झापाको कचनकवलका १२९ संक्रमितमध्ये १२६ जना निको भएर घर फर्किए

पर्वत पाेर्तेल

काँकडभिट्टा — प्रदेश एकमा कोरोना संक्रमणको हटस्पट मानिएको झापाको दक्षिणी  गाउँपालिका कचनकवल क्रमश: पुरानै लयमा फर्किन थालेको छ ।  संक्रमितहरु कोरोनामुक्त हुँदै धमाधम घर फर्किन थालेका छन् ।

झापाको कचनकवलका १२९ संक्रमितमध्ये १२६ जना निको भएर घर फर्किए

झापाको दमक र बाह्रदशीपछि कचनकवलमा कोरोना देखिएको थियो । महिना दिनअघि भारतबाट आएका पुरुषमा कोरोना पुष्टि भएपछि संक्रमण तीव्र हुँदै गएको थियो । कचनकवलमा कुल १ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १२६ जना उपचारपछि घर फर्किसकेका छन् ।

गाउँपालिका अध्यक्ष अञ्जार आलमले भारतबाट आउनेलाई परिवारको सम्पर्क नगराइ सोझै क्वारेन्टाइनमा लगेर राखेका कारण संक्रमण समुदायमा फैलिन नपाएको बताए । आलमले भने,‘कम्तीमा संक्रमण समुदायमा फैलिन पाएन, जसले ठूलो संकट टऱ्यो भन्ने लागेको छ ।’ कचनकवलका संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेकाहरुमा मात्रै संक्रमण देखिएको थियो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवका अनुसार तीन जना संक्रमित अझै उपचाररत नै छन् । उनका अनुसार क्वारेन्टाइनमा बसेका ६१ महिला र ६ सय ४१ पुरुष गरी ७ सय २ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये १ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो ।

यादवका अनुसार कचनकवलमा कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुसहित १ हजार ८२ जनाको आरडीटी र पीसीआर गरिएको थियो । पालिकाले शनिबार मात्रै ४२ जनाको स्वाब परीक्षणका लागि पठाएको छ । ‘यिनीहरु सबैको रिपोर्ट नेगेटिभ आयो भने कचनकवल लगभग कोरोना संक्रमणमुक्त हुने छ,’ गाउँपालिका अध्यक्ष आलमले भने ।

लकडाउनका कारण भारतका विभिन्न राज्यमा कार्यरत नेपाली घर फर्किएका थिए । उनीहरुबाटै पालिकामा कोरोना संक्रमण बढेको थियो । तर, पछिल्लो समय भारतबाट आउनेहरुको संख्या समेत क्रमश: घट्दो रहेकाले समस्या कम हुँदै गएको अध्यक्ष आलमले जनाए ।

प्रकाशित : असार १४, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?