३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रदेश १ मा विदेशबाट रोजगारी गुमाएर फर्किएकाको सीप उपयाेग गरिँदै

देवनारायण साह

मोरङ — प्रदेश १ सरकारले कोरोनाका कारण विदेशमा रोजगारी गुमाएका नेपालीलाई अनलाइन फर्म भर्न लगाएर तथ्यांक संकलन गरिरहेको छ । उनीहरूले विदेशमा सिकेको सीप तथा अनुभवका आधारमा यहीँ रोजगारी सिर्जना गर्न प्रदेश सरकारले ३ करोड बजेटसमेत विनियोजन गरेको छ ।

प्रदेश १ मा विदेशबाट रोजगारी गुमाएर फर्किएकाको सीप उपयाेग गरिँदै

रोजगारी गुमाएर फर्किएकालाई स्वरोजगार तथा उद्यमी बनाउन प्रदेश सरकारसँगै पालिकाहरूले पनि नीति, कार्यक्रम तथा बजेटमार्फत विभिन्न कार्यक्रम ल्याएका छन् ।

‘युवाको सीप, अनुभव र क्षमताका साथै रोजेका उद्यमका लागि प्रदेश सरकारले सघाउने नीति लिएको छ,’ मुख्यमन्त्री शेरधन राईले भने, ‘विदेशमा सिकेको सीपलाई प्रदेश निर्माणमा उपयोग गर्दै प्रदेशमा बेरोजगार युवालाई समेत रोजगारी प्रदान गर्न विदेशबाट फर्केका युवाहरूसँग अपेक्षा छ ।’

विराटनगर महानगरले युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने कार्यक्रम ल्याएको छ । उपमेयर इन्दिरा कार्कीले विदेशबाट र स्वदेशमै रोजगारी गुमाएका युवालाई महानगरमै स्थापित गराउन र पुनः रोजगारीका लागि बाहिर जान नदिन अगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा व्यवस्था गरिएको बताइन् । ‘युवा प्रतिभाको पहिचान, विकास र सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भनिन्, ‘युवालाई बजारको मागका आधारमा रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण केन्द्र स्थापना गर्न बजेटको व्यवस्था गरिएको छ ।’ विराटनगर महानगरले आर्थिक वर्ष २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।

यस्तै, बेलबारी नगरपालिकाले रोजगारी गुमाएकाहरूलाई लक्षित गरी सामूहिक उद्यमशीलता कार्यक्रमका लागि १ करोड विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले कोरोना भाइरसको महामारी र लकडाउनले रोजगारी गुमाएका नगर क्षेत्रका २ हजार ३ सय ६५ विपन्न घरधुरीलाई लक्षित गरी खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत १ करोड बजेट विनियोजन गरिएको बताए । ‘नगरवासीलाई स्वरोजगार बनाउन नगरको अगामी वर्षको बजेट केन्द्रित छ,’ उनले भने, ‘कृषि, पशुपालन, पर्यटन, होटल व्यवसायलगायत विभिन्न क्षेत्रमा उद्यम गर्न विपन्नलाई लक्षित गरी गरिबसँग नगरपालिका कार्यक्रमअन्तर्गत पनि २ करोड बजेट विनियोजन गरिएको छ ।’

यस्तै, लेटाङ नगरपालिकाले पनि युवासँग स्वरोजगार कार्यक्रम ल्याएको छ । नगरप्रमुख शंकर राईले रोजगारी गुमाएर आएका तर सीप भएका युवालाई तालिमका साथै अनुदान सहयोग गर्ने नीति लिइएको बताए । ‘आधुनिक तरिकाले व्यावसायिक खेती र पशुपालनलाई लक्षित गरेर बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘प्रदेश र संघीय सरकारसँगको साझेदारीमा रोजगारमूलक कार्यक्रम सञ्चालनका लागि समेत बजेट विनियोजन गरेका छौं ।’

यस्तै, मोरङको सबभन्दा ठूलो गाउँपालिका केराबारीले रोजगारमूलक कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले विदेश र स्वदेशमा रोजगारी गुमाएकाहरूलाई पहिचान गरी इच्छाएको रोजगारीका लागि तालिम तथा बीउ पुँजी दिने कार्यक्रम ल्याएको बताए ।

यस्तै, सीमावर्ती स्थानीय तह रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान र जहदा गाउँपालिकाले रोजगारी गुमाएकालाई व्यावसायिक खेती तथा पशुपालन र स्वरोजगारीका लागि सीपमूलक तालिमका लागि बजेट विनियोजन गरेको छ ।

सुनवर्षी नगरप्रमुख कालीप्रसाद दासले नगरको उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए । ‘रोजगारी गुमाएर फर्केका व्यक्तिलाई सीपमूलक तालिम दिएपछि बीउ पुँजी उपलब्ध गराएर स्वरोजगारी बनाउने नीति छ,’ उनले भने, ‘नगरमै स्थापित सीप विकास केन्द्रमा सिलाइ–कटाइ, वाइरिङ, ड्राइभिङ, मोटरसाइकल, मोबाइल मर्मतलगायत तालिम सञ्चालन गर्न बजेट विनियोजन गरेका छौं ।’

प्रकाशित : असार १९, २०७७ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?