१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पुल एकातिर, बाटो अर्कैतिर

मेचीपारिको डोलोबस्ती पुग्न झोलुंगे पुल बनाउन थालिएको ५ वर्ष हुँदा पनि निर्माण सकिएको छैन । हालै त्यहाँ पुग्न ग्राभेल सडक बनाइएको छ तर पुल र सडक करिब ७ सय मिटर तलमाथि छन् ।
पर्वत पोर्तेल

झापा — वर्षायाम सुरु भएपछि भद्रपुर–३ मा पर्ने मेचीपारिका नेपालीलाई मेची नदी कसरी वारपार गर्ने भन्ने चिन्ताले सताउँछ । मेचीपारिको डोलोबस्तीका स्थानीय श्रीप्रसाद महतोले वर्षायामका करिब तीन महिना सकसपूर्ण तरिकाले बित्ने गरेको बताउँछन् । मेचीपारि जोड्ने झोलुंगे पुल त छ तर अपुरो । ‘यो पुल बन्न थालेको झन्डै ५ वर्ष भयो, सकिएको छैन,’ ७० वर्ष पुगेका महतो भन्छन् ।

पुल एकातिर, बाटो अर्कैतिर

मेचीपारि जाने पुल बनिनसक्दै भद्रपुर नगरपालिकाले ग्राभेल सडक बनायो, ५ लाख रुपैयाँ खर्चेर । अहिले न पुलबाट मेची तर्न मिल्छ, न त नयाँ बाटोबाटै । ग्राभेल सडक सोझै मेची नदीसम्म पुग्छ । मेची तरेपछि भद्रपुरले बनाएको रिङरोड आउँछ । यो सडकदेखि करिब ७ सय मिटर दक्षिणमा झोलुंगे पुल छ, त्यो पनि अधकल्चो । स्थानीय उमेश महतोका अनुसार डोलोबस्तीदेखि मेची नदीसम्म जोड्ने करिब ५ सय मिटर ग्राभेल सडक हिउँदमा मात्रै प्रयोग हुन सक्छ । उनी भन्छन्, ‘यो हिउँदे बाटो हो, बर्खामा खोलामा बाढी आएपछि यो बाटो प्रयोग गर्नै सकिन्न ।’

नगरपालिकाले जिल्लाको चक्रपथसँग जोड्ने उद्देश्यका साथ मेचीपारि ग्राभेल सडक बनाएको हो । वडा सदस्य अरुण राजवंशीका अनुसार पुरानो सडकमै ५ लाख रुपैयाँ खर्चेर ग्राभेल गरिएको हो । ‘यो बाटो रिङरोडमा जोडिन्छ तर बर्खामा खोलाले वारपारमा समस्या हुन्छ ।’

भद्रपुर नगरपालिकाले ५ लाख खर्चेर हालै बनाएको ग्राभेल सडक । पुल र सडकको दूरी करिब ७ सय मिटर तलमाथि छ ।

वर्षायाममा मेची नदीमा पानी बहाव बढेसँगै मेचीपारिका बासिन्दा बन्धकझैं बन्छन् । त्यहाँका स्थानीय किनमेल र औषधि उपचारका लागि भद्रपुरसम्म पुग्न पनि ज्यानकै बाजी लगाएर मेचीको भेलमा हेलिनुपर्छ । ‘भद्रपुर जान नसक्दा भारतीय बजार पुगेर किनमेल गरिन्थ्यो,’ महतोले भने, ‘लकडाउनले अहिले भारत जान सक्ने अवस्था पनि छैन ।’

लामो समयदेखि पुल नबन्दा स्थानीयले समस्या भोग्दै आएका छन् । ‘१८ महिनाभित्र काम सक्ने कम्पनीको सर्त थियो,’ स्थानीय सूर्य गुप्ता भन्छन्, ‘पुल बन्ने कुरा कथा जस्तै भइसक्यो ।’ पुल तर्न बाँसको सिँढी उक्लिनुपर्छ । ओर्लिने बेलामा पनि यस्तै सिँढीको सहारा लिनुपर्छ । २८० मिटर लामो उक्त पुल निर्माणको जिम्मा नीलगिरी सेवा प्रालिले पाएको थियो । २०७३ सालमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २ करोड ८५ लाखमा निर्माण सक्नेगरी ठेक्का दिए पनि काम हालसम्म पनि सकिएको छैन । स्थानीय एक जनप्रतिनिधिले निर्माण कम्पनीलाई यसै वर्षभित्र काम सक्न भनिएको बताए ।

२०२० सालताका मेची नदी डोलोबस्तीको पूर्वतिरबाट बग्थ्यो । त्यो वर्ष आएको ठूलो बाढीपछि नदीले धार परिवर्तन गरी पश्चिमतिरबाट बग्न थालेको हो । त्यसपछि नै यो गाउँलाई ‘मेचीपारिको नेपाल’ भन्न थालिएको हो ।

प्रकाशित : असार १५, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?