३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भाेजपुरमा जीर्ण भवनबाटै स्वास्थ्य सेवा

ठेकेदारको लापरबाहीले समयमै अस्पताल नबन्दा ५ वर्षदेखि जीर्ण भवनबाटै सेवा दिन बाध्य
भवन बनाउन ०७३ सालमा स्वास्थ्य मन्त्रालयले करिब ३ करोडको टेन्डर खुलाएको थियो
एलिसा श्रेष्ठ

भोजपुर — ठेकदारको लापरबाहीले समयमै पक्की भवन नबन्दा ५ वर्षदेखि षडानन्द नगरपालिका–१ नेपालेडाँडास्थित जीर्ण भवनबाटै स्वास्थ्य सेवा दिइरहेका छन् । ०७२ सालको भूकम्पले जीर्ण बनाएको स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी जोखिम मोलेर सेवा प्रवाह गर्न बाध्य छन् । 

भाेजपुरमा जीर्ण भवनबाटै स्वास्थ्य सेवा

जीर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसँगै सावधानी अपनाउनुपर्ने बाध्यता छ । दैनिक २५ जनाको हाराहारीमा सेवाग्राही आउँदा जोखिमपूर्ण भवनकै कारण सेवा दिन समस्या हुने गरेको स्वास्थ्यकर्मीहरु सुनाउँछन् ।

भवनको अवस्था एकदमै जिर्ण बनिसकेको छ । कतिबेला भत्किने हो थाहा छैन । पानी चुहिन्छ । तर त्यही भवनबाटै स्वास्थ्यजस्तो संवेदनशील काम भइरहेको छ। स्थानीइहरु सामान्य औषधि लिन पनि घण्टाैं पालो कुर्छन् । जीर्ण भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसँगै सावधानी अपनाउनुपर्ने बाध्यता छ ।

चेकजाँच त परै जाओस् सामान्य औषधि लिन जाँदा पनि भवन भत्किने डर भएको स्थानीय सौगात गौतमले बताए । उनले भने, ‘बिजोग छ नेपालेडाँडाका जनताहरुको विकास भन्ने चिज भाषणमा मात्रै सिमित भयो ।’

पक्की भवन नहुँदा प्रसूति गराउनेलाई पनि अन्य स्वास्थ्य चौकी अथवा जिल्ला बाहिर खाँदबारीलगायत धरान, इटहरी लैजानुपर्दा सुत्केरी महिलाको ज्यानलाई झन् जोखिम हुने गरेको स्थानीय कविता भण्डारीले बताइन् । ‘स्वास्थ्य चौकीको भवन नहुँदा कि कुदाककाउले वडाको स्वास्थ्य चौकी वा खाँदबारीलगायतका अन्यत्र स्थान लानुपर्ने हुँदा सडक पनि राम्रो छैन । सुत्केरीको बाटैमा मृत्युसम्म हुने डर हुन्छ,’ उनले सुनाइन् ।

व्यवस्थित भवन नहुँदा स्वास्थ्य सेवाका लागि आउने ग्रामीण सर्वसाधरण र स्वास्थ्यकर्मीले चरम सास्ती खेप्नुपरेको स्वास्थ्य चौकीका अहेब मेघराज देवकोटाले जानकारी दिए । ‘सामान्य औषधि वितरण गर्न पनि समस्या छ, कतिबेला ठूलो हावाहुरीले पनि भवन भत्किने हो पत्तो छैन,’ उनले भने, ‘एउटा पक्की भवन नहुँदा जोखिम मोलेर स्वास्थ्य प्रवाह गर्नुपर्ने बाध्यता छ ।’

बन्दै गरेको नेपालेडाँडाको स्वास्थ्य चौकी भवन । तस्बिर : एलिसा श्रेष्ठ

ठेकेदारको लापरबाहीले समयमै अस्पताल भवन नबन्दा जीर्ण भवनबाटै सेवा प्रवाह गर्न बाध्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । उक्त अस्पताल भवन बनाउन ०७३ सालमा स्वास्थ्य मन्त्रालयले करिब ३ करोडको टेन्डर खुलाएको थियो । भवन निर्माणको ठेक्का पाएको नागराज कन्स्ट्रक्सन भोजपुरले सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाबाट १८ महिनामा काम सम्पन्न गर्नेगरी स्वीकृति पाएपछि काम सुरु गर्‍यो । तर कन्स्ट्रक्सनका सञ्चालक देवी कार्की व्यक्तिगत समस्या देखाउँदै नआएपछि काम ठप्प भयो ।

स्थानीयले बारम्बार ताकेता गरेपछि कन्स्ट्रक्सनले काम थालेपनि सोचे अनुरुप कामले गति पाएको छैन । विभिन्न बहानामा ठेकेदार नै सम्पर्कमा नआउँदा निर्माण काममा ढिलाइ भएको स्वास्थ्य चौकी नेपालेडाँडाका इन्चार्ज राजनारायण मण्डलले बताए । १८ महिनामा सक्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीको लापरबाहीका कारण समयमै काम सम्पन्न हुन नसकेको उनले बताए ।

प्रकाशित : असार ११, २०७७ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?