१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

दक्षिणपूर्वी माेरङमा भाग्यकै भरमा रोपाइँ

जितेन्द्र साह

मोरङ — कोही बिउ उखेल्दै थिए त कोही रोप्दै । कोहीचाहिँ रोपाइँका लागि खेत तयार पार्दै थिए । मुंग उखेलेर खेत जोत्ने तयारी पनि चल्दै थियो । कोहीचाहिँ जलमग्न खेततिर हेर्दै चिन्तित देखिन्थे ।

दक्षिणपूर्वी माेरङमा भाग्यकै भरमा रोपाइँ

आइतबार मोरङका दक्षिणीपूर्वी भेगका कृषकबहुल गाउँपालिका कटहरी, जहदा र धनपालथानतिर यस्तै दृश्य थियो ।

यसपालि कोरोनाका कारण भारतमा मजदुरी गएकाहरू पनि घर फर्किएकाले रोपाइँलाई मजदुरको अभाव छैन । स्थानीय सहरबजारका उद्योग–कारखानामा काम गर्नेहरू पनि फुर्सदिला छन् । तर, पनि किसानका दुःख घटेका छैनन् ।

जहदा–४ का किसान जागेश्वर मण्डललाई मल अभावले पिरोलेको छ । यद्यपि यसकै कारण उनी रोपाइँ नगरी बस्ने छैनन् । ‘मल कुरेर बस्यौं भने रोपाइँ गर्नै सकिन्न,’ उनले भने, ‘रोपाइँ सकेपछि मलको बन्दोबस्ती गरेर छरौंला, यो त हरेक वर्षको दुःख हो ।’ मोरङको यो भेगमा जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको हो । मण्डलको अनुमानमा यो क्षेत्रमा २५ प्रतिशतजति रोपाइँ सकिएको छ ।

किसानले दलहन बाली मुंग उखेलेर खेत तयार पार्नुपर्ने भएकाले साउनसम्मै रोपाइँ जारी रहने स्थानीय कृष्ण महतो बताउँछन् । रोपाइँ सकिसकेका उनलाई भने आवश्यकभन्दा बढी वर्षा भएकाले लगाएको बीउ मासिने हो कि भन्ने चिन्ता छ ।

‘खेत जलमग्न भएकाले बीउ मरेको छ कि बाँच्यो, पानीको स्तर घटेपछि थाहा हुन्छ,’ उनले भने ।

यसपालि चाँडैदेखि वर्षा हुँदा रोपाइँका लागि तयार पारेको बीउ गलेकाले फेरि तयार पार्नुपरेको किसानहरूले बताए । ‘मुंग उखेल्न नपाउँदै खेत पूरै डुब्यो, धानको बीउ गल्यो,’ कटहरी–४ का मोहम्मद खलिलले भने, ‘पुनः बीउ छरेका छौं ।’ खेतमा कम्मरसम्म पानी जमेकाले रोपाइँ गर्न नसकिने हो कि भन्ने चिन्ता पनि रहेको उनले सुनाए ।

खलिलका अनुसार डुबानको कारण अत्यधिक वर्षा मात्र होइन । निर्माणाधीन हुलाकी मार्गको विराटनगर–रंगेली खण्ड ठाउँठाउँमा खनिँदा बाटो ब्लक भएकाले पानी खेत, सडक र बस्तीतिर पसेको छ । ‘ठेकेदारको लापरबाहीले वर्षाअगाडि काम नसकिँदा अहिले यो समस्या आइलाग्यो,’ उनले भने ।

प्रकाशित : असार १५, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?