‘भ्रष्टाचार रोक्न सरकार उदासीन’

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ मा भ्रष्टाचार बढेको भन्दै सत्तारुढ दल नेकपाका प्रदेश सांसदहरुले सरकारको आलोचना गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्यसहनशीलताको नीति लिए पनि कार्यान्वयन नगरेको बताएका हुन् ।

‘प्रदेश सरकारका विकास निर्माणलगायतका योजना तथा आयोजनामा व्यापक भ्रष्टाचार भइरहेको छ,’ नेकपाका प्रदेश सांसद राजन राईले भने, ‘तर त्यसलाई रोक्न प्रदेश सरकार उदासिन छ ।’ खानेपानी, ढल, विकास निर्माणजस्ता योजनामा प्रदेश सरकारले भ्रष्टाचार नदेखे प्रदेशसभा सदस्यहरु प्रमाण उपलब्ध गराउन तयार रहेको राईले दाबी गरे । खोटाङ्गको बञ्चरे खोला डक्बरे कुलोको काम सम्पन्न भएपनि पुनः यो वर्ष ५० लाख रूपैयाँ बजेट विनियोजन भएको भन्दै उनले काम भइसकेको योजनामा बजेट विनियोजन गर्नुले भ्रष्टाचार गर्ने नियत उजागर भएको बताए ।

सत्तारुढ दलका अर्का प्रदेशसभा सदस्य रामकुमार राईले सिँचाइ, सडक, खानेपानी जस्ता विकासे कार्यालयमा बढी भ्रष्टाचार भइरहेको बताए । प्रदेशसभा सदस्य खिनु लङ्ग्वा लिम्बुले पहाडका अधिकांश बिजुलीका पोल काठका भएका र ती मक्किइ सकेकाले तत्काल हटाएर स्टिलको पोल जडान गर्न माग गरिन् । प्रदेश सभा सदस्यहरूले लकडाउनका कारण बजारमा उपभोग्य वस्तुको अभाव भएकाले आपूर्ति व्यवस्था सहज बनाउन समेत माग गरेका छन् ।

प्रकाशित : असार २२, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्

पूर्ण इजलासद्वारा तत्कालीन प्रधान्यायाधीशको राय बदर

दाइजोसँग सम्बन्धित एक हत्याको मुद्दामा संलग्‍न आरोपितहरुले सफाई पाउनुपर्ने भनी तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको रायलाई सर्वोच्च अदालतको पूर्ण इजलासले उल्ट्याइदिएको छ । 
कृष्ण ज्ञवाली

काठमाडौँ — दाइजोसँग सम्बन्धित ज्यान मुद्दाका दुई आरोपितहरुले सफाइ पाउनुपर्ने भन्‍ने तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको रायलाई सर्वोच्च अदालतको पूर्ण इजलासले उल्ट्याइदिएको छ ।

संयुक्त इजलासमा बाझिएपछि पूर्ण इजलासमा पेश भएको उक्त मुद्दामा सर्वोच्च अदालतले कसुर स्थापित हुने भन्दै हत्यामा संलग्‍न रहेको ठहरसहित मृतकको पति र उनका दाईलाई जन्मकैदको फैसला गरेको हो ।

दाइजोको विवाद नमिल्दा पति र पतिका दाई मिलेर गरेको हत्यालाई तत्कालीन प्रधानन्यायाधीश पराजुलीले कसुर स्थापित नहुने भनी सफाइ पाउने राय दिएका थिए । उनको रायसँग न्यायाधीश ईश्वरप्रसाद खतिवडाको राय बाझिएपछि पूर्ण इजलासमा पेश भएको थियो । जिल्ला अदालतले सफाइ दिएको मुद्दामा पछि पुनरावेदन अदालतले दुईजनालाई कसुरदार ठहर गरेको थियो ।

घटना यस्तो हो....

मोरङको पोखनियाका सुनितादेवी मण्डल र रमेश मण्डलबीच २०६४ सालमा प्रेमविवाह भएको थियो । विवाहका क्रममा रमेशले ससुरालीबाट दाइजो स्वरुप ५१ हजार रुपैयाँ पाएका थिए । दाइजो थोरै भएकोमा असन्तुष्ट बनेका केटा पक्षले मोटरसाइकल र टिभी पनि मागेका थिए । रमेश वैदेशिक रोजगारमा भएको बेलामा त्यही खटपट चलेपछि सुनिता नजिकैको माइतीमा गएर बसेकी थिइन ।

वैदेशिक रोजगारीबाट फर्केपछि रमेश श्रीमतीलाई लिन ससुराली गए । त्यहाँ पनि दाइजोका विषयमा विवाद भएपनि रमेशले ससुरालीमै श्रीमतीमाथि हातपात गरे । अनि ससुरालीले गरेको आग्रहको जवाफमा ‘तिमीहरुको खाना खान्न’ भनी निस्के र पछि श्रीमतीलाई बोलाएर लगे । रमेशको दाबी अनुसार, ससुराले आवेशमा आई छोरी कुटेका थिए । भोलिपल्ट भने नजिकैको कदमको रुखमा झुण्डिएको अवस्थामा सुनिताको शव भेटियो ।

सुनिताको माइती पक्षले कुटपिट गरी हत्या गरेको आरोपमा ज्वाई रमेश, उनका दाजु विजय मण्डल अनि रमेशका बाबुआमा भरतलाल र रामवती मण्डल विरुद्ध किटानी जाहेरी दिए । जाहेरी अनुसार, २०६८ साल फागुन २० गते साँझ सुनितामाथि घरमा कुटपिट भएको थियो । भोलीपल्ट साडीले पासो लगाएको अवस्थामा घरदेखि डेढ किलोमिटर टाढा शव भेटियो ।

