कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट सक्न उठाइसकेको पर्खाल फेरि भत्काइँदै

पर्वत पोर्तेल

काँकडभिट्टा — मेचीनगर–७ मा पर्ने तल्लो भानु टोलको चियाबगाननजिकै अहिले निर्माण कार्य चलिरहेको छ । ‘आदिकवि भानुभक्त आचार्य पार्क’ नामकरण गरिएको यो ठाउँमा इँटाको पर्खाल उठाउने काम धमाधम छ । 

झापाको मेचीनगर–७ मा निर्माणाधीन भानुभक्त आचार्य पार्कको पर्खाल भत्काएर पुनः लगाइँदै । तस्बिर : पर्वत पोर्तेल

आर्थिक वर्ष सकिन लागेका कारण असार २५ भित्रै पर्खाल उठाइसक्ने तयारी छ । निर्माण समितिले पार्क क्षेत्रभरि ५ फुटे पर्खाल निर्माण गरिसकेको थियो । तर, मजबुत नहुने भन्दै नगरपालिकाकाले १० फुटे पर्खाल लगाउन भनेपछि अहिले करिब ३ बिघा क्षेत्रमा लगाइसकिएको पर्खाल भत्काइँदै छ ।

‘५ फुटे वाल हावा आउँदा पनि भत्किन सक्छ’, मेचीनगरका एक ओभरसियरले भने, ‘त्यही भएर १० फुटे बनाउन सुझाव दिएका छौं ।’

मेचीनगर वडा नम्बर ७ मा बन्न लागेको यो पार्कको निर्माण समितिका पदाधिकारी र सदस्य सबै वडा नम्बर ६ का छन् । केही दिनअघि वडा नम्बर ७ का अध्यक्ष चन्दन मेचेले वडाको सहमतिबेगर निर्माण हुन लागेको पार्कको काम रोक्न भनेका थिए । तर, उनलाई समितिले टेरेको छैन ।

पार्कको पर्खाल लगाउन नगरपालिकाले पहिला ९ लाख र हालै १० लाख विनियोजन गरेको थियो । ‘९ लाखले वालका लागि सिमेन्टीको ढलान गरियो’, पार्क निर्माण समितिका अध्यक्ष राजकुमार पराजुलीले भने, ‘बाँकी १० लाखले वाल उठाउँदै छौं ।’

पार्क निर्माणका लागि अलग्गै बजेट विनियोजनको तयारीमा नगरपालिका छ । पार्क निर्माणस्थलमा योजना विवरण बोर्डसमेत छैन । ‘धमाधम काम सकेर बजेट सक्ने योजनामा समिति छ’, एक स्थानीयले भने ।

करिब ७ बिघा जमिनमा पार्क बन्न लागेको हो । तर, अहिले ४ बिघाजति जमिन मात्रै घेराबार गरिँदै छ । बाँकी ३ बिघा स्थानीय राज टी इस्टेटमा पर्ने दाबी गरिएको छ । ऐलानी जमिन संरक्षण गरेर पार्क निर्माणको काम अघि बढाइएको मेचीनगरका प्रमुख विमल आचार्यले जनाए । स्थानीय धनकुमार श्रेष्ठले स्थानीयले लामो समयदेखि भोगचलन गर्दै आएको जमिन नगरले हस्तक्षेप गरेर पार्क बनाउन सुरु गरेको जनाए । उनले भने, ‘हामीले २०४५ सालदेखि यो जमिन खनजोत गर्दै आएका थियौं, अहिले नगरले खोसेर पार्क बनाउन थाल्यो ।’

प्रकाशित : असार २३, २०७७ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा विवादकै बीच चिनियाँ राजदूत पुगिन् खनाल निवास

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छिन् । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास पुगेकी हुन् । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।

सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी हुन् । आइतबार मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेकी थिइन् ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपाललाई कोटेश्वर पुगेर चिनियाँ राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उक्त भेटघाटलाई दुवै पक्षबाट नियमित भनिए पनि नेकपाभित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय रहेको राजनीतिक विश्लेषक बताउँछन् । राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेकी थिइन् ।

यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा चिनियाँ राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेसँगै पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा पुगेको छ ।

सम्बन्धित समाचार


प्रकाशित : असार २३, २०७७ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×