२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

समयमै भुक्तानी नपाएको भन्दै तालाबन्दी

एलिसा श्रेष्ठ

भोजपुर — समयमै भुक्तानी नपाएपछि भोजपुरका निर्माण व्यावसायीहरुले पूर्वाधार विकास कार्यालय भोजपुरको कार्यालयमा तालाबन्दी गरेका छन् ।

तोकिएको समयमा नै योजनाको काम सकेर बिल पेश गरेपनि प्रदेश सरकारले भुक्तानी नदिएपछि उनीहरु आन्दोलित बनेका हुन् ।

कोरोना भाइरस र अविरल वर्षाका बाबजुत पनि विकासे योजनाका कामहरु सकेर बिल पेश गरेपनि करोडौंको भुक्तानी नहुँदा व्यावसायी र कामदार समस्यामा परेको मार्सेली निर्माण सेवाका सञ्चालक श्याम श्रेष्ठले बताए ।

प्रदेश सरकारसँग पटकपटक ताकेता गर्दासम्म पैसा निकासा नगराइएको उनले आक्रोश पोखे । ‘कामदारहरुलाई काम मात्रै लगाएर हुन्छ ? उनीहरुको पनि परिवार छ, घर चलाउनुपर्छ । हामीले बादलझरी, दिनरात नभनी काम गर्‍यौं तर अहिलेसम्म पैसा निकासा गर्ने कुनै छाँटकाँट छैन,’ उनले भने । काम सम्पन्न गरी भुक्तानी पाउनु पर्ने रकम करिब १५ करोड रहेको व्यवसायीहरुले बताएका छन् ।

भुक्तानी नहुँदा व्यावसायीसँग सम्बद्व श्रमिक,व्यापारी र आम मजदुर समेत मारमा परेको अर्का निर्माण व्यावसायी उत्तम खड्काले जानकारी दिए । प्रदेश सरकारले योजनाका कामहरु सम्पन्‍न गर्दापनि भुक्तानीमा आनाकानी गरेको उनीहरुको गुनासो छ ।

भुक्तानी नभएसम्म व्यावसायीले कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गर्ने बताएका छन् । यस्तै, अन्य सम्पूर्ण योजनाका कामहरु ठप्प पार्ने उनीहरुले बताएका छन् । पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत भोजपुरमा ३० र धनकुटामा २५ वटा योजनाहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित : असार २९, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?