कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले गर्‍यो प्रदेश १ काे प्रदेश सभा बैठक अवरुद्ध

देवनारायण साह

मोरङ — कांग्रेसले सोमबार प्रदेश १ काे प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । संघीय सरकारले काठमाडौं बाहिरका बासिन्दालाई काठमाडौं प्रवेशका लागि अनुमतिको व्यवस्था गरेर नाकाबन्दी गरेको र कोरोना भाइरस नियन्त्रणका लागि भएको खर्च प्रदेश सभामा सार्वजनिक नगरेको विरोधमा बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसले गर्‍यो प्रदेश १ काे प्रदेश सभा बैठक अवरुद्ध

सभामुख प्रदिपकुमार भण्डारीले बैठक सुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाए । सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दासमेत नबसेपछि एक जनालाई ५ मिनेटभित्र आफ्ना कुरा राख्न समय दिइएको थियो ।

उक्त समयमा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले काठमाडौंबाहिर बसेकालाई अनुमति लिएर मात्र प्रवेश गर्न पाउने लगायतका कुराले सर्वसधारणलाई विभेद भइरहँदा पनि प्रदेश सरकार मौन बसेकाले सभा अवरुद्ध गर्न बाध्य भएको बताए ।

‘कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले गरेको खर्च पटकपटक प्रदेश सभा सार्वजनिक गर्न माग गर्दासमेत मुख्यमन्त्री शेरधन राईले किन गर्न चाहेनन् ?’, उनले भने, ‘सार्वजनिक यातायात चलाउने यातायात व्यवसायी र मजदुरको पीडा प्रदेश सरकारले बोल्ने कि नबोल्ने ?’

चालु बजेट अधिवेशनमा प्रदेशको नामकरण गर्ने विषयमा प्रदेश सभाका ठूला दलका नेताले सार्वजनिक धारणा राख्नुपर्ने उनले माग गरे ।

यी लगायतका जनताका समस्याको विषयमा प्रदेश सरकारले नबोलेसम्म प्रदेश सभामा अवरोध गरिरहने कार्कीले बताए ।

सभामुख भण्डारीले पुन: बैठक सञ्चालन गर्न खोज्दा पनि कांग्रेसले उठेर विरोध जनाइरहेपछि १० मिनेटका लागि बैठक स्थगित गरेको थियाे । सभामुख भण्डारीले सदनमा उठेका प्रश्नको बारेमा सरकारलाई ध्यानाकर्षण भइसकेको र मंगलबार जवाफ आउने जानकारी गराए पनि प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएका कारण मंगलबार १ बजेसम्मका लागि सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् ।

प्रकाशित : असार ८, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?