कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश प्रहरी विधेयक टेबल

देवनारायण साह

विराटनगर — प्रदेश १ सरकारले प्रदेशसभामा प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले टेबल गरेका छन् ।

संघीय सरकारले प्रहरी समायोजन प्रक्रिया सुरु गर्न लागेकाले समायोजन भएर आउने बित्तिकै परिचालन गर्न सहज होस् भनेर विधेयक ल्याइएको प्रदेश सरकारले जनाएको छ । प्रहरीको सेवा, सुविधा प्रदेशपिच्छे फरक भए त्यसले शान्ति सुरक्षामा प्रभाव पार्ने भएकाले एकरुपता ल्याउने प्रयत्‍न गरेको मन्त्री कार्कीले बताए । ‘प्रहरीको वृत्ति विकास र सरुवाको सम्बन्धमा अनेक प्रश्‍न उठिरहेको अवस्था छ,’ उनले भने, ‘त्यसैले यी यस्ता प्रश्‍न नउठ्ने गरी विधेयकमा व्यवस्था गरिएको छ ।’

विधेयकमा प्रहरीको वृत्ति विकास सुनिश्चित गरी मनोबल बढाएर शान्ति शुरक्षालाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ । समायोजन भएर यस प्रदेशमा ११ हजार प्रहरी आउने मन्त्री कार्कीले प्रदेशसभालाई जानकारी गराए ।

‘सबभन्दा बढी विवादित हुँदै आएको प्रहरी बढुवालाई विधयेकमा बढी पारदर्शी बनाएका छौं,’ उनले भने, ‘वरिष्ठलाई थाति राखेर कनिष्ठलाई बढुवा हुन नदिनका लागि वरिष्ठताका आधारमा संघले राखेको २० अंकमा बढाएर ३० अंक राखेका छौं ।’ दुर्गमामा खटिने प्रहरीलाई बढुवाका लागि बढी अंक र सुगम जिल्लामा खटिनेलाई कम अंक दिने व्यवस्था गरी दुर्गम जिल्लामा खटिन विधेयकमा आकर्षण सिर्जना गरिएको मन्त्री कार्कीको भनाइ थियो ।

घर पायक जिल्लामा सरुवा नगरिने, एक पटक कमाण्ड सम्हालेपछि अर्को पटक कमाण्ड नपाउने, पति र पत्नी प्रहरी सेवामा भए सक्दो एउटै प्रहरी कार्यालयमा र नभए नजिकको कार्यालयमा खटाउने व्यवस्था विधेयकमा छ ।

समायोजन भएर आउने प्रहरीलाई आकर्षित गर्न १ सय ८० दिनभन्दा बढी घर बिदा सञ्चित गर्न सकिने र त्यसको प्रत्येक वर्ष आधा तलब दिने व्यवस्था विधेयकमा गरिएको छ ।

प्रकाशित : असार २३, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्

सुन पसलबाट ८६ लाख बराबरको गहना चोर्ने गिरोहका ३ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — केही दिनदेखि काठमाडौं उपत्यकामा सुनचाँदी पसलका सटर फोरेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रातिको समयमा बोतल उठाउने व्यक्तिको हुलिया बनाई उपत्यकाका विभिन्न स्थानमा रहेका पसलबाट सुनचाँदी चोर्ने गरोहलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

पक्राउ पर्नेहरुमा उदयपुरका ३७ वर्षीय सुमित भन्ने गंगाबहादुर तामाङ, उदयपुरकै ४९ वर्षीय विक्रम भन्ने जंगबहादुर माझी र महोत्तरीका ४५ वर्षीय बुद्धबहादुर माझी रहेका छन् ।

उनीहरुले लाजिम्पाटस्थित दिलिपकुमार श्रेष्ठले सञ्चालन गरेको पबी ज्वेलर्सबाट एक किलो १ सय ५० ग्रामबराबरको सुनका गरगहना, ८ किलो ५ सय ६० ग्रामबराबरको चाँदीका गहना तथा नगदसमेत गरी पचासी लाख पचासी हजार ६ सय ४२ रुपैयाँ बराबरको गहना चोरी गरेका थिए ।

घटना अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको विशेष टोलीले मिति असार २१ गते मोरङको उर्लाबारीबाट सुमित भन्ने गंगा बहादुर तामाङ र बुद्ध बहादुर माझीलाई पक्राउ गरेको थिए । त्यस्तै सोही घटनामा फरार रहेका प्रतिवादीहरुमध्ये विक्रम भन्ने जंगबहादुर माझीलाई असार २२ गते काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

त्यस्तै सोही घटनामा संलग्न रहेका तीन जनाको खोजी भइरहेको प्रहरीले बताएको छ । चोरी गरेका सामान गिरोहका मुख्य नाइके भारतीय मूलका रहेको र उनले सबै सामान बिक्री गरेर फरार रहेको प्रहरी उपरीक्षक कार्कीले बताए । उनीहरुले पसलभित्र रहेको सीसीटीभीको डीभीआरसमेत लगेका थिए ।

प्रकाशित : असार २३, २०७७ १५:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×