२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

झापामा बाढीले साढे ७ सय विस्थापित

पर्वत पोर्तेल

काँकडभिट्टा — अविरल वर्षापछिको बाढीका कारण झापामा १ सय ७२ परिवारका करिब साढे ७ सय जना विस्थापित भएका छन् ।

झापामा बाढीले साढे ७ सय विस्थापित

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका १ कुमरखोदमा सबभन्दा बढी १ सय १४ घर डुबान हुँदा करिब ५ सय विस्थापित भएका हुन् ।

गौरीगन्ज गाउँपालिका १ झिलझिलेका ४३ घरधुरीका डेढ सय परिवार विस्थापित भएका छन् । गौरीगन्जकै वडा नम्वर १ झोडा बस्तीको २ घरधुरीका १४ जना विस्थापित भएका छन् । कनकाई खोलामा बाढी आएर ओभर फ्लो हुँदा झापा र गौरीगन्जमा डुबान भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मेचीनगर ७ पालिया खोला बगरको सिद्धार्थ टोलका ९ घरका ४२ जना विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका ६ शिवगन्जका ७ परिवारका २९, शिवसताक्षी १० सुकुम्बासी बस्तीका ४ घरधुरीका १७, कनकाई खोलाको कटानका कारण विस्थापनमा परेका हुन् । विस्थापितहरुलाई नजिकैको स्कुल भवन र कतिपयलाई अस्थायी टहरा वनाएर सुरक्षित ढंगबाट राखिएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापामा एक जनाको मृत्यु भएको छ । एक बेपत्ता छन् ।

झापा गाउँपालिका ५ स्थित विरिङ खोलाको बाढीले बगाउँदा स्थानीय ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको हो । उनी स्थानीय एक व्यक्तिको मलामी गएका बेला पौडी खेल्न खोलामा पसेका थिए । शनिबार साढे २ बजे खोलाले बगाएका उनको शव घटनास्थलदेखि करिब ३ किलो मिटर दक्षिण बाह्रदशी गाउँपालिका २ मा फेला परेको थियो ।

त्यस्तै, भद्रपुर ३ का ३३ वर्षीय हिरण राईलाई मेची खोलाले बगाएर बेपत्ता बनाएको छ । शनिबार अपरान्ह नुहाउने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । राईको खोजबिन जारी रहेको प्रहरीले जनाएको छ । विस्थापितहरुलाई अस्थायी संरचना बनाएर सुरक्षित स्थानमा सारिएको जनाए ।

झापा रेडक्रसका अध्यक्ष लोकराज ढकालले दक्षिणी झापाको कचनकवल, बाह्रदशी, गौरीगन्ज र झापा गाउँपालिकाको सबै क्षेत्र र गौरादह, शिवसताक्षी र भद्रपुर पालिकाको दक्षिणी क्षेत्र बाढीको उच्च जोखिममा रहेको जनाए । ढकालका अनुसार कनकाई खोलाले झापा गाउँपालिका ७ मदरगाछ टप्पु क्षेत्रमा डुवान र कटान भइरहेको छ ।

रेडक्रस झापाका अनुसार झापाका २८ नदीमध्ये मेची, विरिङ्ग, कन्काई, कमल, पालिया, निन्दालगायतका ७ ठूला नदीले बस्ती उच्च जोखिममा पारेको छ । बाढीले खोलामा पानीको बहाब बढेको छ । जिल्ला सदरमुकाम चन्द्रगढी, भद्रपुर, विर्तामोड, चारआली, मेचीनगर, धुलावारी, सुरुंगा र दक्षिणी क्षेत्रका अधिकांश पालिका जलमग्न छन् ।

प्रकाशित : असार २८, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?