२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश १ का ३०४ संक्रमितमध्ये १५५ जना निको भए

माधव घिमिरे

विराटनगर — विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तीन जिल्लाका ८ जना थपिएसँगै प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ ।

प्रदेश १ का ३०४ संक्रमितमध्ये १५५ जना निको भए

पछिल्लो पटक बिहीबार झापाका ३, सुनसरीका ३ र उदयपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।प्रदेश १ मा सबैभन्दा बढी संक्रमित झापामा पुष्टि भएका छन् । झापाको कचनाकवलका मात्रै संक्रमितको संख्या १ सय १५ छ । अरु १२ स्थानीय तहमा समेत गरी झापामा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश राजधानी विराटनगरसहित मोरङमा संक्रमितको संख्या ३९ पुगेको छ । यसैगरी, उदयपुरमा ३९, सुनसरीमा ४६, धनकुटामा ८, भोजपुरमा ६ र खोटाङमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको क्वारेन्टाइनमा बसिरहेका ताप्लेजुङका ४ जना, संखुवासभामा २, तेह्रथुममा २, सोलुखुम्बु र इलाममा १–१, जनामा पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्थित कोरोना सूचना केन्द्रले जनाएको छ ।

कुल संक्रमितमध्ये निको हुनेको संख्या १ सय ५५ छ । विभिन्न स्थानका आइसोलेसनमा राखिएका उनीहरुको पछिल्लो स्वाब नमुना परीक्षण गर्दा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको छ ।

संक्रमितहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र र गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रदेश सरकारका अनुसार बिहीबारसम्म १३ हजार ९ जनाको पीसीआर बिधिबाट स्वाब नमुना परीक्षण गरिएको छ । यसैगरी आरडीटी विधिले १४ हजार ६ सय ५४ जनाको परीक्षण गरिएको जनाइएको छ । प्रदेश १ मा पुष्टि भएका संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरु छन् ।

जोगबनीबाट १८४४ आए, २६९२ बाहिरिए

कोरोना संक्रमण फैलन नदिन जारी गरिएको लकडाउनका कारण रोकिएका २ हजार ६ सय ९२ जना भारतीय नागरिक जोगबनी नाका हुँदै भारततर्फ गएका छन् ।

दुई सातायता त्यति संख्यामा भारतीय नागरिक भारततर्फ गएको मोरङ प्रहरीले जनाएको छ । यसैगरी उक्त अवधिमा जोगबनी नाका भएर १ हजार ८ सय ४४ जना नेपाली प्रवेश गरेका छन् ।

दुवै देशका सुरक्षा निकायको समन्वयमा एकअर्का देशका नागरिकलाई पठाउने र भित्र्याउने गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रवेश गरेकाहरुलाई सुरुमा होलिङ सेन्टर अनि सम्बन्धित स्थानीय तहमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाउने गरिएको छ ।

मोरङका विभिन्न स्थानीय तहमा गरी ७३ वटा क्वारेन्टाइन स्थापना गरिएका छन् । तिनमा बसिरहेकाहरुको संख्या बिहीबार साँझसम्म १ हजार २ सय १ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?