कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामान्य दिनचर्यामा फर्कंदै संक्रमणमुक्त भएकाहरू

सुम्निमा चाम्लिङ

इटहरी — इटहरीका ५० वर्षीय छटीलाल चौधरी डेढ दशकयता भारतको हरियाणामा इलेक्ट्रिसियनको काम गर्थे । व्यक्तिगत खर्च कटाएर घरमा पैसा पठाउन पुगेकै थियो । तर कोरोना भाइरसका कारण स्वदेश फर्कन पर्‍यो ।

सामान्य दिनचर्यामा फर्कंदै संक्रमणमुक्त भएकाहरू

लहान बोर्डर हुँदै आएका उनी त्यहाँको क्वारेन्टाइनमा बस्न सकेनन् । अनि आफ्नै खर्चमा इटहरीको जनता स्कुलको क्वारेन्टाइनमा आए । दुई दिनपछि रिपोर्ट पोजिटिभ देखियो । ‘पोजिटिभ भएको थाहा पाउँदा अप्ठ्यारो भयो,’ चौधरीले भने, ‘तर मर्छु भन्नेचाहिँ थिएन । किनभने उता पनि पसिना बगाएरै काम गर्नुपर्थ्यो ।’

अहिले उनी १६ दिनको आइसोलेसन बसाइपछि घर फर्किएका छन् । खेतीपातीमा व्यस्त छन् । उनी संक्रमित भएको थाहा पाएपछि गाउँका मानिसले परिवारलाई गर्ने व्यवहार बदलियो । उनले घर फर्किएपछि स्थानीयलाई कोरोनाबारे बुझाउने सोचेका थिए । तर बुझाउन उनले सोचेजति सहज भएन । ‘गाउँघरमा सुझाव दिन निकै अप्ठ्यारो छ । कोरोना लागेको मान्छे भनेर उल्टै डराउँछन्,’ उनले भने ।

इनरुवा नगरपालिकाका दिनेश पण्डित भारतको दिल्लीमा मोबाइल रिपेयरिङको काम गर्न थालेको ६ महिना मात्र भएको थियो । लकडाउनपछि उनी कुनौली बोर्डर हुँदै नेपाल आइपुगे । इनरुवाको क्वारेन्टाइनमा बसेको १० दिनपछि कोरोना पोजिटिभ देखियो । हाल उनी १७ दिनको आइसोलेसन बसाइपछि निको भएर घर फर्किएका छन् । ‘आइसोलेसनमा बस्दा निकै डर थियो । तर बाँच्न सकिन्छ भन्ने मनमा थियो,’ उनले भने ।

उनी संक्रमित हुँदा गाउँले उनको परिवारबाट समेत टाढै बस्थे । ‘घरको बाटोसमेत कोही हिँड्दैनथ्यो,’ उनले भने, ‘अहिले सबै ठिक भएको छ ।’ कोरोनाबारे जानकारी नहुँदा मानिसले गर्ने व्यवहार नकारात्मक भएको उनको अनुभव छ । अब भारत नजाने सोच बनाएका उनी इनरुवामै मोबाइल रिपेयरिङ सेन्टर चलाउने तयारीमा छन् ।

कोसी गाउँपालिकाका पाण्डव मण्डल भारतको हरियाणामा कुरियरको काम गर्थे । बिदा सकेर काममा फर्किएको एघारौं दिनमै लकडाउन सुरु भयो । तीन महिना कामविहीन भएर डेरामा बसे । घरबाट पठाएको पैसाले कोठा भाडा तिर्न र नेपाल आउन पुग्यो । जोगबनी बोर्डर हुँदै आएकाम उनी गाउँपालिकाको क्वारेन्टाइनमा बसे । १६औं दिनमा उनको रिपोर्ट पोजिटिभ आयो । अहिले उपचारपछि घर फर्किसकेका छन् ।

‘लक्षण केही नभए पनि कोरोनो देखियो,’ उनी भन्छन्, ‘राति सुत्दा निन्द्रा लाग्दैनथ्यो । मनमा कुरा खेलिरहन्थ्यो ।’ यस्तो बेला परिवारले निकै भरोसा दियो । अब यतै मजदुरी गरेर परिवार पाल्ने उनको सोच छ । तर, स्थानीय सरकार वा संस्थाले कुनै सीप प्रदान गरे राहत मिल्ने उनको भनाइ छ ।

कोसी गाउँपालिकाकै सुर्वेश मण्डल हरियाणामा कार सफाइको काम गर्थे । आठ वर्षदेखि परिवारसहित काम गर्दै आएका उनी लकडाउनपछि नेपाल आएका हुन् । क्वारेन्टाइनमा बसेको दुई सातापति उनको र श्रीमतीको रिपोर्ट पोजिटिभ आयो ।

गोठगाउँको आइसोलेसनमा १३ दिनको बसाइपछि बुधबार उनी घर फर्किसके । सात दिन होम क्वारेन्टाइनमा बसेपछि मात्रै बाहिर निस्कनेछन् । नेपालमा रोजगारी नभएकैले उनी भारत गएका थिए । अब पनि के काम गर्ने भन्ने चिन्ता छ । कोरोनाको विषयमा पालिकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके संक्रमितलाई गरिने व्यवहार सहज हुने उनले बताए ।

प्रकाशित : श्रावण ३, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?