शव परीक्षण मुचुल्कामा मृतकको नाक र मुखबाट रगत बगेको उल्लेख छ । घाँटीमा मसिनो डोरीले कसेको डाम भेटियो । घाँटी नजिक खोस्रिएको घाउ पनि छ । घटनास्थलको अनुसन्धान गर्दा घरमा चुराका टुक्राहरु फेला परे । घरनजिकैको गोठमा कुटपिट भएको अवस्था देखियो । त्यहाँ रगतको दाग थियो भने बाँसको लाठी पनि बरामद भयो । प्रहरीसँगको बयानमा मृतकका सासुससुराले आफूहरुले केही नगरेको भन्दै छोराले कुटेको हुनसक्ने बताए । मृतकका पतिले आफ्नो दाइ विजय मण्डलसँग मिलेर मुख थुनेको र मरेपछि रुखमा झुण्डयाएको स्वीकारे ।

तर जिल्ला अदालत पुगेपछि उनले बयान फेरे । ‘म ससुराल हुँदै घर फर्कने क्रममा थिए । ससुरा आवेशमा आई मेरो खुट्टामा कुटे । म घर भागेँ’ बयानमा रमेश मण्डलले भनेका छन्, ‘भोलि हेर्न जाँदा त्यहाँ झुण्डयाएको शव भेटियो । मेरो पत्नी माइतीमा थिइन । बरु ससुराले छोरी कुटेको हो ।’ जिल्ला न्यायाधीश चण्डीराज ढकालले घटनास्थल र शव भेटिएको ठाँउ एक किलोमिटरभन्दा टाढा रहेको भन्दै मारेको भए त्यति टाढा लगेर शव व्यवस्थापन गर्न सम्भव नहुने भन्दै मृतकले आत्महत्या गरेको ठहर सहित आरोपित सबैलाई सफाइ दिए ।

जिल्लाको फैसलापछि मुद्दा पुनरावेदन अदालत विराटनगर पुग्यो । पुनरावेदन अदालतले घटनामा अरु सलग्न भएको नदेखिएको भन्दै मृतक सुनिताका पनि रमेश र रमेशका दाई विजय मण्डल संलग्न भएको ठहर गर्दै उनीहरुमाथि सर्वस्वसहित जन्मकैद हुने फैसला सुनायो । फैसलामा चित्त नबुझाएको दुवै पक्ष सर्वोच्च अदालत पुग्यो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले यो मुद्दा आफू सहित न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा राखे ।

मुद्दाको सुनुवाइ पनि फैसला सुनाउने क्रममा दुवै न्यायाधीशको राय बाझियो । प्रधानन्यायाधीश पराजुलीले आत्महत्या भन्ने ठहर गर्दै सबै आरोपितलाई सफाइ दिन खोजे । मृतकको शरीरमा बाहेक अन्यत्र चोटकपटक नदेखिएको, घटनास्थल र शव भेटिएको ठाँउ करिव एक किलोमिटरको दुरीमा रहेको भन्ने आधारमा उनले आत्महत्या भएको ठहर्‍याउन खोजे । घटनामा मुछिएकालेहरु कसुरमा इन्कार गरेको र उनका साक्षीहरुले पनि त्यस्तै बयान गरेको भन्ने आधारमा पराजुलीले सबै आरोपितलाई सफाइ हुनुपर्ने राय दिए । उक्त रायमा विमती जनाउँदै न्यायाधीश खतिवडाले शव परिक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का लगायतका आधारमा मृतकको पति र पतिका दाजु संलग्न देखिएको भन्दै उनीहरुलाई दोषी ठहर्ने पुनरावेदन अदालतको फैसला सदर गर्न खोजे । राय बाझिएपछि उक्त मुद्दा तीन सदस्यिय इजलासमा पेश भएको हो ।

मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतमा दीपककुमार कार्की, प्रकाश ढुंगाना र हरि फुयालको तीन सदस्यिय इजलास गठन भयो । उनीहरुले सर्वोच्च अदालतमा न्यायाधीश खतिवडाको राय सदर गर्दै तत्कालिन प्रधान्यायाधीश पराजुलीको राय उल्ट्याइदिए । उनीहरुले शव परीक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का लगायतका आधारमा आत्महत्या भन्न नमिल्‍ने ठहर गरे ।

मृतक सुनितादेवीको दुवै हातको नङमा माटो लागेको थियो । बाँया खुट्टाको गोलीगाँठोमा खोस्रिएको दाग थियो भने दुवै खुट्टामा गोबर थियो । घर नजिकैको गोठको खम्बामा रगतको सुकेको दाग भेटिएको थियो । गोबरमा मानिसहरु लछारपछार भएका संकेतहरु घटनास्थल मुचुल्कामा थियो । अनि सुनितादेवी चढ्न नसक्ने रुखमा उनको शव झुण्डिएको थियो । यी सबै वस्तुस्थिती र घटनाक्रमको विवेचना गर्दै सर्वोच्च अदालतले हत्या भएको ठहर गर्दै मृतकका पति रमेश र विजय मण्डललाई जन्मकैदको फैसला गरेको हो । एक वर्षअघिको फैसलाको पूर्णपाठ हालै तयार भएको हो ।

प्रकाशित : असार २२, २०७७ २०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×