कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिकाद्वारा जेष्ठ पत्रकारलाई मासिक भत्ता र उपचार खर्च

डिल्लीराम खतिवडा

उदयपुर — छिमेकी जिल्ला खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पत्रकारलाई मासिक भत्ता र उपचार खर्चको सुविधा दिने भएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा जिल्लामा निरन्तर पत्रकारिता गरिरहेका ५५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ र नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेका पत्रकारका लागि मासिक २ हजार प्रोत्साहन भत्ता उपलब्ध गराइने उल्लेख गरेको छ ।

गाउँपालिकाद्वारा जेष्ठ पत्रकारलाई मासिक भत्ता र उपचार खर्च

महासंघको सदस्यता लिएर पत्रकारितासँगै अन्य पेसामा आबद्ध रहेका पत्रकारका लागि यस्तो सुविधा नदिइने उपप्रमुख सपना राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरेकी छन् ।

खोटाङ जिल्लामा क्रियाशील पत्रकारलाई गम्भीर प्रकृतिका रोग (मुटु रोग, क्यान्सर, मष्तिष्क घात) भएका पत्रकार लागिसमेत गाउँपालिकाले उपचारमा लागेको खर्चको २० प्रतिशत सहयोग गर्ने उपप्रमुख राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । ७ औं गाउँसभामा पेस गरिएको नीति कार्यक्रम तथा बजेटमा गाउँपालिकालाई सूचना तथा सञ्चारको हकका दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्य राखिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

‘पत्रकारलाई भत्ता र सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापनको व्यावस्था गरिएको छ’, उनले भने, ‘सूचना र सञ्चारका कार्यक्रमहरु नीति तथा कार्यक्रमबाटै पास गरिएको हो ।’ गाउँपालिकामामात्रै होइन, खोटाङभरि सञ्चालनमा रहेका सञ्चार माध्यमहरुको वृत्ति विकासका लागि नेपाल सरकारले निर्धारण गरेका मापदण्ड पूरा गर्ने सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने उनले बताए ।

यस्तै सामुदायिक संवाददाता (स्थानीय) उत्पादन गर्न पत्रकारिता प्रशिक्षण सञ्चालन गरिने, एफएम रेडियो सञ्चालनका लागि अनुमति दिइनेलगायत कार्यक्रम ल्याइएको प्रमुख राईले बताए ।

गाउँपालिकाको सुशासन अभिवृद्धिका लागि सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनमा जोड दिने र गाउँपालिकाका हरेक सूचना जनताका घर–घरमा पुर्‍याउने लक्ष्य राखिएको उनले बताए ।

'राज्यले पत्रकारलाई राष्ट्रको चौथो अंग भनेको छ’, प्रमुख राईले भने, ‘तर पत्रकार र उनीहरु आबद्ध सञ्चारमाध्यमलाई भनेजस्तो सेवा सुविधा दिन सकेको छैन ।’

सरकारले पत्रकार र सञ्चारमाध्यमका लागि उचित कार्यक्रम ल्याउन नसकिरहेको अवस्थामा दिप्रुङ चुइचुम्मा गाउँपालिको पत्रकार र मिडियाका लागि नयाँ तथा प्रभावकारी कार्यक्रम ल्याएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

प्रकाशित : असार १२, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?