कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पीसीआर परीक्षणको दायरा बढाएको भ्रम फैलाउँदै प्रदेश १ सरकार

देवनाराण साह

मोरङ — प्रदेश १ सरकारले पीसीआर परीक्षणको दायरा बढाएको भन्दै भ्रम सिर्जना गर्न थालेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पीसीआर परीक्षणको दायरा बढाएर दैनिक १ हजारदेखि १ हजार २ सय जनाको स्वाब परीक्षण भइरहेको प्रदेशसभामा मंगलबार जानकारी गराएका छन् ।

पीसीआर परीक्षणको दायरा बढाएको भ्रम फैलाउँदै प्रदेश १ सरकार

उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ सयदेखि ६ सय, कोसी अस्पतालमा २ सय ५० देखि ३ सय र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २ सय ५० देखि ३ सय जनाको स्वाब परीक्षण भइरहेको बताए । तर वास्तविकता फरक छ ।

दैनिक पीसीआर परीक्षण क्षमता प्रतिष्ठानको ल्याबमा २ सय, कोसीमा ७० र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १ सय ३५ गरी प्रदेशभरिमा कूल ३ सय ५ छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पीसीआर परीक्षणलगायत कोभिड–१९ सम्बन्धी आधिकारिक जानकारी प्रत्येक दिन साँझ दिनभरिको गतिविधि सार्वजनिक गर्दै आएको छ । उक्त कार्यालयको तथ्यांकअनुसार आइतबार ४ सय ४३, शनिबार ३ सय ५६ र शुक्रबार ६ सय ६८ जनाको स्वाब परीक्षण गरिएको थियो ।

मन्त्री कार्कीले सोमबारसम्ममा प्रदेशभरि १९ हजार ५ सय ६८ जनाको स्वाब परीक्षण गरिएको प्रदेशसभामा जानकारी गराए । आइतबारसम्ममा १८ हजार ६ सय ४ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पनि सोमबारको तथ्यांक सार्वजनिक गरेन । यसबाट पनि प्रदेश सरकारले पीसीआर परीक्षणको दायरा बढाएको भ्रम फैलाउन खोजेको पुष्टि भएको चिकित्सकहरुको भनाइ छ । २/३ जनाको स्वाबको एउटा नमुना बनाएर पुल सिष्टममा स्वाब परीक्षण गरेर पीसीआर परीक्षणको दायरा बढाएको प्रदेश सरकारको भनाइ छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको स्वाब पुल सिष्टममा परीक्षण गर्न नमिल्ने बताए । भारतलगायत विभिन्न मुलुकबाट आउनेहरुको संख्या अधिक रहेको र उनीहरुकै परीक्षणमा अहिले केन्द्रित रहेको बताए । ‘कहींकतै बाहिर नगएका तर परीक्षण गराउनु पर्ने अवस्था भएका कर्मचारी, विशिष्ट व्यक्ति लगायतकालाई पुल सिष्टममा स्वाब परीक्षण गर्दै आएका छौं,’ उनले भने, ‘पुल सिष्टममा २ देखि ३ जनाको स्वाब एक ठाउँ मिसाएर एउटा नमुना बनाई परीक्षण गर्छौं तर त्यसमा संक्रमण देखेपछि तीन वटै नमुनालाई छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने बाध्यता हुन्छ ।’

प्रकाशित : असार ९, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?