मोरङमा बाढी पहिरोले २१ परिवार विस्थापित- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङमा बाढी पहिरोले २१ परिवार विस्थापित

११ बिघा १४ कठ्ठाको धान खेतीमा क्षति
देवनारायण साह

(मोरङ) — केही दिन यताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण जिल्लास्थित विराटनगर महानगर, उर्लाबारी नगरपालिका, कानेपोखरी र मिक्लाजुङका २१ परिवार विस्थापित भएका छन् ।

उर्लाबारी नगरपालिकास्थित वक्राहा खोला र कानेपोखरी र रंगेलीस्थित चिसाङ खोलामा आएको बाढीले डुबान हुँदा २१ विघा १७ कठ्ठाको धानबाली नष्ट भएको छ । चिसाङ खोलामा आइतबार आएको बाढीले कानेपोखरी–५ स्थित दुखीटोलमा कटान सुरु भएपछि स्थानीय ५ घर र चिङखोला नजिकको सुकुम्बासी बस्तीको २ परिवारका ३२ जना विस्थापित भएका छन् । उनीहरुलाई भौसावारी माध्यमिक विद्यालयमा सारेर सुरक्षित राखिएको कानेपोखरी–५ का वडाध्यक्ष चरण गुरुङले बताए ।

‘पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरबाट चिसाङ खोलाले कटान गरिरहेको र त्यसलाई तत्काल रोक्न नसकिए कानेपोखरी गाउँपालिका नै बगाउने जोखिम छ,’ उनले भने, ‘उक्त कटान रोक्न एक्स्काभेटर लिएर खोलामा च्यानेलाइजेसनको तयारीमा जटेका छौं ।’ उनले वडा नम्बर २ मा समेत चिसाङ खोलाले पाण्डव र सलाङ ऋषिदेवको घर कटान गरी बगाएको बताए । उनीहरुलाई उद्धार गरी अहिले छिमेकीको घरमा राखिएको छ ।

यस्तै, तेली खोलामा आएको बाढीले उर्लाबारी–३ रामनगरचोककी तीनमाया तामाङको टिनको छाना भएको घर कटान गरी बगाएको र घरमा भएको सामग्री निकालेर उनको परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा लगिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

यस्तै, मिक्लाजुङ गाउँपालिका–२ कुवापानी बस्ने रनकुमार राईको काठ तथा टिनको छाना भएको २ तले दुईवटा घर शनिबार राति पहिरोले पुरिएको छ । राईको परिवारका सदस्यहरु सुरक्षित रहेको डीएसपी राईले बताए ।

यस्तै, केसलीया खोलामा आएको बाढीले विराटनगर महानगर–१२ सिम्राही टोलको मुसहर बस्तिको १० घर डुबानमा परेको छ । १० वटै परिवारका सदस्यहरुलाई बखरी आधारभूत विद्यालयमा सुरक्षित सारिएको डीएसपी राईले बताए ।

प्रकाशित : असार २८, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्

वनमा आश्रमको भवन बनाउन रुख फडानी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवल–७ शिवनगर सामुदायिक वनमा भवन निर्माणका लागि जथाभावी रुख काटिएको छ । उक्त क्षेत्रका रुख फडानी गरेर रोलरले सम्याइएको छ । डेढ वर्षदेखि बुटवलमा सञ्चालनमा रहेको  मानवसेवा आश्रमका लागि भवन निर्माण गर्न वन फडानी गरिएको हो ।

शिवनगर सामुदायिक वनको क्षेत्रमा विना स्वीकृति रुख काटिएको र वन फडानी गरिएको स्थान । तस्बिर : सन्जु/कान्तिपुर

वनमा भवन निर्माणका लागि ०७६ साउन १९ गते प्रदेश सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिलान्यास गरेका थिए । वनमा भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी र आश्रमबीच सम्झौता गरेका छन् ।

भवन निर्माणका लागि सुस्त मनस्थिति बाल विद्या मन्दिरको पर्खालभित्रकै चार कट्ठा जग्गा प्रयोग गर्ने भनी निर्णय भएपनि बाहिरका रुख कटान गरी सम्याइएको छ । शिवनगर सामुदायिक वनको सिफारिसमा बालविद्या मन्दिर पछाडि आश्रम बनाउन थालिएको भवन निर्माण समितिका संयोजक लोकनाथ भुसालले बताए । ‘वनको अन्य क्षेत्रमा समेत संघसंस्थाका भवन बनेकाले त्यसलाई आधार मानेर काम सुरु गरिएको हो,’उनले भने, ‘स्थानीय केही व्यक्तिले अवरोध गरेपछि काम रोकिएको छ ।’

