कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चार वर्षमा चार पिलर मात्र

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकाको वडा नम्बर ५ र ६ को बीचमा पर्ने अंधेरी खोलामा पक्की पुल निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि पुरा हुनसकेको छैन । ठेकेदार र इटहरीस्थित सुनसरी–मोरङ पुल आयोजनाका प्राविधिकहरुको लापर्वाहीले पुल निर्माण कार्य अधुरो बनेको हो ।

चार वर्षमा चार पिलर मात्र

भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ०७४ कात्तिकदेखि अंधेरी खोला पुल निर्माण सुरु भएको हो । पुल निर्माण गर्ने ठेकेदार कम्पनी मृत संजीवनी एच के विल्डर्स जेभि रहेको छ ।

७ करोड ५० लाख रुपैयाँ लागतको १ सय २५ मिटर लम्बाइ ११ मिटर चौडाइको डिजाइन गरिएको उक्त पुलको नाममा हाल चारवटा पिलरमात्र खोलाका बीचमा ठडिएका छन् । पुल निर्माणको ठेकेदार इनरुवाका हसबुल मियाँ हुन् । पुल निर्माण कार्य हुँदा हुँदै गत वर्ष बीचैमा छाडेर निर्माण स्थलमा नआएको एक वर्ष भएको छ ।

धरान–५, ६, र १५, का उपभोक्ताको संयुक्त पुल निर्माण सहजीकरण समन्वय समितिका संयोजक पदम कार्कीले भने, ‘वर्षेनी दुःख दिने, मान्छे बगाउने अंधेरी खोलामा पक्कीपुल निर्माण हुने भो भनेर मख्ख परियो तर चार वर्ष वितिसक्दा पनि त्यो मृत संजीवनी भन्ने कम्पनीका ठेकेदार हसबुल मियाँले पुल बनाएर देखाएनन् ।’

उनका अनुसार ठेकेदार कम्पनी र सुनसरी मोरङ पुल आयोजनाबीचको पहिलो दुई वर्षे सम्झौता अवधि गत ०७६ साल असार २५ मै सकिएको थियो । त्यसबेला सम्ममा ठेकेदार मियाँले मुस्किलले चारवटा पिलरमात्र उठाएका थिए । त्यसपछि फेरि एक वर्ष म्याद थपिएको थियो । कार्कीले भने, ‘तर थपिएको म्याद अवधिभरी एकसिन्को काम गरेको देखिँन । अहिले चासो राख्दा कोरोना महामारी र लकडाउनको बहाना बनाएर पन्छिने गरेको छ । जबकी अरु तिर निर्माण कार्य भइरहेका छन् । कोरोना र लकडाउनले छेकेको छैन ।’

थपिएको एकवर्षे म्याद असार २५ गते सकिदैछ । स्थानीय देउमान लिम्बुले पुल निर्माण गर्ने भनेर ठेकेदारले पिलरको बीच बीचमा थुपारेर राखेको माटोले खोलाको धार नै परिवर्तन गरी बस्ती तिर भंगालो छिरेको बताए । उनले भने, ‘बीचैमा अलपत्र निर्माण कार्यले तल्लो देउरालीका बस्ती जोखिममा परेको छ । ठेकेदार सम्पर्कमा आउन चाहदैनन् ।’

करोडौं लागतको पुल निर्माणको ठेक्का पाएपनि मियाँसँग भने पुल निर्माणकालागि आफ्नै प्राविधिक, उपकरण केही पनि छैन । उनले खोलाको बीचमा उठाएको पिलर पनि पुल निर्माण गर्दा अपनाइने आधुनिक प्रविधि प्रयोग नगरी हचुवाको तालमा माटोको ढिस्को राखेर पिलर उठाउने गरेको कार्कीले बताए ।

यसैबीच पुलको पिलर उठाउँदा प्रयोग गरेका स्थानीय कामदारको पारिश्रमिक समेत मियाँले नदिएको खुलेको छ । स्थानीय प्रेमकुमार राईले भने, ‘मैले ट्याक्टर मार्फत गिटि बालुवा र ढुंगा आपूर्ति गरेबापत लिनुपर्ने ५५ हजार रुपैयाँ दिएका छैनन् । बारम्बार ताकेता गर्दा असार ४ गते एउटा ५ हजार रुपैयाँको र अर्को ५० हजार रुपैयाँको राष्ट्रिय बाणिज्य बैंकको चेक दियो । रकम निकाल्न जाँदा बाउन्स भयो ।’

ठेकेदार हसबुल मियाले दिएको चेक बाउन्स भएपछि देखाउदै स्थानीय बासिन्दा । तस्बिरः प्रदीप मेन्याङ्बो/कान्तिपुर

धरान–५ देउराली बस्ने डिल्लु कट्टुवाललाई मियाले दिएको ६० हजार रुपैयाको चेक पनि बाउन्स भएको थियो । कट्टवालले भने, ‘खातामा पैसा नै नभएको चेक दिएर मियाले हामीलाई झुक्यायो । हामीले राष्ट्रिय बाणिज्य बैंकबाट स्टेटमेन्ट माग्दा मियाको खातामा पैसा नै नभएको पाइयो । सम्पर्क गर्दा फोन उठाउदैन । अव कानूनी कारवाही प्रक्रियामा जाने तयारी गर्दै छौं ।’

कान्तिपुरको सम्पर्कमा आएका ठेकेदार मियाँले पुल आयोजनाले नै पुल निर्माण रोकेको बताए । उनले भने, ‘कोरोना महामारी र लकडाउनका कारण बजेट नै सकिएकाले पुल आयोजनाले निर्माण कार्य रोकेको हो । मैले रोकेको होइन ।’ उनले पुल अलपत्र हुनुमा आफू जिम्मेवार नभएको दाबी गरे । काममा लगाइएका कामदारलाई दिएको चेक बाउन्स भएको बारेमा पनि उनले अहिलेसम्म आफूले दिएको चेक बाउन्स नभएको बताए । उनले भने, ‘मैले दिएको चेक कसैको पनि बाउन्स भएको छैन ।’

प्रकाशित : असार २०, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?