२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

फेरि रोकियो अलैँची निर्यात

आनन्द गौतम

ताप्लेजुङ — अढाई महिनापछि खुलेको अलैँची निर्यात फेरि रोकिएको छ । व्यवसायीले ट्रकमा लोड गरेर भारततर्फ पठाएको १ सय ३५ ट्रन अलैँची झापाको काँकरभिट्टा नाकामा रोकिएको हो ।

फेरि रोकियो अलैँची निर्यात

नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय सदस्य सुजित बंसलका अनुसार लकडाउनपछि जेठ २१ गते ९ ट्रक (१ सय ८० बोरा) अलैँची भारत निर्यात भएको थियो । त्यसपछि व्यवसायीले निर्यात निरन्तर हुने ठानेकामा फेरि रोकिएको हो ।

‘भारतको केन्द्र सरकारले रोकेको छैन तर पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाएर रोकेको छ,’ अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भने, ‘अब नेपालस्थित भारतीय दूतावासमा समय मागेर छलफल गर्ने प्रयास गरिरहेका छौं ।’ भारतबाट खाद्यान्न, निर्माण सामग्री, तरकारीलगायत वस्तु लिएर आएका ढुवानी साधनमा अलैचीं लैजानुपर्ने माग व्यवसायीको छ । ‘अहिले लोड गरेका ट्रकले हतार गर्न थाले उताबाट (पश्चिम बंगाल) अनुमति दिँदैन,’ कार्कीले भने ।

व्यवसायीका अनुसार नेपालको अलैँचीको सबैभन्दा ठूलो बजार भारतका दिल्ली र कानपुर हुन् । पठाउनुअघि कलकत्तामा ल्याब परीक्षण हुन्छ । अहिले झापाका व्यवसायीको गोदाममा राखिएको अलैँची पठाउन लागिएको हो ।

व्यवसायीले अहिले किसानसँग भने अलैँची किनेका छैनन् । गोदामको बिक्री भएपछि किसानको खरिद गर्ने तयारीमा रहेको बंसल बताउँछन् । लकडाउनअघि नेपालबाट अन्तिम पटक चैत ९ गते अलैँची निर्यात भएकोमा प्रतिमन (४० किलो) २६ हजारका दरले कारोबार भएको थियो । किसानले गत साउनदेखि मंसिरसम्म उत्पादन गरेको ४० प्रतिशत अलैंची व्यवसायीसँग छ । १० प्रतिशत उत्पादन गर्ने किसान आफैंले राखेका छन् । ५० प्रतिशत बिक्री भइसकेको छ ।

साउनदेखि नयाँ उत्पादन सुरु हुने भएकाले यो किसान र व्यवसायीले आफ्नो गोदाम रित्याउने समय हो । महासंघले गोदाममा अलैँची थन्क्याएर बैंकमा चर्को ब्याज तिर्नुपर्दा व्यवसायी डुबेको भन्दै सरकारसँग सहयोगको माग गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?