कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लकडाउनयता प्रदेश १ मा दैनिक ४ आत्महत्या

प्रदीप मेन्याङ्बो

सुनसरी — लकडाउनयता प्रदेश १ मा दैनिक ४ जनाले आत्महत्या गरेको पाइएको छ । प्रहरीका अनुसार गत चैत ११ देखि हालसम्म प्रदेशभरि आत्महत्या गर्नेको संख्या ४ सय १३ जना पुगेको छ । आत्महत्या गर्नेमा २ सय १७ पुरुष, १ सय ४२ महिला, २० बालक र ३४ बालिका छन् ।

लकडाउनयता प्रदेश १ मा दैनिक ४ आत्महत्या

प्रदेश १ प्रहरी कार्यालयका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ७८, झापामा ७६ र सुनसरीमा ५७ जनाले ज्यान गुमाएका छन् । करिब डेढ लाख जनसंख्या भएको धरान उपमहानगरमा लकडाउनयता गत मंगलबारसम्म २२ जनाले आत्महत्या गरेका छन् । इलाममा ३७, उदयपुरमा २७, ओखलढुंगामा १५, खोटाङमा १७, धनकुटामा १५, पाँचथरमा १६, सोलुखुम्बुमा १६, भोजपुरमा १७, तेह्रथुम, संखुवासभामा र ताप्लेजुङमा १४/१४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्याको दर बढ्नु समाज र परिवारका लागि भयानक खतराको संकेत भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभागका प्राडा धनरत्न शाक्यले बताए । आत्महत्या गर्न प्रेरित गर्ने तत्त्व धेरै भए पनि सामान्यतया जैविक, सामाजिक र मनोवैज्ञानिक कारणले हुने उनी बताउँछन् । ‘कोरोना र लकडाउनले उत्पन्न मानसिक चिन्ता र तनावलाई थेग्ने भनेको मन हो । मनले थेग्ने पनि एउटा सीमा हुन्छ । जीवनको परिस्थिति प्रतिकूल भएपछि त्यसको प्रतिक्रियास्वरूप आत्महत्या गर्न प्रेरित हुन्छन्,’ उनी भन्छन् ।

आत्महत्या गरेपछि समाज, प्रहरी प्रशासनले देखिने विभिन्न घटनासँग जोडेर हेरेर गरिबी, असफलता, नैराश्यता, आवेश, अपमान, दीर्घ रोगलगायत कारणहरू बताउने गरे पनि आत्महत्या गर्नेको पृष्ठभूमिमा जैविक, सामाजिक र मनोवैज्ञानिक कारणलाई खोतल्नु जरुरी रहेको मनोचिकित्सक डा. शाक्यले बताए । सामाजिक रूपमा एक्लो, सहरी वातावरणमा परिवर्तन, आर्थिक समस्या, पेसागत समस्याले मानिसमा नैराश्यता आउने गरेकाले आत्महत्याको दर बढेको हुन सक्ने उनले बताए ।

प्रतिष्ठानका मानसिक रोग विभागका अर्का मनोचिकित्सक प्राडा निदेश सापकोटाले मानसिक तनाव नियन्त्रण र व्यवस्थापन गर्न नसक्दा शरीर र मस्तिष्कमा हुने हर्मोन (रसायन) परिवर्तनले मानसिक रोग थपिने, पुरानो मानसिक समस्या भए झन् कडा हुने भएकाले आत्महत्याको दर घटाउन मनोसामाजिक परामर्श जरुरी रहेको उनले बताए । समाजशास्त्री विज्ञान शर्माले सामाजिक र आर्थिक अवरोध सिर्जना भएका बेला मान्छेले आत्महत्या गर्ने दरमा वृद्धि हुने गरेको बताए ।

प्रकाशित : असार १७, २०७७ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?