धरानमा सर्वसुलभ औषधि नै मिश्रण गरेर लागूऔषधको विकल्पमा प्रयोग

धरानमा फेरि ५ जना पक्राउ, एक मेडिकल सिल
प्रदीप मेन्याङ्बो

(सुनसरी) — धरानमा स्थानीय मेडिकल हलमा सर्वसुलभ रुपमा पाइने केही औषधिहरु मिश्रण गरेर लागुऔषधको विकल्पको रुपमा प्रयोग बढ्न थालेको छ । यसरी विभिन्न औषधिको मिश्रणबाट तयार हुने ‘वैकल्पिक लागुऔषध’ बनाउन प्रयोग हुने औषधिहरु अवैध रुपमा बिक्री गर्ने र सेवन गर्नेहरु ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

धरानमा सर्वसुलभ औषधि नै मिश्रण गरेर लागूऔषधको विकल्पमा प्रयोग

पक्राउ पर्नेमा धरान–७ भानुचोक नजिकै सुमन मेडिकल हल संचालक औषधि व्यवसायी विनय कुमार गुरुङ, खरिद गरी सेवन गर्ने धरान १० बस्ने सम्यक श्रेष्ठ, धरान–१५ बस्ने सहबाज सिद्धिकी, अमिर नेपाली र अर्जुन बराइली रहेका छन् ।

पछिल्लो समयमा धरानमा औषधी व्यवस्था विभागले स्वीकृति दिएका विभिन्‍न रोगको उपचारमा प्रयोग गरिने औषधिहरु मिश्रण गरेर लागूपदार्थको विकल्पको रुपमा खाने र विक्री गर्ने मेडिकल हलहरुको संख्या बढेको जानकारी पाएपछि छापामार्दा पाँचजना पक्राउ परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।

उनले भने, ‘कोरोना महामारी र लकडाउनका कारण भारतीय बजारबाट प्रतिबन्धित लागूऔषध ल्याउन नसक्दा विकल्पको रुपमा सर्वसुलभरुपमा पाइने औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको सूचनाको आधारमा धरानका तीन मेडिकल हलमा छापा मार्दा गुरुङको सुमन मेडिकल हलबाट उनीहरु पक्राउ परेका हुन् ।’

विराटनगरस्थित औषधि व्यवस्था विभागको समन्वयमा प्रहरीले औषधिको अनुचित प्रयोग र दुरुपयोग गर्नेहरुलाई पक्राउ गरेको हो । विभागले मेडिकल हलमा सिल गरेको छ । बरामद गरिएका औषधिसहित थप अनुसन्धान तथा कारबाहीका लागि मेडिकल हल सञ्चालक गुरुङसहित पाँचैजनालाई औषधि व्यवस्था विभाग पठाएको प्रनाउन बस्नेतले बताए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका वरिष्ठ चिकित्सक प्राडा निदेश सापकोटाका अनुसार बरामद गरिएको औषधि मध्ये एकमा डाइजेपामको मात्र हुने भएकाले झुम्म हुने, निद्रा लगाउने हुन्छ । उक्त औषधि सामान्यतया पेट दुख्दा दिने गरिन्छ । ‘लागूपदार्थका दुर्व्यसनीहरुले लागूऔषधको विकल्पको रुपमा बजारका मेडिकल हलमा सजिलै र सस्तोमा पाइने औषधि नै लागूऔषधको रुपमा प्रयोग गर्नु र मेडिकल हल सञ्चालकले पनि मेडिकल काउन्सीलमा दर्ता भएका चिकित्सकको बिना प्रेस्किप्सन पैसा कमाउने उद्देश्यले अनुचित रुपमा बिक्री वितरण गर्नु अपराध हो,’ उनले भने ।

तीनसाता अघिमात्र प्रहरीले धरान उपमहानगरपालिका– १५ बाझगरास्थित मनिषा राईको घरबाट डाइसाइक्लोमाइन हाइड्रोक्लोराइड आईपी ३ सय ५५ ट्याब्लेट र ट्रमाडोल हाइड्रोक्लोराइड ३ सय ५५ क्याप्सुल (५० एमजी मात्राको) बरामद गरेसँगै मनिषा र उनका साझेदारी धरान–५ देउराली बस्ने २९ बर्षीय उमेश राईलाई पक्राउ गरेको थियो । ती औषधिहरु टाउको दुखाई, नशा सम्बन्धी बिरामीहरुलाई चिकित्सकले पेस्क्राइव गर्ने गरेका छन् ।

पक्राउ गरेपछि लिएको प्रारम्भिक बयानमा लागूऔषधको विकल्पको रुपमा ती औषधिहरु विक्री वितरण र प्रयोग गर्ने गरेको बताएपछि लागूऔषधका कारोबारी र प्रयोगकताहरुले नयाँ ‘ट्रेन्ड’ पच्छ्याएको प्रहरीले अनुमान गरेको छ ।

इप्रका धरानका प्रनाउ बस्नेतले भने, ‘हामीले बरामद गरेका ती औषधि बजारका औषधि पसल र क्लिनिकहरुमा सर्वसुलभरुपमा पाइन्छन् । अनुसन्धान गर्दा उनीहरुले ती औषधिहरु धरानमा लागूऔषधकै रुपमा खाने र विक्री वितरण गर्ने गरेको पाइयो ।’ यस्ता सर्वसुलभ पाइने औषधिलाई नै लागूऔषधको रुपमा प्रयोग र विक्रीवितरण गर्दा प्रहरीलाई पनि छल्न सहज हुने र प्रतिबन्धित लागूऔषध ओसार पसार गर्दा पक्राउ परे जस्तो कडा दण्ड सजाय र जरिवाना पनि नहुने भएकाले दुर्व्यसनी र कारोबारीहरु त्यतातिर आकर्षित भएको हुनसक्ने प्रनाउ बस्नेतले बताए ।

प्रकाशित : असार २४, २०७७ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?