शिवनगर सामुदायिक वनको जम्मा क्षेत्रफल ४ सय ७२ हेक्टर छ । वनको सिमानामा उत्तरमा चुरे राष्ट्रिय वन–लक्ष्मीनगर सामुदायिक वन, दक्षिणमा लोकमार्ग, पूर्वमा साझेदारी वन र पश्चिममा बुटवल उपमहानगरपालीका ७ को शिवनगर– दीपनगर बस्ती पर्दछ । गत फागुनमा मानव सेवा आश्रम भवन निर्माण समितिले स्वीकृति दिनका लागि पत्र मागेको सामुदायिक वनका अध्यक्ष नारायण घिमिरेले बताए । उक्त पत्रको जवाफमा आफूले शिवनगर सामुदायिक वन परिसर पर्ने भएकाले सामुदायिक वनको सिफारिसमा सम्बन्धित निकायबाट स्वीकृति लिएर मात्र भौतिक संरचना निर्माण गर्न पाउने अन्यथा नपाइने भनी लेखेर पठाएको उनले दाबी गरे । त्यसपछि आफूहरुलाई केही जानकारी नआएको र झन्डै १२ दिनअघि फडानी गरी रोलर लगाएको थाहा पाएपछि काम रोक्न निर्देशन दिएको घिमिरेले बताए । वनले ३० इन्चको गोलाईभन्दा तलको लाई रुख नमान्ने उल्लेख भएअनुसार करिब ६ वटा रुख र अन्य झाडी कटान भएको उनले बताए । कति क्षेत्रफल कटान भयो भन्नेबारे नापेर किटान गर्नुपर्ने उनले बताए ।

शिवनगर वस्तीभित्रका टोल विकास संस्थाका प्रतिनिधीलाई बैठक डाकी उक्त भवन निर्माणको विषयमा जानकारी गराईएको शान्तिदिप टोल विकास संस्थाका अध्यक्ष मानबहादुर पुनले बताए । ‘उपमहानगरका अन्य वडामा स्थान खोजेर बनाउन सकिने सुझाव दिएका थियौं,’उनले भने, ‘सामुदायिक वनका अध्यक्षले रोक्नका लागि पत्र पठाएको जानकारी छ ।’ केही दिनपछि पुनः आफूहरुलाई बोलाई भवनको डीपीआरको भिडियो प्रदर्शन गर्न खोज्दा आफूहरुले जनतासँग छलफल नगरी बनाउन नपाइने भनी त्यहाँबाट बाहिरिएको भन्दै उनले शिवनगरका १७ टोलविकास संस्थामध्ये कुनै टोलका प्रतिनिधि भने त्यहाँ उपस्थित नरहेको बताए । हिलपार्क पर्यटकीय स्थल रहेको र त्यसको मुखैमा संरचना बनाउनुभन्दा अन्य उपयुक्त ठाउँ हेर्न सुझाव दिएको बताए । पुनले त्यसको २ दिनपछि बालमन्दिर नजिकका २ टोलले सबै टोललाई बैठक बोलाई छलफल गर्दा त्यो स्थानमा बनाउन नहुने नै निष्कर्ष निकालेर वडामा निर्णय पठाएको बताए । त्यसयता आफूहरुले केही थाहा नपाएको उनले जनाए । सब डिभिजन वन कार्यालय तिलाेत्तमाका कार्यालय प्रमुख गिरिप्रसाद गैरेले सामुदायिक वनले कार्ययोजना बनाएर १ सय २६ हेक्टर पर्यापर्यटन क्षेत्रका लागि छुटयाएको बताए । वनभित्र समाजमा चाहीने, वनलाई असर नगर्नेगरी संरचना निर्माण गर्न पाइने उनले बताए । त्यसकालागि डिभिजन वनबाट स्वीकृति प्राप्त हुनुपर्ने गैरेकाे भनाइ छ ।

‘सामुदायिक वनको सिफारिस नभइ रुख कटान भएको पाइएमा वनले कारबाहीको प्रक्रियाअघि बढाउन सक्छ,’उनले भने, ‘वनको विधान अनुसार नभएको पाइएमा कारबाही गर्न मिल्छ ।’ सामुदायिक वनले कारबाही गर्न नसकेको खण्डमा आफूहरुमा लिखित आग्रह आएमा मात्र कदम चाल्ने गिरिले बताए ।

हिलपार्क क्षेत्रमा सुस्त मनस्थिति बाल विद्या मन्दिरलाई मन्त्रिपरिषदको निर्णयबाट जग्गा उपलब्ध गराइएको थियो । त्यसैबेला बालमन्दिर छेउको जग्गा भोगचलन गर्न पाउने भनिएको जानकारी भएकाले निर्माण थालिएको बुटवल–७ का वडाध्यक्ष कमल थापाले बताए । ‘मानवहितका लागि गर्न लागिएको काममा स्थानियले विरोध गर्नु हुँदैन,’ उनले भने, ‘पर्यटकीय स्थलबाहेक अन्यत्र भवन बनाउन सकिनेबारे स्थानीयले सुझाव दिनु भएको छ ।’

वनका रुख कटानसम्बन्धी आफूलाई थाहा नभएको र साना पोथ्रा काटेको जानकारी पाएको उनले बताए । स्थानीयले अवरोध गरेपछि काम रोकिएको थापाले बताए । बुटवललाई सडक मानवमुक्त बनाउनका लागि स्थानीय स्तरबाट असहयोग गरिएमा सफल नहुने भएकाले यसमा अवरोध नगर्न थापाले आग्रह समेत गरेका छन् ।

प्रकाशित : असार २८, २०७७ १३:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×