१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बिक्री नहुँदा गोदाममै थन्कियो दूध

विराटनगरस्थित दुग्ध वितरण आयोजनाले दुई महिनायता किसानको ६ करोड रुपैयाँ भुक्तानी दिन सकेको छैन
विनोद भण्डारी

विराटनगर — लकडाउनका कारण बिक्री ठप्प भएपछि दुग्ध विकास संस्थानको विराटनगरस्थित कार्यालयमा अर्बबराबरको पाउडर दूध र मख्खन थुप्रिएको छ । कार्यालयले दुई महिनादेखि किसानलाई दूधको भुक्तानीसमेत दिन सकेको छैन । भुक्तानी दिनुपर्ने रकम करिब ६ करोड पुगिसकेको छ ।

बिक्री नहुँदा गोदाममै थन्कियो दूध

‘दूध र त्यसबाट बनेका सामान नै बिक्री नभएपछि संस्थानले दुई महिनादेखि किसानलाई भुक्तानी दिन सकेको छैन,’ दुग्ध वितरण आयोजना विराटनगरका प्रमुख गणेश यादवले भने ।

विराटनगरमा हेटौंडादेखि बुटवलसम्मको दूध आउने गरेको छ । दूधको संकलन बढे पनि बिक्री घटेपछि पाउडर र मख्खन बनाएर गोदाममा थन्क्याउनुपरेको यादवले बताए । संस्थानको गोदाममा अहिले ९ सय मेट्रिकटन पाउडर दूध र ७ मेट्रिकटन मख्खन छ ।

लकडाउनका कारण बिहे, व्रतबन्ध र अन्य धार्मिक कार्यक्रम नहुँदा पनि दूधको बिक्री घटेको हो । यादवका अनुसार लकडाउनका बेला किसान दुग्ध विकास संस्थानमै बढी निर्भर रहेकाले विराटनगर आयोजनाले मात्रै दैनिक ७० हजार लिटरसम्म दूध किन्नुपर्‍यो ।

आयोजनासँग १ सय ३० सहकारीमार्फत १९ हजार किसान आबद्ध छन् । प्रदेश १ मा दूधको उत्पादन बढेसँगै निजी डेरी पनि प्रशस्त खुलेका थिए । पाँचथर, इलाम, तेह्रथुम र धनकुटासम्मका किसानको दूध आयोजनाले नै खरिद गर्दै आएको थियो । निजी डेरीहरू खर्चका कारण टाढा दूध संकलन गर्न जाँदैनन् । तर, अहिले केही खुलेको विराटनगरको बजार तिनै निजी डेरी र आसपासका किसानबाट दूध ल्याई खुला रूपमा बेच्नेहरूले ओगटेका छन् ।

विराटनगर दुग्ध वितरण आयोजनाका गुण नियन्त्रक हरिदेव यादव खुला दूध बेच्नेहरूले बजार बिगारेको बताउँछन् । ‘खाद्य निर्देशिकाअनुसार अनुगमन नहुँदा बजारमा खुला दूध बिक्री भइरहेको छ,’ उनले भने, ‘त्यसबाट उपभोक्ता ठगिएका मात्र छैनन्, उनीहरूको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ ।’ पाँच वर्षअघिसम्म विराटनगरमा आयोजनाले दैनिक २० हजार लिटर दूध बिक्री गर्ने गरेकोमा अहिले ४ हजार लिटरमा झरेको छ ।

प्रकाशित : असार १०, २०७७ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?