कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाढीले मोरङमा १ सय १६ परिवार विस्थापित

देवनारायण साह

मोरङ — अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मोरङमा विस्थापित हुने परिवारको संख्या १ सय १६ पुगेको छ ।

बाढीले मोरङमा १ सय १६ परिवार विस्थापित

केसलीया खोलाको बाढी विराटनगर-१६ को दरैया बस्तीमा पसेपछि ६५ परिवारका ३ सय जना विस्थापित भएका हुन् । उनीहरुलाई उद्धार गरेर रानीस्थित मिल्स माध्यमिक विद्यालयमा राखिएको छ । यस्तै,महानगरको वडा १२ का बखरीस्थित बस्तीमा केसली खोलाको बाढी पसेर डुबान भएपछि स्थानीय ३० परिवारका १ सय ५० जना विस्थापित भएका छन् ।

उनीहरुलाई बखरी आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुको उद्धार कार्यमा इलाका प्रहरी रानी र जिल्ला प्रहरीका ८० जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

विराटनगर-१२ सिम्राही टोल मुसहर बस्तीको १० घर पनि बाढीका कारण डुबानमा परेका छन् । ती घरका सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

चिसाङ खोलामा आएको बाढीका कारण कानेपोखरी ५ स्थित दुखीटोल,सुकुम्बासी बस्तीका ७ परिवार गरी ३२ जना विस्थापित भएका छन् । उनीहरुलाई भौसावारी माध्यमिक विद्यालयमा सारेर सुरक्षित राखिएको कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङले बताए । ‘पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरबाट चिसाङ खोला कटान गरिरहेको र त्यसलाई तत्काल रोक्न नसकिए कानेपोखरी गाउँपालिका नै बगाउने जोखिम छ,’ उनले भने, ‘उक्त कटान रोक्न एक्साभेटर लिएर खोलामा च्यानेलाइजेसनको तयारीमा जटेका छौं ।’ उनले वडा २ मा समेत चिसाङ खोलाले पाण्डव र सलाङ ऋषिदेवको घर कटान गरी बगाएको बताए । उनीहरुलाई उद्धार गरी अहिले छिमेकीको घरमा राखिएको छ ।

तेली खोलामा आएको बाढीले उर्लाबारी-३ रामनगर चोककी तिनमाया तामाङको टिनको छाना भएको घर कटान गरी बगाएको छ । घरमा भएको सामग्री निकालेर उनको परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा लगिएको डीएसपी राईले बताए । यस्तै, मिक्लाजुङ गाउँपालिका २ कुवापानी बस्ने रनकुमार राईको घर शनिबार राति पहिरेले पुरेको छ ।

उर्लाबारी नगरपालिकास्थित बक्राहा खोला र कानेपोखरी र रंगेलीस्थित चिसाङ खोलामा आएको बाढीले डुबान हुँदा १३ विघा १७ कठ्ठाको धानबाली नष्ट भएको छ ।

जिल्ला रतुवामाई नगरपालिका र उर्लाबारीस्थित बक्राहा खोलामा पानीको बहाब बढ्दै गएपछि नदी कटान हुन थालेपछि प्रहरी र स्थानीयको सहयोगमा जनप्रतिनिधिहरुले तटबन्ध सुरक्षाका लागि काम गरिरहेका छन् ।

रतुवामाई ५ र ९ र उर्लाबारी-८ स्थित बक्राहा खोलाको तटबन्ध बाढीले कटान गर्न थालेपछि जोगाउन बाँसको प्रकुपाइन हाल्ने काम भइरहेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी राईले बताए ।

उर्लावारी नगरपालिकामा बक्राहा,तेली,मावा र सोल्टी खोलाको बहान बढेसँगै आसापसका क्षेत्रहरु जोखिममा परेका छन् ।

प्रकाशित : असार २८, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?