६, रतुवामाईमा १ सय, पथरीशनिश्चरेमा २६, सुनवर्षीमा ५४, लेटाङ नगरपालिकामा २७ जना मात्र क्वारेन्टाइनमा छन् ।

मिक्लाजुङमा ८४, धनपालथानमा ७४, जहदामा ८, कटहरीमा १०, ग्रामथानमा १०, बूढीगंगामा २५, केराबारीमा २३ जना क्वारेन्टाइनमा छन् । यी पालिकाका झन्डै आधाजसो क्वारेन्टाइनस्थल भने रित्तिसकेका छन् । कानेपोखरी गाउँपालिकाका दुवै क्वारेन्टाइनमा एक जना पनि छैनन् ।

जहदा गाउँपालिका अध्यक्ष कैलास मण्डलले अहिले भारतभन्दा पनि तेस्रो मुलुकबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको बताए । क्वारेन्टाइनमा बस्नेको स्वास्थ्य परीक्षण गरेर मात्र घर फर्काइने गरेको उनले सुनाए ।

मोरङका ९६ वटा क्वारेन्टाइनमा ४ हजार १ सय ५७ पुरुष र ७ सय ४८ महिला गरी ४ हजार ९ सय ५ जना बसेको रेकर्ड छ । तीमध्ये घर फर्किनेको संख्या ४ हजार १ सय ९८ छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार शुक्रबारसम्म ५० वटा क्वारेन्टाइनमा ७ सय ७ जना मात्रै छन् । ४६ वटा क्वारेन्टाइन खाली भइसकेका छन् ।

अस्पतालमा पनि चाप कम

जिल्लामा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा पनि संक्रमितको संख्या घट्दै गएको छ । सुन्दरहरैंचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय र विराटनगरस्थित कोसी अस्पतालमा कोभिड–१९ उपचार केन्द्र सञ्चालन गरिएको छ ।

गोठगाउँमा भर्ना भएका ३ सय १० संक्रमितमध्ये शुक्रबारसम्म २ सय ३६ जना निको भएर घर फर्किसकेका छन् । यस्तै कोसी अस्पतालमा भर्ना भएका १ सय ७५ संक्रमितमध्ये १ सय ५४ जना निको भएका छन् । दुवै उपचार केन्द्रमा गरी अहिले ९५ जना संक्रमित मात्र छन् । तर यी संक्रमित मोरङका मात्र नभएर प्रदेशका अन्य जिल्लाका पनि हुन् । मोरङका मात्रै भने अहिलेसम्म १ सय ९४ संक्रमित भेटिएका छन् । तीमध्ये १ सय ७५ जना निको भइसके । १९ जना चिकित्सकको निगरानीमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच लकडाउनपछि जोगबनी नाका हुँदै शुक्रबारसम्म ३ हजार ३ सय २६ जना भारतबाट नेपाल फर्केका छन् । सातायता उक्त नाकाबाट आउनेभन्दा भारततर्फ जानेको संख्या बढी छ । शुक्रबारसम्म यहाँबाट ५ हजार ३ सय ८८ जना भारततर्फ गएको डीएसपी राईले जानकारी दिए ।

प्रकाशित : श्रावण ३, २०७७ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?