सुनसरीमा प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरी जिल्ला अदालतका न्यायाधीशको सुरक्षामा खटिएका एक प्रहरी हवल्दारले आफैमाथि गोली हानी आत्महत्या गरेका छन् । प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैले बोकेको पेस्तोलले कन्चटमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । 


सुनसरीका एसपी कमल थापाका अनुसार सोमबार साँझ ७ बजेतिर आफैलाई गोली प्रहार गरी घाइते भएका खतिवडालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो ।

प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको साविक दुर्गापुरी बस्ने खतिवडा जिल्ला अदालन सुनसरीका ४ नम्बर बेञ्चका न्यायाधीश शंकर राईको सुरक्षामा खटिएका थिए ।

एसपी थापाका अनुसार आत्महत्याको कारण खुल्न सकेको छैन । मंगलबार बिहान नै उनको पोस्टमार्टम गरेर शव परिवारलाई जिम्मा दिइएको छ । आत्महत्याको कारण पत्ता लगाउन कल डिटेललगायत प्राविधिक रुपमा अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

प्रकाशित : असार १६, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्

झन्डै १३ अंक घट्यो नेप्से

कान्तिपुर संवाददाता

काठमाडौँ — झन्डै तीन महिनापछि खुलेको सेयर बजार पहिलो दिन (सोमबार) करिब १३ अंक घटेको छ । अघिल्लो दिनको तुलनामा करिब एक प्रतिशतले घटेपछि समग्र नेप्से परिसूचक १ हजार १ सय ८८.७० विन्दुमा ओर्लिएको हो ।


कारोबार सुरु भएको पहिलो र दोस्रो घण्टामा बजार निरन्तर रूपमा घटेको थियो । पहिलो घण्टा ४ प्रतिशतले बजार घटे पनि नेप्सेले सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार घट्दो क्रममै रहे पनि घट्ने दरमा कमी आएको थियो । यही कारण त्यसपछि कुनै पनि सर्किट ब्रेकर लागेन । सोमबार ६ हजार ८ सय कारोबारबाट १ सय ४७ कम्पनीका १४ लाख ४४ हजार १ सय ७३ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ४८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५५ र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक १.७३ प्रतिशतले घटे ।

लकडाउनसँगै चैत ११ देखि बन्द भएको पुँजी बजार सामान्य अवस्थामा ९६ दिन पछि सोमबार खुलेको हो । लकडाउनको बीचमा गत वैशाख ३० र ३१ गते दुई दिन बजार खुले पनि असामान्य अवस्था भन्दै दैनिक २ घण्टा मात्र चलाइएको थियो । सोहीअनुसार सर्किट ब्रोकरको व्यवस्था पनि परिमार्जन गरी २ प्रतिशतमा झारिएको थियो ।

प्रकाशित : असार १६, २०७७ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×