२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हात्तीलाई थापेको धरापमा आफैं पर्छन् स्थानीय

पर्वत पोर्तेल

मागुरमाडी (झापा) — हात्तीलाई थापेको धरापमा अघिल्लो रातिदेखि नै विद्युत् चालू थियो । उनले ‘स्विच अफ’ गर्न भुलेछन् । असार २९ को अपराह्न खेत जोत्न ट्याक्टर बोलाए । नजिकै ट्याक्टरले माटो हिल्याउँदैथ्यो ।

हात्तीलाई थापेको धरापमा आफैं पर्छन् स्थानीय

मेचीनगर–९ मागुरमाडीका ६० वर्षीय बद्री थपलिया जमिनमा लत्रिएको तार टिप्न तम्सिए । तारले उनलाई तानेको तान्यै गर्‍यो । ट्याक्टर चालकले थाहा पाएर गुहार मागुन्जेल उनको प्राण गइसकेको थियो ।

अघिल्लो वर्ष साउन ३१ मा बद्रीका काहिँला दाजु गंगाको पनि हात्तीलाई थापेको धरापमै परेर ज्यान गएको थियो । हात्तीबाट बालीमा हुने क्षति रोक्न घरपछाडि विद्युतीय धराप राखिएको थियो । ‘दाजुको मृत्यु भएको वर्ष दिन पनि नभई भाइको मृत्यु पनि उसै गरी भयो’, छिमेकी टीकाराम कँडेलले भने, ‘हात्ती छेक्न थापेको धराप मान्छेको काल पो बन्यो ।’

गत वर्ष मंसिर १ मा यही वडाकी बुधुमाया तामाङको मृत्युको कारण पनि विद्युतीय धराप नै थियो । गाई चराउन जाँदै गर्दा उनी धरापमा परेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत कात्तिक १६ मा बुद्धशान्ति गाउँपालिका–४ का १८ वर्षीय अभिनाश राई र उनका मामा ३५ वर्षीय मनिराम राईको मृत्युको कारण पनि विद्युतीय धराप नै थियो । माछा मार्न नजिकैको खोल्सीमा जान लागेका मामा–भान्जाले स्थानीय नवज्योति सामुदायिक वन समूहनजिकै हात्तीलाई थापिएको विद्युतीय धरापमा परेर घटनास्थलमै ज्यान गुमाएका थिए ।

जंगली हात्तीबाट हैरान अर्जुनधारा–४ दहीझोडाका भक्तबहादुर शेर्माले घरवरिपरि विद्युतीय तारबार लगाएका थिए । तर, त्यसमा आफ्नै श्रीमती पर्लिन् भन्ने हेक्का उनलाई थिएन । २०७५ कात्तिक ९ मा धरापमा परेर शेर्माकी श्रीमती २५ वर्षीया अनु लिम्बूको ज्यान गयो । यस्तै, ०७५ भदौ ६ मा हात्तीलाई थापेको धरापमा मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ली गहतराज परेका थिए । भद्रपुर–१० का ७१ वर्षीय डम्बर लिम्बूको पनि धरापमै परेर ०७४ असोज ९ मा मृत्यु भएको थियो । हात्ती आतंकका कारण जिल्लाका उत्तरी र दक्षिणी भेगका किसान आजित छन् । बालीनाली जोगाउनकै लागि उनीहरू खेतबारी र घरवरिपरि विद्युतीय तारबार लगाउन बाध्य छन् ।

‘हात्तीले बाली नखाएको कुनै दिन छैन’, थपलियाका अर्का छिमेकी रोहित ढुंगानाले भने, ‘बाली जोगाउन धराप थाप्नु बाध्यता हो ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीका लागि थापिएको धरापमा परेर ०७५ र ०७४ सालमा दुई–दुई र ०७२ मा एक जनाको ज्यान गएको थियो । स्थानीयले हात्ती रोक्ने बहानामा आफूखुसी बिजुलीको नांगो तार राख्दा दुर्घटना बढेको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे बताउँछन् । कानुनअनुसार हात्ती नियन्त्रणका नाममा तारमा करेन्ट प्रवाह गर्ने अधिकार नभए पनि स्थानीयले अटेरी गर्ने गरेको उनको भनाइ छ । ‘अनुगमनमा जाँदा निकाल्छन्, हामी फर्किएपछि फेरि जोड्छन्,’ घिमिरेले भने ।

प्रकाशित : श्रावण २, २०७७ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?